कांग्रेस सांसद रायमाझीको प्रश्न : जे भन्यो त्यहि मानिदिनु पर्ने प्रधानमन्त्री हिटलर हुन् ?

‘प्रधानमन्त्री हुन मानसिक सन्तुलन पनि ठीक हुनुपर्छ’


२३ पुष २०७७, बिहीबार
ramesh

काठमाडौं, २३ पुस । नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान नमानेर हिटलर बन्न खोजेको बताएका छन् ।

बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले आफूले संविधान नमान्ने, अरुले मात्र मान्नुपर्ने भन्ने सोचाइ राखेको भन्दै उनी हिटलर हो भनी प्रश्न गरेका हुन् ।
‘संविधान प्रधानमन्त्रीले मान्नु नपर्ने ? अरु राजनीतिक दलले मात्र मानिदिनु पर्ने’ उनले प्रश्न गरे ‘प्रधानमन्त्री को हो ? हिटलर हो यो मुलुकको ? उहाँले जे गर्नु हुन्छ त्यो मानिदिनुपर्ने ?’ सांसद रायमाझीले प्रधानमन्त्री ओलीले संविधान विपरीत संसद विघटन गरेको र काम चलाउन भइसकेको सरकारमा मन्त्री थप गरेको भन्दै आलोचना गरेका छन् ।

रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले मानसिक सन्तुलन गुमाइसकेको बताएका छन् । सांसद रायमाझीले प्रतिनिधि सभा विघटन गर्ने काम गर्ने मानसिक स्वास्थ्य ठीक नभएको मान्छेले मात्रै गर्ने भन्दै उनले प्रतिनिधि सभाको बैठक बोलाउनुको सट्टा भंग गरिएको बताए ।

उनले संविधानले प्रधानमन्त्री रहन योग्यता निर्धारण गरेको भन्दै उनले अहिलेका प्रधानमन्त्री ओलीले सबै योग्याता गुमाइसकेको बताए । संविधानले प्रधानमन्त्री हुन प्रतिनिधि सभाको सदस्य हुनुपर्ने, बहुमत माननीय सदस्यको समर्थन हुनुपर्ने, मानसिक सन्तुलन ठीक भएको हुनुपर्ने व्यवस्था गरेको बताए ।

‘उहाँ (ओली) लाई प्रधानमन्त्री भन्ने कि नभन्ने ? उहाँ स्वयं प्रतिनिधि सभाका सदस्य हुनु हुन्न । बहुमत सदस्यको समर्थन उहाँलाई देखिंदैन । अनि यो खालको संविधान मिचेर असंवैधानिक काम गर्ने प्रधानमन्त्रीलाई मानसिक सन्तुलन गुमिसकेको भन्न मिल्छ कि मिल्दैन ?’, उनले भने, ‘प्रधानमन्त्रीको यो कदम अत्यन्त असंवैधानिक, अलोकतान्त्रिक छ । हामीले भने जस्तै अधिनायकवादको बाटोमा हिँड्नको लागि सरकारले आफ्नो गृहकार्य गरिरहेको छ ।’

उनले प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डालाई जुनसुकै कागजमा पनि सही गराउने गरेको आरोप लगाएका छन् । उनले राष्ट्रपतिलाई सम्मानीत पदमा बसेका कारण नेकपाको कार्यकर्ता नबन्न सुझाब दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७