पहिलो पटक न्युजिल्यान्ड टेष्ट वरियता शीर्षस्थानमा


२२ पुष २०७७, बुधबार
NZ v PAK series sweep 1024x682 1

काठमाडौं, २२ पुस । पाकिस्तानलाई दोस्रो टेष्ट खेलमा १ सय ७६ रनको इनिङ अन्तरले हराउँदै न्युजिल्यान्ड अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को टेष्ट वरियतामा पहिलो पटक शीर्षस्थानमा उक्लिएको छ ।

दुई टेष्ट सिरिजमा क्लिनस्विप गरेको न्युजिल्यान्डले भारत र अष्ट्रेलियालाई पछि पार्दै टेष्ट वरियतामा शीर्षस्थानमा उक्लिएको हो । न्युजिल्यान्ड १ सय १८ अंकका साथ शीर्षस्थानमा छ। दोस्रो स्थानमा झरेको अष्ट्रेलिया १ सय १६ र तेस्रो स्थानमा रहेको भारतको १ सय १४ अंक छ ।

इंग्ल्यान्ड चौथो, दक्षिण अफ्रिका पाँचौ र श्रीलंका छैटौं स्थानमा छ । पाकिस्तान दोस्रो इनिङमा १ सय ८६ रनमा अल आउट भयो । पाकिस्तानका आविद अली २६, अजहर अली ३७, फहिम अशराफ २८ र जाफर गोहरले ३७ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

न्युजिल्यान्डका युवा अलराउन्डर काइल जामिसनले ६ विकेट लिए । ट्रेन्ट बोल्टको नाममा ३ विकेट रह्यो । न्युजिल्यान्डले ६५९–६ को अवस्थामा पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो । विलियम्सनले ३ सय ६४ बलमा २८ चौका सहित २ सय ३८ रनको उत्कृष्ट दोहोरो शतकीय इनिङ खेलेका थिए । उनको यो टेष्ट करिअरको चौथो दोहोरो शतक थियो ।

विलियम्सन फहिम अशराफको बलमा सन मसुदबाट क्याच आउट भएका थिए । हेनरी निकोल्सले २ सय ९१ बलमा १८ चौका र १ छक्का सहित १ सय ५७ रनको शतकीय इनिङ खेले । चौथो विकेटका लागि विलियम्सन र निकोल्सले ५ सय ५३ बलमा ३ सय ६९ रनको तेहेरो शतकीय साझेदारी गरेपछि न्युजिल्यान्डले पहिलो इनिङमै विशाल योगफल बनाएको थियो ।

मोहम्मद अब्बासले नसीम साहबाट निकोल्सलाई क्याच गराउँदै उक्त साझेदारी तोडे । तल्लोक्रमका डर्याल मिचेल १ सय १२ बलमा ८ चौका र २ छक्का सहित १ सय २ रनमा अविजित रहे । उनको यो पहिलो टेष्ट शतक समेत हो । काइल जामिसन ३० र टम लाथम ३३ रनको योगदान दिए ।

पाकिस्तानका शाहिन अफ्रिदी, मोहम्मद अब्बास र फहिम अशराफले २–२ विकेट लिए । पहिलो दिन टस हारेर ब्याटिङ थालेको पाकिस्तान पहिलो इनिङमा २ सय ९७ रनमा अल आउट भएको थियो । पाकिस्तानका अजहर अलीले १ सय ७२ बलमा १२ चौका सहित सर्वाधिक ९३ रनको योगदान दिए ।

६३ औं ओभरमा म्याट हनेरीले रस टेलरबाट क्याच आउट गराएपछि अजहर शतक बनाउन चुकेका थिए । तेस्रो ओभरको तेस्रो बलमै टिम साउथीले ओपनर शन मसूदलाई शून्यमा एलबिडब्लू आउट गरेका थिए ।

दोस्रो विकेटका लागि अजहर अली र आविद अलीले १ सय ५ बलमा ६२ रनको साझेदारी गर्दै इनिङ अघि बढाएका थिए । आविद अलीलाई २० औं ओभरको अन्तिम बलमा काइल जामिसनले साउथीबाट क्याच गराउँदै तोडेका थिए ।

विकेटकिपर मोहम्मद रिजवान ७१ बलमा ११ चौका सहित ६१ रन बनाए । आविद अली २५, फहिम अशराफ ४८, जफार गोहर ३४, अफ्रिदी ४ र नसीम शाह १२ रनमा आउट भए । हरिस सोहेल १ र फवाद आलम २ रनमा आउट भएपछि पाकिस्तान दबाबमा परेको थियो ।

तर पाँचौ विकेटका लागि अजहर र मोहम्मद रिजवानले १ सय ३२ बलमा ८८ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । युवा अलराउन्डर काइल जामिसनले २१ ओभरमा ८ मेडन सहित ६९ रन खर्चेर ५ विकेट लिए ।

टिम साउथी र ट्रेन्ट बोल्टको नाममा २–२ विकेट रह्यो । म्याट हेनरीले १ विकेट लिए । पहिलो टेष्ट खेलमा पाकिस्तान न्युजिल्यान्डसँग १ सय १ रनले पराजित भएको थियो । न्युजिल्यान्डले दुई सिरिज क्लिनस्विप गर्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७