धादिङमा एकीकरण पदयात्रा : पुस २७ मा सिंहदरबार आउने


२२ पुष २०७७, बुधबार
16099428512021 01 05 Sena

धादिङ, २२ पुस । नेपाल एकीकरणका बेला पृथ्वीनारायण शाह र गोरखाली फौज हिँडेको बाटो हुँदै नेपाली सेनाले शुरु गरेको ‘एकीकरण पदयात्रा’ आज धादिङ आएको छ । गोरखाबाट हिँडेको रणसिंह दल गणले गोरखा दरबारबाट ल्याइएको दीप र झण्डा बोर्लाङ्घाटमा आएर धादिङस्थित नेपाली सेनाको देवीदत्त गणलाई हस्तान्तरण गरेको थियो ।

बोर्लाङबाट आज हिँडेको सेनाको टोली बुङ्कोटघाटबाट कछारगाउँ, सल्यानटारको कोषढुङ्गा, रानीपौवा, कालोढुङ्गा, खहरे, चरङ्गे पौवा, चरङ्गेमा आएर बसेको छ । पदयात्रा देवीदत्त गणका प्रमुख सेनानी दिनेश कार्कीले नेतृत्व गरेका थिए ।

चरङ्गेस्थित शान्तिकालिका आधारभूत विद्यालयमा आएपछि गाउँबासी र जनप्रतिनिधिको टोलीले स्वागत गरेको थियो । त्रिपुरासुन्दरी गाउँपालिकाका प्रमुख शम्भु थापा र नेत्रावती डबजोङमा गाउँपालिकाका प्रमुख दुर्गाकुमार शाक्यले सेनाको टोलीलाई स्वागत गरेका थिए ।
पदयात्राको टोलीले बिहीबार कटुञ्जे, पन्ध्रकोषे, थर्पु हुँदै भर्‍याङभुरुङसम्मको यात्रा गरी नुवाकोटमा रहेको जबरजङ्ग गणलाई हस्तान्तरण गर्नेछ ।

दीप र झण्डासहित काठमाडौंंको पल्टन यही पुस २७ गते पृथ्वीजयन्तीका दिन सिंहदरबार अगाडि हुने कार्यक्रममा सहभागी हुने बताइएको छ । गोरखा, धादिङ , नुवाकोट हुँदै काठमाडौंँसम्म उक्त पदमार्गको दूरी २६ कोस छ ।

पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट र विसं १८२५ मा काठमाडौँ राज्य जितेका थिए । त्यस क्रममा उनी दर्जनौँ पटक गोरखादेखि नुवाकोट हुँदै काठमाडौँसम्म ओहोरदोहोर गरेको इतिहास छ । पदमार्ग, कोट, गण र किल्लाहरु सम्वद्र्धन, संरक्षण तथा प्रवद्र्धन गर्ने नेपाली सेनाको विशेष कार्यक्रमअन्तर्गत पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने उद्देश्यले पदयात्रा शुरु गरिएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७