अन्ततः ट्रम्पले भने, ‘शान्तिपूर्ण र विधिपूर्वक सत्ता हस्तान्तरण गर्न तयार छु’


प्रकाशित मिति : January 8, 2021

काठमाडौं, २४ पुस । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः चुनावमा आफ्नो हार स्वीकार गर्दै नव निर्वाचित राष्ट्रपति जो बाइडेनलाई सत्ता हस्तान्तरण गर्न तयार रहेको बताएका छन् ।

बुधबार अमेरिकी संसद् बैठकमा बाइडेनको चुनावी जित प्रमाणित गर्ने विषयमा छलफल भइरहेका बेला ट्रम्पका समर्थकले हिंसात्मक आक्रमण गरेपछि अहिले राष्ट्रपति ट्रम्पको व्यापक आलोचना भइरहेको छ । विपक्षी सांसदले उनलाई तत्काल पदबाट हटाउनुपर्ने माग गर्दै अन्यथा महाभियोग लगाउने चेतावनी दिइरहेका छन् ।

यहीबीच ट्रम्पले पहिलो पटक आफ्नो पराजय स्वीकार गर्दै ट्विटरमा भिडियो सन्देश जारी गरेका हुन् । जसमा उनले भनेका छन्, ‘कंग्रेस (संसद्) ले चुनावी नतिजा प्रमाणित गरिसकेको छ। अब नयाँ प्रशासनले जनवरी २० मा आफ्नो जिम्मेवारी सम्हाल्दै छ । अब मेरो ध्यान शान्तिपूर्ण र विधिपूर्वक सत्ता हस्तान्तरणमा केन्द्रित हुनेछ ।’

साथै उनले संसद् भवनभित्र आक्रमण गर्ने मानिस आफ्ना समर्थक नभएको दाबी पनि गरेका छन् । त्यो भीड रोक्न आफूले तत्काल नेसनल गार्ड र संघीय सुरक्षा निकायलाई परिचालन गरेको उनको दाबी छ । उनले भनेका छन्, ‘अमेरिका सधैं विधि र कानुनमा चल्ने देश हो । क्यापिटल हिल्स (संसद् भवन) मा भएको हिंसात्मक आक्रमणमा संलग्न व्यक्तिले अमेरिकाको प्रतिनिधित्व गर्दैनन् ।’

यसअघि उनले चुनावमा धाँधली भएको आरोप लगाउँदै बाइडेनको जित अस्वीकार गरिरहेका थिए। मत बदरको माग गर्दै उनले अदालतमा मुद्दासमेत हालेका थिए । तर प्रमाणका अभावमा अदालतले उनका उजुरी नै खारेज गरिदिए । यसै सिलसिलामा अन्तिम प्रयासस्वरूप गत बुधबार संसद् भवनमै भएको हुलदंगा उनैले गर्न लगाएको आरोप छ ।

‘तपाईँहरुको राष्ट्रपतिको रुपमा सेवा गर्न पाउनु मेरो लागि जीवनभरको सम्मान हो’, ट्रम्पले भनेका छन्, ‘मेरा सबै समर्थकहरु निराश हुनुहुन्छ भन्ने मलाई थाहा छ । तर, म तपाईहरुलाई भन्न चाहन्छु कि हाम्रो अविश्वसनीय यात्रा बल्ल सुरु भएको छ ।’

प्रतिक्रिया दिनुहोस्