संसद विघटनको विरोधमा काठमाडौंमा अनेरास्ववियुको लालटिन जुलुस


२२ पुष २०७७, बुधबार
laltin

काठमाडौं, २२ पुस । संसद विघटनको विरोधमा नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुुले आज (बुधबार) काठमाडौंमा लालटिन जुलुस निकालेको छ ।

प्रचण्ड–नेपाल समूहको अनेरास्ववियुले काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ वानेश्वरसम्म लालटिन बालेर संसद विघटनको विरोधमा प्रदर्शन गरेको हो ।

जुलुसमा पूर्वमन्त्री योगेश भट्टराई, अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङलगायत सहभागी छन् । ‘दिउँसै लालटिन बाल्दा पनि संविधानमा संसद विघटनको धारा भेटिएन’ लेखिएको कालो ब्यानरसहित प्रचण्ड–माधव नेपाल पक्ष्मा रहेका अनेरास्ववियू नेता–कार्यकर्ताहरुले लालटिन जुलुस निकालेका हुन् । उनीहरुले ‘दिउँसै लालटिन बाल्यौं है, संसद विघटनको धारा ख्वै’, ‘हामी अरु जान्दैनौं, प्रतिनिधिसभा विघटन मान्दैनौं’ भन्दै चर्का नारा पनि लगाएका थिए ।

माइतीघर मण्डलाबाट शुरु भएको जुलुस नयाँबानेश्वरसम्म आएर कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै सहसंयोजक तामाङले संसद विघटन नसच्चिएसम्म आन्दोलन जारी रहने बताए । जुलुसमा सहभागी भए पनि पूर्वमन्त्री भट्टराईले भने कोणसभालाई सम्बोधन गरेनन् ।

काठमाडौं उपत्यकामा लालटिन बालेर जुलुस प्रदर्शन गरिए पनि काठमाडौं उपत्यका बाहिरका जिल्लाहरुमा लालटिन, सिटी वा लाठी जुलुस निकालेर विरोध प्रदर्शन गरिएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७