विद्युत प्राधिकरण भन्छ : ट्रिपिङ घट्यो, लोडसेडिङ गरेका छैनौं


२३ पुष २०७७, बिहीबार
bidhyut

काठमाडौं, २३ पुस । आवश्यकता अनुसार विद्युत् उपलब्ध गराउन प्रसारण तथा वितरण लाइन र सबस्टेसन सुदृढीकरणका कामबाट छिनछिनमा विद्युत् जाने (ट्रिपिङ) को समस्या घट्दै गएको विद्युत् प्राधिकरणले दावी गरेको छ ।

नेपाल विद्युत प्राधिकरणको तथ्यांक अनुसार, विद्युतको माग सबैभन्दा बढी हुने काठमाडौं उपत्यकामा यस वर्षको मंसिरमा ३४७ पल्ट ट्रिपिङ भएको छ । काठमाडौं उपत्यका र यस आसपासका जिल्लामा विद्युत् आपूर्ति गर्ने १४ वटा सबस्टेसनमा ट्रिपिङ हुँदा २२ घण्टा विद्युत अवरोध भएको छ । गत वर्षको मंसिरमा ५७७ पटक ट्रिपिङ भई ६५ घण्टा विद्युत आपूर्ति बन्द भएको थियो ।

प्रणालीमा माग अनुसार आपूर्तिका लागि पर्याप्त विद्युत रहेकाले घोषितरअघोषित रुपमा विद्युत् कटौती (लोडसेडिङ) नगरिएको प्राधिकरणका कायम मुकायम (कामु) कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए । शाक्यले सडक तथा खानेपानी पाइप विस्तारका कारण भूमिगत केबलमा क्षति पुग्ने, केही स्थापनमा पोल तथा टान्सर्फमर सार्नु पर्नेलगायतका प्राविधिक कारणले त्यस आसपासका क्षेत्रमा केही समय विद्युत कटौती भएको हुनसक्ने बताएका छन् ।

‘अहिलेसम्मको डाटा हेर्दा गत वर्षको पुसमाभन्दा यस वर्ष ट्रिपिङ कम भएको देखिन्छ, विगतमा चालिएका सुधारबाट यस वर्ष र यस वर्ष गरिएका कामबाट अर्को वर्ष नतिजा देखिन्छ,’ उनले भने । ‘प्रणालीमा आउने प्राविधिक गडबडीले केहीबेर झ्याप्प वत्ति जाँदैमा उपभोक्ताले त्यसलाई लोडसेडिङ गर्यो भनेर बुझेर डराउनु पर्ने जरुरी नै छैन, प्रणालीमा पर्याप्त विद्युत् छ, लोडसेडिङ हाम्रो इतिहास बनिसकेको छ ।’ उनले ट्रिपिङ बढी हुने सबस्टेसनको पहिचान गरी सुधार गर्न, त्यहाँको लोड अन्त सार्नेलगायतका काम निरन्तर भइरहेको बताए ।

स्थानीय रुपमा माग धान्न नसक्ने अवस्थामा (ओभरलोड) रहेका ट्रान्सफर्मर फेर्ने, विदाको दिन लाइन सुधार गर्ने र त्यसका लागि लाग्ने समय घटाउनेलगायतका काम गर्दै विद्युत् आपूर्तिमा सुधार गर्न अहोरात्र काम भइरहेको शाक्यले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७