अनेरास्ववियूको संसद विघटन विरुद् दोस्रो चरणको आन्दोलन-‘विघटनको धारा खै ?’


२२ पुष २०७७, बुधबार
अनेरास्ववियू 1 scaled

काठमाडौं, २२ पुस । नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले काठमाडौँमा लाल्टिन जुलुस सहित प्रदर्शन गरेको छ ।

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाको भ्रातृ संगठन अनेरास्ववियूले प्रतिनिधिसभा विघटनको विरुद्धमा दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत बुधबार काठमाडौमा लाल्टिन जुलुस सहित प्रदर्शन गरेको हो ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध अनेरास्ववियूले दिउँसै लाल्टिन जुलुस निकालेको हो ।

बुधबार माइतीघरबाट सुरु भएको लाल्टिन जुलुस नयाँ बानेश्वरसम्म पुगेको थियो। दिउँसै निकालिएको लाल्टिन जुलुसमा सहभागीहरुले निधारमा कालो पट्टी बाँधेका थिए । प्रदर्शनमा आयोजित कोण सभामा बोल्दै अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले नेपालीहरुले बनाएको नेपालको संविधानमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने कुनै अधिकार नदिएकाले समयमा नै आफ्नो गल्ती सच्याउन आग्रह गरे ।

उनले प्रधानमन्त्री ओलीले आफ्नो गल्ती नसच्याए ओली सरकारका काम चलाउ मन्त्रीहरुलाई जनताको बीचमा अनुहार देखाउन नमिल्ने गरी कालो मोसो लगाउने चेतावनी दिए । उनले ओलीले गरेको कू कुनै पनि हालतमा वैधानिक हुन नसक्ने भन्दै असंवैधानिक कदम सच्याउन आग्रह गरे ।

त्यस्तै अनेरास्ववियूका नेता सुदेश पराजुलीले संविधानमा नभएको धारामा टेकेर प्रधानमन्त्री ओलीले संसद विघटन गरेकाले नेपालको संविधानमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैन भन्ने सन्देश दिन दिउँसै लालटिन बालेर प्रदर्शन गरिएको बताए ।

प्रदर्शनमा पूर्वमन्त्री योगेश भट्टराई लगायतको सहभागिता रहेको थियो । भने ‘संसद विघटनको धारा खै ?’ लेखेको ब्यानर बोकेका थिए । अनेरास्ववियूले मन्त्रीहरुलाई कालोझण्डा देखाउनेदेखि बयलगाडा प्रदर्शन गरेर प्रधानमन्त्रीको पुत्ला जलाउनेसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७