धनगढी पुगेर पनि प्रधानमन्त्रीले निर्मलाको नाम लिएनन्, ‘निर्मलाका हत्यारा खोइ’ लेखिएको टिसर्ट लगाउँदा सात युवा गिरफ्तार


२५ पुष २०७७, शनिबार
nirmala2021 01 09 03 06 54

धनगढी, २५ पुस । जननिर्वाचित प्रतिनिधिसभा विघटन गरेर नयाँ संसद्का लागि भन्दै भोट माग्न सुदूरपश्चिम पुगेका प्रधानमन्त्री केपी ओलीले शुक्रबार धनगढीमा लामो भाषण गरे । तर, साढे २९ महिनादेखि सुदूरपश्चिममा ठूलो आन्दोलनको विषय बनेको निर्मला घटनाबारे एक शब्द बोलेनन् ।

जब कि निर्मलाका आमा–बुबाले दुई वर्षअघि बालुवाटार नै पुगेर प्रधानमन्त्री ओलीसँग न्यायका लागि गुहार मागेका थिए । धनगढी पुगेका ओलीले न्यायको आसमा संघर्षरत निर्मलाको परिवारलाई सम्झन पनि चाहेनन् ।

‘निर्मला पन्तका बलात्कारी खै ?’ लेखेको टिसर्ट लगाएर न्याय मागिरहेका युवालाई पक्राउ गरियो, त्यो पनि प्रधानमन्त्री ओलीकै सभाबाट । आठ सय ९८ दिन बित्दा समेत हत्यारा पत्ता लगाउन नसकेको सरकारले न्याय माग्दै प्रश्न गर्नेहरूको पनि मुख थुन्ने प्रयास गर्न थालेको छ ।

प्रहरीले १० साउन ०७५ मा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मलाको हत्यारा अझै पत्ता लगाउन सकेको छैन । यस विषयमा सभ्य शैलीमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउन केही विद्यार्थी शुक्रबार नेकपाले धनगढीमा आयोजना गरेको जनसभामा ‘निर्मला पन्तका बलात्कारी खै ?’, ‘निर्मलालाई न्याय दे’ लेखिएको टिसर्ट लगाएर पुगेका थिए । किनभने सभाका प्रमुख अतिथि प्रधानमन्त्री ओली थिए ।

प्रधानमन्त्रीसँग प्रत्यक्ष भेटेर आफ्ना कुरा राख्न सम्भव नहुने भएकाले उनीहरूले टिसर्टमा नारा लेखेर न्याय माग्न खोजेका थिए । तर, प्रधानमन्त्री निकट नेताहरूको निर्देशनमा प्रहरीले उनीहरूलाई सभास्थलबाट पक्राउ गरेर हिरासतमा पुर्‍यायो ।

प्रधानमन्त्री ओलीले आफ्नो क्याबिनेटमा सुदूरपश्चिमका चार मन्त्री बनाउनेदेखि विकास निर्माणसम्मका विषयमा लामो भाषण दिए पनि निर्मला हत्याका विषयमा एक शब्द पनि बोलेनन् । जब उनी काठमाडौंका लागि उडे, त्यसपछि मात्रै प्रहरीले पक्राउ गरिएका युवालाई साँझ रिहा गरेको छ ।

पक्राउ गरिएका युवाहरूमा धनगढीका २४ वर्षीय विनोद खड्का, २९ वर्षीय सुरेश कुँवर, २१ वर्षीय ताराप्रसाद जोशी, १८ वर्षीय प्रवीण खड्का, २३ वर्षीय आरुद शाह, २४ वर्षीय सागर जोशी र २१ वर्षीय राजेन्द्र शाही रहेका छन् । उनीहरू सबै विद्यार्थी हुन् ।

प्रहरीकै अनुसार पनि उनीहरूले प्रधानमन्त्रीको कार्यक्रममा कुनै अवरोध गरेका थिएनन, नारा पनि लगाएका थिएनन् । निर्मलाका हत्यारा पत्ता लागेका छैनन् भनेर ध्यानाकर्षण गर्न टिसर्ट मात्र लगाएका थिए । ओली निकट नेताहरूको दबाबमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको स्रोत बताउँछ ।

यति गम्भीर घटनाका पीडितलाई न्याय माग्दा समेत बल प्रयोग गरिएको भन्दै सामाजिक सञ्जालमा चर्काे आलोचना भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालगायतले यसको निन्दा गरेका छन् । नागरिकको मौलिक हकमाथि बल प्रयोग भएको भन्दै प्रहरीमाथि प्रश्न उठेको छ ।

कैलालीका प्रहरी प्रमुख एसपी अनुपमशमशेर जबराले भने टिसर्ट लगाएका युवाहरूकै सुरक्षाका लागि पक्राउ गरिएको दाबी गरे । ‘एउटा प्रकृतिको कार्यक्रममा अर्काे विषयको टिसर्ट लगाएर आउँदा कार्यक्रम बिथोल्न आएको भनेर विवाद होला कि भनेर हामीले उहाँहरूलाई सुरक्षा दिएर ल्याएका हौँ, साँझ घर पठाइसक्यौँ,’ उनले भने ।

चार एसपी फेरिए, तर अनुसन्धानमा प्रगति भएन

निर्मला हत्यायता कञ्चनपुरमा चार एसपी फेरिएका छन् । तर, अनुसन्धानमा कसैले पनि प्रगति देखाउन सकेनन् । घटना हुँदा डिल्लीराज विष्ट कञ्चनपुरको प्रहरी प्रमुख थिए । अनुसन्धानमा लापरबाही गरेको भन्दै १ भदौ ०७५ मा उनलाई निलम्बन गरिएको थियो । पछि सेवाबाटै हटाइएका उनलाई मन्त्रिपरिषद्ले हालै पुनर्वहाली गर्ने निर्णय गरेको छ ।

विष्टपछि एसपी कुवेर कडायत कञ्चनपुर पुगे । उनको कार्यकाल आन्दोलन थेग्नमै बित्यो । कडायतपछि दिनेश आचार्य र उनीपछि मुकुन्द मरासनी कञ्चनपुरमा प्रहरी प्रमुखका रूपमा पुगेका थिए । आचार्यको कार्यकालमा अभियुक्त भेटिएनन्, बरु प्रहरी नेतृत्वको निर्देशनमा आफ्नै प्रहरीमाथि मुद्दा दायर काम गर्ने काम भयो । मरासनी पनि कार्यकाल पूरा गरी शुक्रबार बिदा भएका छन्, तर घटनाको अनुसन्धानमा कुनै प्रगति हुन सकेको छैन ।

कञ्चनपुरको नयाँ एसपीमा उमाप्रसाद चतुर्वेदीको सरुवा भएको छ । अहिले पनि प्राथमिकताका साथ घटनाको अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कँुवरको भनाइ छ । प्रहरीले घटनाको अनुसन्धानका लागि केन्द्रबाट कम्तीमा आठवटा टोली खटाइसकेको छ । सुरुमा डिएसपी अंगुर जिसीको नेतृत्वमा टोली खटिएको थियो । जसले दिलीपसिंह विष्टलाई अभियुक्त दाबी गरेको थियो । तर, डिएनए म्याच नभएपछि प्रहरी नै संकटमा फस्यो ।

जिसी नेतृत्वको टोलीलाई फर्काएर केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का तत्कालीन एसएसपी ठाकुर ज्ञवाली नेतृत्वको टोलीले प्राविधिक रूपमा अनुसन्धान गर्न थाल्यो । ज्ञवाली पछि प्रहरी आइजिपी भए । आइजिपीका रूपमा उनले सो घटनालाई टुंगोमा पुर्‍याउने बताए पनि कोरोना महामारीका कारण त्यता ध्यान दिन पाएनन् ।

त्यस्तै, प्रहरी प्रधान कार्यालयबाट एसपी दुर्गा सिंह नेतृत्वको अर्काे टोलीले पनि कञ्चनपुरमा खटिएको थियो । यी दुवै टोलीले पनि प्रगति हात पार्न सकेनन् । त्यसपछि तत्कालीन डिएसपी कमल थापाको नेतृत्वमा टोली खटियो । त्यही टोलीले प्रदीप रावल र विशाल चौधरीलाई पक्राउ गरी काठमाडौं ल्याएको थियो । तर, उनीहरू पनि निर्दोष देखिए । निर्दाेषलाई पक्राउ गरिएको भन्दै प्रहरी झन् विवादमा प¥यो । यो टोली पनि फिर्ता भयो ।

त्यसपछि सिआइबीका तत्कालीन एसपी सुदीप गिरीको नेतृत्वमा टिम खटियो । जसमा अपराध महाशाखाका प्रहरी समेत खटिए । यो टोलीले तस्करीको सुन बरामद गर्‍यो, तर निर्मलाका हत्यारा पत्ता लगाउन सकेन ।

यसबाहेक प्रहरीबाट भएका कमजोरी पत्ता लगाउन अन्य तीन समिति पनि गठन भए । गृह मन्त्रालयले सुरुमा सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गर्‍यो । त्यसले पनि अनुसन्धानलाई कुनै सहयोग भएन । पछि प्रहरीबाट एआइजी धीरु बस्नेतको नेतृत्वमा अर्काे छानबिन टोली गठन भयो । त्यस्तै, राष्ट्रिय मानव अधिकार आयोगले पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्र पाठकको संयोजकत्वमा टोली खटाएर छानबिन गर्‍यो ।

पछिल्लोपटक प्रहरीले तत्कालीन डिआइजी सुरज केसीको नेतृत्वमा पुनरावलोकन समिति बनाएको थियो । हाल सिआइबीका डिएसपीको नेतृत्वको अर्काे टोलीले त्यसमै केन्द्रित भएर अनुसन्धान गरिरहेको छ ।

अनुसन्धान : घुमिफिरी रुम्जाटार

आइजिपीमा नियुक्त भएलगत्तै शैलेश थापा क्षेत्रीले निर्मला घटनाको अनुसन्धानबारे उच्च प्रहरी अधिकारीसँग छलफल गरेका थिए । त्यसकै आधारमा उनले सिआइबीलाई नै घटनाको अनुसन्धानको जिम्मेवारी दिए । कञ्चनपुरमै बसेर सिआइबीको टोलीले अहिले पनि अनुसन्धान गरिरहेको छ । तर, अनुसन्धान सुरुमा पक्राउ परेका दिलीपसिंह विष्टमाथि नै केन्द्रित भएको स्रोत बताउँछ ।

त्यतिवेला डिएनए म्याच नहुँदा छुटेका विष्टविरुद्ध यसपटक पहिलेभन्दा धेरै प्रमाण भएको प्रहरी अधिकारीहरू दाबी गर्छन् । अकाट्य प्रमाण नभए पनि परिस्थितिजन्य र अन्य पर्याप्त प्रमाण रहेको उनीहरूको भनाइ छ । हत्याको दिन विष्टलाई निर्मलाको शव भेटिएको ठाउँकै बाटोमा देखेको एक स्थानीयले प्रहरीलाई कागज गरिदिएका छन् ।

त्यस्तै, दिलीपको दुव्र्यवहार भोगेकी अर्की महिलाले पनि प्रहरी कार्यालयमा गएर कागज गरिदिएकी छिन् । निर्मलालाई आफूले नै हत्या गरेको हुँ भनेर स्थानीय युवाहरूलाई बताएको र मिडियामा बोलेको भिडियो पनि प्रहरीसँग भएको अर्काे प्रमाण हो । विष्टको भिडियो हेरेपछि नै निर्मलाकी आमाले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।

डिएनए म्याच नभएका आधारमा विष्ट छुटेका थिए । तर, परीक्षणमै त्रुटि भएको विज्ञ समितिले प्रस्ट पारेपछि परिस्थितिजन्य प्रमाणका आधारमा अनुसन्धानको बाटो खुलेको छ । डिएनए परीक्षणबारे सुरुमा राष्ट्रिय मानव अधिकार आयोगले विज्ञ राखेर अनुसन्धान गरेको थियो । जसमा अनुसन्धान विधि नै गलत भएकाले डिएनएबाट सही अभियुक्त पत्ता नलाग्ने निष्कर्ष निस्किएको थियो ।

प्रहरीले वाई–एसटिआई विधिबाट डिएनए परीक्षण गरेको थियो । जुन विधि वंश पत्ता लगाउन प्रयोग गरिन्छ । यस्तो घटनामा अटोसोमल प्रविधिबाट परीक्षण गर्नुपर्ने विज्ञहरू बताउँछन् । तर, प्रहरीले निर्मलाको गुप्तांगबाट बरामद वीर्यको नमुना जोगाउन नसक्दा अटोसोमल प्रविधिबाट परीक्षणको सम्भावना सकिएको छ । जसले गर्दा डिएनएबाट अभियुक्त पहिचान हुने बाटो बन्द भएको छ ।

राष्ट्रिय विधि–विज्ञान प्रयोगशालाका पूर्वनिर्देशक जीवन रिजाल नेतृत्वको विज्ञ समितिले पनि डिएनए परीक्षणमा त्रुटि भएको औँल्याएको छ । गृह मन्त्रालयले सो प्रतिवेदन कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयमा पठाइसकेको छ । विज्ञ समितिका संयोजक रिजाल भन्छन्, ‘डिएनएमार्फत यो घटनाका अभियुक्त पत्ता लाग्न अब सम्भव छैन ।’

justice.jpg .2021 01 09

तर, अकाट्य प्रमाण नहुँदा प्रहरीले विष्टलाई पक्राउ गर्ने आँट नगरेको उच्च प्रहरी स्रोत बताउँछ । सुरुमा अनुसन्धान गर्ने प्रहरीलाई हचुवाकै भरमा नेतृत्वले कारबाही गरेकाले समेत अहिले प्रहरीहरू जोखिम लिएर निर्णय लिन नसक्ने अवस्थामा पुगेका हुन् ।

त्यतिवेला अनुसन्धानमा संलग्न आठ प्रहरीलाई दबाबै भरमा मुद्दा चलाइएको थियो । अनुसन्धानमा लापरबाही र प्रमाण नष्ट गरेको आरोपमा मुद्दा खेपेका सेवाबाट हटाइएका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टसहित अवकाशप्राप्त डिएसपी ज्ञानबहादुर सेठी, डिएसपी अंगुर जिसी, इन्स्पेक्टर एकेन्द्र खड्का, सइहरू रामसिंह धामी, हरसिंह धामी र प्रहरी जवान चाँदनी साउदले सफाइ पाइसकेका छन् । एसपी विष्ट, डिएसपीद्वय सेठी र जिसी तथा इन्स्पेक्टर खड्कालाई भने दिलीपसिंह विष्टलाई यातना दिएर अपराध कबोल गर्न लगाइएकोमा यातनासम्बन्धी अर्काे मुद्दा समेत थियो । त्यसमा पनि उनीहरूले सफाइ पाइसकेका छन् ।

विगतमा प्रहरीले भिडको दबाबका आधारमा निर्णय गर्दा नै निर्मला केस बिग्रिएको निष्कर्षमा अहिले गृह मन्त्रालय पुगेको छ । जसमध्ये एक हो तत्कालीन एआइजी धिरु बस्नेत नेतृत्वको छानबिन प्रतिवेदन । जुन प्रतिवेदन गलत रहेको प्रहरीकै अर्काे प्रतिवेदनले ठहर गरको छ ।

पर्याप्त प्रमाण नभएपछि भिडको दबाबको भरमा त्यतिवेला प्रहरीमाथि नै मुद्दा दायर भएको र यसले अनुसन्धान अधिकृतहरूको मनोबल घटाएको भनेर प्रहरीभित्रै प्रश्न उठेको थियो । त्यसपछि तत्कालीन आइजिपी सर्वेन्द्र खनालले अध्ययन गर्न डिआइजी सुरज केसीको नेतृत्वमा प्रतिवेदन पुनरावलोकन समिति गठन गरेका थिए । पाँच दिनमै सो समितिले प्रतिवेदन बुझाउँदै एआइजी बस्नेत नेतृत्वमा तयार भएको प्रतिवेदनको निष्कर्ष गलत रहेको ठहर गर्दै त्यसलाई कार्यान्वयन नगर्न सिफारिस गरेको थियो ।

समितिले दिलीपसिंह विष्टमाथिका प्रमाणलाई नजरअन्दाज गरिएकाले उनीमाथि थप अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको थियो । सो प्रतिवेदनलाई संगठनको साझा धारणाको रूपमा लिने निर्णय प्रहरीले गरिसकेको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७