वागमती सफाइ महाअभियान ४०० औं हप्तामा, हालसम्म २० हजार मेट्रिक टन फोहोर व्यवस्थापन


प्रकाशित मिति : January 9, 2021

काठमाडौं, २५ पुस । सफाइ जागरणको प्रेरणाको स्रोत बन्न सफल वागमती सफाइ महाअभियान आज (शनिबार) देखि ४०० औं हप्तामा प्रवेश गरेको छ ।

विसं २०७० जेठ ५ गते तत्कालीन मुख्यसचिव लीलामणि पौडेलको अग्रसरतामा यस अभियान शुरुआत भएको थियो । शुरु भएदेखि आजसम्म प्रत्येक हप्ताको शनिबार बिहान ०७ बजेदेखि ९ बजेसम्म ‘दुई घण्टा राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नाराका साथ अभियानकर्मीले नदीमा सफा गर्दै आएका छन् ।

यसबीचमा चिसो, गर्मी, भूकम्पको त्रास, कोरोना महामारी, चाडपर्व जस्ता दिन पनि महाअभियान रोकिएको छैन । सफाइबाट अहिलेसम्म २० हजार मेट्रिकटन फोहोर नदीबाट निकाली व्यवस्थापन गरिएको छ । काठमाडौं महानगरपालिकालगायत पालिकाले फोहोर व्यवस्थापन गर्ने गरेका छन् ।

फोहोर व्यवस्थापन गर्ने क्रममा गाडीमा राख्दा नाप गरिएका आधारमा २० हजार मेट्रिकटन फोहोर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ ।

सफाइ महाअभियानमा १० लाख स्वयंसेवीले काम गरेका छन् । वाग्मती सफाइ महाअभियानको उत्प्रेरणाले उपत्यकामा रुद्रमती, विष्णुमती, इक्षुमती, मनोहरा, हनुमन्ते, कोड्कु, गोदावरी, बल्खुखोला, गुह्येश्वरीमाथिको वाग्मती, तिलगङ्गा, आलोकनगर, सुन्दरीघाट, चक्रपथको पश्चिम, उत्तर र दक्षिण भागलगायत ठाउँमा सफाइ अभियान चलेको छ ।

यसैगरी उपत्यका बाहिर पनौती, जनकपुर, सिराहा, लाहान, झापा, पोखरा, बुटवल, तिनाउ, दाङलगायत गरी देशभर १०६ भन्दा बढी स्थानमा सफाइ अभियान भइरहेको छ । महाअभियान सुरु भएपछि यी सबै ठाउँमा सफाइ अभियान सुरु गर्ने प्रेरणा मिलेको हो ।

अभियानले फोहोरको स्रोतमै वर्गीकरण गर्न, कुहिने फोहोरबाट बायो कम्पोष्ट मल र बायोग्याँस उत्पादन गर्न सहजीकरण गरेको छ । कुहिने फोहोरलाई मल बनाएर कौशी खेती गर्न पनि अधिकार सम्पन्न वाग्मतीले उपत्यकावासीलाई प्रोत्साहन गरिरहेको छ ।

अहिलेसम्म सामुदायिक संस्थाको सहयोगमा करिब पाँच हजार कम्पोष्ट विन कौशी खेतीलाई प्रोत्साहन गर्न वितरण गरिएको अधिकार सम्पन्न वाग्मती समितिका सूचना अधिकारी कमल अर्यालले बताए । उपत्यका बाहिर पनि फोहोरको स्रोतमै वर्गीकरणलगायत विधि अपनाउन शुरु भएको छ । शनिबार वाग्मतीको मुहान क्षेत्र सुन्दरीजल र मध्यभाग मीनभवनमा विशेष कार्यक्रम आयोजना गरिँदै छ ।

सात ठाउँमा जनचेतनामूलक अभियान

यस अवसरमा ‘स्वच्छता हाम्रो पहिचान, सफाइमा मेरो योगदान’ नारा तय गरी विशेष कार्यक्रम आयोजना गर्न लागिएको हो । विशेष कार्यक्रमअघि काठमाडौं साँगा भञ्ज्याङ, नागढुंगा, नयाँ बसपार्क, त्रिभुवन विश्वविद्यालय प्रवेशढोका, बालाजु बाइपास, नारायणगोपाल चोक, मीनभवन गरी सात ठाउँमा जनचेतनामूलक अभियानसहित सफाइसम्बन्धी पर्चा वितरण र पम्प्लेट टाँसिने छ ।

यसका लागि सातै ठाउँमा सफाइ अभियानकर्मीको नेतृत्वमा समूह परिचालन गरिएको छ । अभियानकर्मी क्रमश ः नरेश रञ्जित, ताराबहादुर कुँवर, लोकबहादुर टण्डन, रामकुमार श्रेष्ठ, चित्रबहादुर सुनुवार र शोभाकान्त पाण्डेलाई संयोजन गर्ने जिम्मेवारी दिएको छ । ती ठाउँमा चल्ने सार्वजनिक र निजी यातायातमा समेत चेतनामूलक पम्प्लेट टाँस गरिने जनाइएको छ ।

वागमती सफाइ महाअभियान विश्वकै लामो अभियान भएको दावीसमेत गरिएको छ । यसैकारण महाअभियानले अन्तर्राष्ट्रिय पुरस्कार समेत प्राप्त गरेको छ । वाग्मती सफाइ महाअभियान शुरु भएपछि सोचे जस्तो सफाइ नभएको टिप्पणी समेत हुने गरेको छ । सोचेजति सफाइ नभए पनि सफाइ जागरणमा महाअभियानले महत्वपूर्ण योगदान गरेको छ । नदी, सम्पदा र सार्वजनिकस्थल सफाइमा जनसहभागिता जुटाउन पनि महाअभियानले प्रेरणा दिएको छ ।

महाअभियानले मृतप्राय वाग्मती र यसका सहायक नदीलाई पुनर्जीवन दिएको अभियानकर्मी पौडेल बताउँछन् । महाअभियानको मूल उद्देश्य विशुद्ध स्वयंसेवी भावना र स्वाभिमानको विकास गराउने रहेको छ ।

हामी हाम्रो काम आफै गर्न सक्छौँ भन्ने भावनाका साथ राष्ट्र निर्माणमा निःस्वार्थ समर्पण हुने युवा जनशक्तिको विकास गर्न पनि महाअभियानले सहयोग गरेको छ । यसलाई सभ्य समाज निर्माण र राष्ट्रिय स्वाभिमानको महाअभियानका रुपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्