बाइडेनको जीतको घोषणा अघि ट्रम्प समर्थकको हिंस्रक प्रदर्शन : गोली लागेर महिलाको मृत्यु, वासिङ्टनमा कर्फ्यू


प्रकाशित मिति : January 7, 2021

काठमाडौं, २३ पुस । अमेरिकामा क्यापिटल बिल्डिङमा डोनल्ड ट्रम्पका समर्थकले गरेको हिंस्रक गतिविधिपश्चात् वासिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ । कर्फ्यू बुधबार बेलुका ६ बजेदेखि बिहीबार बिहानसम्म पागू गरिएको छ ।

यद्यपि, अब क्यापिटल बिल्डिङ सुरक्षित छ । अमेरिकी अधिकारीले यसको घोषणा गरेका हुन् । क्यापिटल भवन, संयुक्त राज्य कांग्रेसको बैठकस्थल हो । क्यापिटल भित्र उपस्थित रिपोर्टका अनुसार जब सुरक्षाबलका प्रमुखले यसबारे जानकारी दिए तब सांसदले ताली बजाएका थिए ।

डोनल्ड ट्रम्पका समर्थकले बुधबार क्यापिटल बिल्डिङमा प्रवेश गरेर हिंसा सुरु गरिदिए । यो हंगामा त्यतिबेला भयो जब अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजको विषयमा बहस चलिरहेको तियो । यहाँ जो बाइडेनको चुनावी जीतको पुष्टि गरिने कार्यक्रम पनि थियो । सदनमा चलिरहेको बहसका बेला अचानक डोनल्ड ट्रम्पका समर्थक क्यापिटल बिल्डिङभित्र पुगे । यसका कारण बहस बीचमा नै रोक्नुपर्‍यो ।

डोनल्ड ट्रम्पका समर्थकले चुनाव रद्द गर्ने माग गर्दै प्रदर्शन गरिरहेका थिए । यतिबेला केही प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक झडप भयो । स्थिति अनियन्त्रित भएपछि नेशनल गार्डलाई क्यापिटल पठाइयो ।

रिपोर्टका अनुसार क्यापिटल बिल्डिङमा एक आगो निभाउने यन्त्र बिस्फोट भएको छ भने एक महिलालाई गोली लागेको छ । बीबीसीले ती महिलाबारे कुनै जानकारी नभएको बताए पनि द वासिङ्टन पोस्ट र सीएनएनले भने उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताएका छन् ।

जो बाइडेनले भने, ‘यो विद्रोह हो’

अमेरिकाका निर्वाचित राष्ट्रपति जो बाइडेनले विलमिंगटन, डेलावेयरबाट देशलाई सम्बोधन गरे र ट्रम्प समर्थकलाई भीडबाट पछि हट्न र लोकतन्त्रको कामलाई अघि बढ्न दिन आह्वान गरे । उनले भने, ‘यो कुनै विरोध होइन । यो एउटा विद्रोह हो । डोनल्ड ट्रम्प अघि बढ्नुहोस् र टिभीमा गएर यो घेराबन्दीलाई समाप्त गर्न माग गर्नुहोस् । अति नै भयो ।’

सम्बोधनपछि जो बाइडेनले ट्वीट गर्दै डोनल्ड ट्रम्पलाई आफ्ना समर्थकलाई हट्न अपिल गरिदिन माग गरे । अर्को एउटा ट्वीटमा उनले भने, ‘क्यापिटल बिल्डिङमा केही मानिसहरुले जे गरे त्यो कानून नमान्ने अतिवादी मानिसहरु हुन् । उनीहरु राजद्रोह हुन् ।’

ट्रम्पले जारी गरे भिडियो सन्देश

त्यसपछि राष्ट्रपति ट्रम्पले ट्वीटरमा एउटा भिडियो जारी गर्दै प्रदर्शनकारीलाई घर फर्कन अपिल गरे । उनले भने, ‘एउटा चुनाव भयो जुन हामीबाट चोरियो । त्यो एउटा जबर्जस्ती गरिएको चुनाव थियो र यो कुरा सबैलाई थाहा छ । विशेषगरी दोस्रो पक्षलाई । तर अब सबैजना घर जानुपर्छ । हामीले शान्ति स्थापित गर्नुपर्छ । हामीले कानून व्यवस्था स्थापित गर्नुपर्छ । कसैलाई क्षति पुगोस् भन्ने हामी चाहँदैनौं ।’

यस्तै, ट्वीटरले डोनल्ड ट्रम्पको यो भिडियो सन्देशमाथि लाइक, सेयर र जवाफ दिने विकल्प बन्द गरेको छ । भिडियोको मुनि लेखिएको सन्देशमा ट्वीरले भनेको छ, ‘चुनावमा गडबडीको आरोप विवादित छ । र यो ट्वीटलाई रिप्लाई, रिट्वीट वा लाइक गर्न सकिनेछैन किनभने यसबाट हिंसाको खतरा छ ।’

नेशनल गार्ड पठाइए

ह्वाइट हाउसकी प्रेस सेक्रेटरीले ट्वीट गरेर यसको जानकारी दिएकी छिन् । उनले एक ट्वीटमा लेखिन्, ‘राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनमा नेशनल गार्ड र अन्य केन्द्रीय रक्षा सेवा बाटोमा नै छन् । हामी हिंसाविरुद्ध र शान्ति स्थापित गर्नका लागि राष्ट्रसितका् अपिललाई दोहोराइरहेका छौं ।’ क्यापिटल भित्र भीड अनियन्त्रित र हिंस्रक भएपछि क्यापिटल हिल प्रहरीले थप सुरक्षाबल पठाउन माग गरेको थियो ।

थुप्रै मानिस हिरासतमा

क्यापिटल प्रहरीले बिल्डिङभित्र छिरेका केही मानिसहरुलाई हिरासतमा लिएको छ । केही प्रदर्शनकारी पर्खाल चढेर सिनेटको चेम्बरभित्र छिरे । प्रदर्शनकारीलाई नियन्त्रण गर्नका लागि सुरक्षाकर्मीले बन्दुक चलाए ।

ट्रम्पले गरे समर्थकसँग अपिल

राष्ट्रपति डोनल्ड ट्रम्पले समर्थकसँग शान्ति स्थापित गर्नका लागि अपिल गरेका छन् । ट्रम्पले ट्वीट गरेर समर्थकलाई क्यापिटल प्रहरीलाई सहयोग गरिदिन अपिल गरेका छन् । उनले लेखे, ‘उनीहरु साँच्चै नै हाम्रो देशका लागि हुन् । शान्ति स्थापित गर्नुहोस् ।’

अर्को एउटा ट्वीटमा राष्ट्रपतिले भने, ‘म अमेरिकी क्यापिटलमा भएका सबै मानिसहरुसँग शान्ति स्थापित गर्नका लागि अपिल गर्छु । हिंसा होइन । याद गर्नुहोस् हामी कानून र व्यवस्थाको पार्टी हौं । कानूनको सम्मान गर्नुहोस् र निलो पोसाकमा तैनाथ हाम्रा सबै पुरुष र महिलाको पनि । धन्यवाद ।’

उपराष्ट्रपति माइक पेन्सले पनि प्रदर्शनकारीलाई हिंसा नगर्न अपिल गरेका छन् । उनले ट्वीट गरे, ‘क्यापिटलमा भएको यो हमला सहन सकिँदैन र यसमा जो जति संलग्न छन् उनीहरुलाई कडा सजाय दिइनेछ ।’

अमेरिकी सिनेटका केही तस्बिर पनि सार्वजनिक भएका छन् जसमा प्रदर्शनकारी सिनेट चेम्बर नजिकै जम्मा भएको देखिएका छन् । यीमध्ये केहीको हातमा हतियार पनि देखिएको छ । यसअघि क्यापिटल प्रहरीले हिंस्रक झडपपछि अमेरिकी क्यापिटल बिल्डिङमा लकडाउन लागू गरेका छन् ।

अमेरिकामा सन् २०२० मा भएको चुनावको विरोधमा प्रदर्शन गरिरहेका ट्रम्प समर्थकले क्यापिटल बिल्डिङ बाहिर राखिएको अस्थायी ब्यारियर तोडिदिएका छन् । केही प्रदर्शनकारी बिल्डिङ भित्र प्रवेश गर्ने कोसिस पनि गरिरहेको देखिए ।

संसारभरीबाट गरियो घटनाको निन्दा

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन समेत संसारभरीका नेताले क्यापिटलमा भएको घटनाको निन्दा गरेका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले एक ट्वीटमा लेखे, ‘अमेरिकी कांग्रेसमा लज्जास्पद व्यवहार । अमेरिका संसारभरी लोकतन्त्रका लागि खडा हुन्छ र अब यो महत्वपूर्ण हो कि सत्ताको हस्तान्तरण शान्तिपूर्ण र व्यवस्थित ढङ्गले हुनुपर्छ ।’

क्यानडाका विदेशमन्त्री फ्रेंकोइस–फिलिप शेम्पेनले ट्वीट गरे, ‘वासिङ्टन डीसीको स्थितीमा क्यानडा निकै हैरान छ । सत्ताको शान्तिपूर्ण हस्तान्तरण लोकतन्त्रको मौलिकता हो । यो जारी राख्नुपर्छ । हामीले यो स्थितिलाई नजिकबाट निगरानी गरिरहेका छौं र हाम्रो समवेदना अमेरिकी जनतासँग छ ।’

फ्रान्सका विदेश मन्त्रालयतले एक बयान जारी गर्दै यो घटनाको निन्दा गर्दै यो प्रदर्शनलाई लोकतन्त्रमाथि गम्भीर हमला बताएका छन् । डचका प्रधानमन्त्री मार्क रुटले ट्वीट गरे, ‘वासिङ्टन डीसीको तस्बिर भयानक छ । डियर डोनल्ड ट्रम्प, आज जो बाइडेनलाई अर्को राष्ट्रपति मान्नुहोस् । अमेरिकी कांग्रेसकी सदस्य लोरी त्रहानले क्यापिटलमा भएको घटनालाई घरेलु आतंकवादको संज्ञा दिएकी छिन् । बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्