महामारीमा पनि रोकिएनन् पाइला


२२ पुष २०७७, बुधबार
punnirman Cl5B9cNNiH

काठमाडौं, २२ पुस । जारी कोरोना महामारीबाट जनताको जीवनस्तर र विकास निर्माणका काम प्रभावित भए । खासगरी चिनियाँ कम्पनीसँग जोडिएका आयोजनामध्ये भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललगायत दर्जनभन्दा बढी आयोजनाको प्रगतिमा कोरोनाको प्रभाव प्रस्ट देखियो । त्यसो त सरकारले कोरोना महामारीमा पनि विकास निर्माणका काम नरोक्ने नीति लिएको छ ।

सोहीअनुसार सडक, पुल, झोलुंगे पुल, खानेपानीका ट्यांकी, सम्पदा पुनर्निर्माण, भूकम्पपछिको पुनर्निर्माण र एकीकृत बस्ती विकासका योजनामा प्रगति भएको सरकारको भनाइ छ । पर्यटनसँग सम्बन्धित राष्ट्रिय गौरवका आयोजनाले उल्लेख्य प्रगति गर्न नसके पनि निजी क्षेत्रको लगानीमा निर्माणाधीन ठूला होटलको भौतिक पूर्वाधार निमार्णको कामले भने निरन्तरता पायो । राजनीतिक उतारचढावका कारण पर्यटनलक्षित ठूला सरकारी आयोजनाको काम अझै पछि धकेलिने सम्भावनाबीच तारे होटल निर्माणको काम भने धमाधम अघि बढिरहेको छ ।

महामारीकै कारण मुलुकको पर्यटन क्षेत्रले सबैभन्दा बढी समस्या भोगे पनि पूर्वाधार निर्माणको कामले गति जारी राख्दा पर्यटन क्षेत्रमा आशा पलाएको देखिएको छ । राष्ट्रिय अभियानका रूपमा घोषणा गरिएको नेपाल भ्रमण वर्ष २०२० कोरोनाकै कारण बीचैमा रद्द भए पनि भ्रमण वर्षलाई लक्ष्य गरी निर्माणाधीन दर्जनभन्दा बढी पाँचतारे होटलको काम लकडाउनमा पनि नरोकिएको लगानीकर्ताहरूले जनाएका छन् ।

खासगरी असारको पहिलो हप्तादेखि लकडाउन केही खुकुलो भएसँगै होटल निर्माणको कामले गति लिन थालेको हो । लकडाउनअघि निर्माण थालिएका केही होटलको काममा असारसम्म निर्माण सामग्री र प्राविधिक सहितका कामदारको अभाव देखिए पनि लकडाउन खुकुलो र व्यावसायिक हवाई उडान सञ्चालनमा आएसँगै सन्तोषजनक अवस्थामै फर्किएको सम्बद्ध व्यवसायीको भनाइ छ ।

संसारभरका हरेक १० रोजगारीमध्ये एकजनालाई पर्यटन क्षेत्रले रोजगारी दिने गरेको सयुक्त राष्ट्रसंघीय आँकडा छ । हालको महामारीले नेपालको पर्यटन क्षेत्र १० वर्षपछि धकेलिएको बताइन्छ । नेपालको सन्दर्भमा सबैभन्दा बढी कोरोनाले क्षति पुर्‍याएको क्षेत्रमध्ये पर्यटन उद्योग एक हो ।

२० लाख पर्यटक भित्र्याउन सरकारलाई साथ दिन होस्टेमा हैंसे गर्दै आएका होटल व्यवसायीले सञ्चालनमा रहेका होटलको अकुपेन्सी घटेर शून्यमा झरेपछि व्यवसायबाटै पलायन भएका उदाहरणबीच अर्बौं रूपैयाँ लगानीमा निर्माणाधीन होटलको निर्माण कार्यले भने यो क्षेत्र पुनः एक दिन जाग्ने आशा देखाइरहेको छ । पर्यटन विभागले दिएको जानकारीअनुसार अर्बभन्दा माथि लगानीमा हाल दर्जनभन्दा बढी पाँचतारे होटल निर्माणको चरणमा छन् । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७