संसद् विघटन असंवैधानिक भन्नेहरूलाई संविधान पढ्न प्रधानमन्त्री ओलीको सुझाब


२५ पुष २०७७, शनिबार
kp oli

धनगढी, २५ पुस । प्रधानमन्त्री केपी ओलीले संसद् पुनर्स्थापना हुन नसक्ने दाबी गरेका छन् । शुक्रबार धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले निर्वाचन बाहेक अर्को विकल्प नरहेको जिकिर गर्दै संसद् विघटन असंवैधानिक भन्नेहरूलाई संविधान पढ्न सुझाए ।

आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कुनै भ्रममा नरहनका लागि तपाईंहरूलाई आग्रह गर्न चाहन्छु, यो संसद् पुनस्र्थापना हुँदैन । ६४ प्रतिशतको प्रतिनिधित्व गर्ने प्रधानमन्त्री म हो । देशको समय बर्बाद हुने भयो, देशका लागि काम गर्न दिएनन् । त्यसकारण म ताजा जनादेशमा जान चाहन्छु भनेर विघटनको सिफारिस गरेर विघटन भइसकेपछि चुनावको अर्को विकल्प छैन संसद्मा ।’

उनले कानुनी, आवश्यकताको सिद्धान्त, अन्तर्राष्ट्रिय प्रचलन आदि कुनै पनि हिसाबले विघटन भइसकेको संसद् पुनस्र्थापना सम्भव नरहेको दाबी गरे । निर्धारित समयमै चुनाव हुने भन्दै उनले त्यसको तयारीमा लाग्न आग्रह गरे । ‘केपी ओलीले चुनाव गर्दैन भनिराख्या छन् । म फेरि दोहोर्‍याएर–तेहर्‍याएर भन्न चाहन्छु– चुनाव वैशाख १७ गते नै हुन्छ । वैशाख २७ गते नै हुन्छ । निर्वाचन आयोग तयारीमा लागेको छ । साथीहरू चुनावमा लाग्नोस्,’ प्रधानमन्त्री ओलीले भने ।

उनले खराब तत्व माथि गए दुःख दिने भन्दै निर्वाचनबाट ठेगान लगाउन आग्रह गरे । संसद् विघटनको विरोधमा पार्टी विभाजन गरेर गएका प्रचण्ड–नेपाल समूहलाई आगामी निर्वाचनमा १० सिट जितेर देखाउन प्रधानमन्त्री ओलीले चुनौती दिए ।

‘उहाँहरू ठुल्ठूला कुरा गरिरहन ुभएको छ । चोइटिएर जानेहरूलाई म भन्न चाहन्छु– देशभरिबाट १० सिट ल्याएर देखाउनोस्,’ ओलीको चुनौती थियो । आफू नेतृत्वको नेकपा आधिकारिक भएको उनले दाबी गरे । ‘छोरी, बुहारीको मात्र मतलब गर्नेको पार्टी हुन सक्दैन । यो जनताको पार्टीको र यसको अध्यक्ष मै हुँ,’ ओलीले भने, ‘दुई–चार जना मान्छे पिलो निचोरे जस्तै निचोरिएर जाँदा ओजन घट्दैन । नुहाउने वेला दुई–चार केश झर्दा केही फरक पर्दैन ।’

उनले आफ्नो नेतृत्वमा मात्र देश बन्न सक्ने जिकिर गरे । प्रचण्ड–नेपाल समूहले पार्टीमा आफूतिर बहुमत रहेको भन्ने भनाइप्रति कटाक्ष गर्दै ओलीले भने, ‘उहाँहरू दुई सय ६५ जना गयौँ भन्नुहुन्छ । तीन करोडमा दुई सय ६५ जाँदा के भयो त ?’ प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहलाई भगौडाको संज्ञा दिए । ‘केन्द्रीय कमिटीमा नआएर अन्यत्र भाग्नुभो । कहाँ गए भनेको त हामी यहाँ छौँ भनेर बाटोमा बसेका रहेछन्,’ ओलीले भने, ‘पार्टी छोडेर हिँडेका केही भगौडाका कुरा सुनेर आत्तिनु हुँदैन ।’

भारतले अतिक्रमण गरेको लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको भूमि समेटेर नक्सा जारी गरेदेखि नै आफूलाई हटाउने षड्यन्त्र सुरु भएको ओलीको भनाइ थियो । ‘त्यो भूमि हाम्रो हो । हामीले आफ्नो भूमि समेटेर नक्सा जारी गर्‍यौँ,’ नेकपा नेता भीम रावलप्रति लक्षित गर्दै ओलीले भने, ‘नक्सा छापिएपछि छटपटी भयो । बाहिर राष्ट्रवादी देखिनेहरू भित्रभित्रै उखरमाउलो भएर छटपटिए ।’ आफूलाई मन्त्री नबनाएको र वैज्ञानिक वन व्यवस्थापनका नाममा वन मासेर फाइदा लिन नपाएको रिसमा रावल आफूविरुद्ध लागेको ओलीको आरोप थियो ।

राजनीतिमा प्रचण्ड र माधव नेपालभन्दा आफ्नो योगदान बढी रहेको उनको दाबी थियो । ‘पुष्पकमल दाहालले अहिले एउटै गीत गाउनुहुन्छ, मभन्दा तीनवटा भोटो बढी फटाएको भनेर । उहाँ ०३७ मा मास्टरी गर्नुहुन्थ्यो । म २७ सालमा जेलमा थिएँ,’ उनले भने, ‘उहाँले राजनीति सुन्नु भएको थिएन, म संघर्षमा थिएँ ।’

नेपाललाई पनि आफूले नै राजनीतिमा लाग्न भनेको ओलीले दाबी गरे । ‘उहाँले ओली जेलमै बस्दा आफू केन्द्रीय सदस्य भइसकेको भन्नुहुन्छ । महेन्द्र–मोरङ क्याम्पसमा पढ्दै गर्दा मैले उहाँलाई राजनीतिमा आउनोस् भनेँ । उहाँ ०३२ मा राजनीतिमा लाग्नुभो, म ०२२ सालमा,’ ओलीले थपे, ‘अहिले मभन्दा सिनियर भन्नु हुन्छ ।’

संसद् विघटनपछि ओली पहिलो पटक काठमाडौं उपत्यकाबाहिरको आमसभामा सहभागी भएका हुन् । नेकपाको फुटपछि सुदूरपश्चिम प्रदेश, जिल्ला र स्थानीय कमिटीमा कमजोर देखिएको ओली समूहले धनगढीमा शक्ति प्रदर्शनसहित आमसभा गरेको हो । ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको सभामा सुदूरपश्चिमका पहाडी जिल्लाबाट पनि नेता–कार्यकर्ता सहभागी थिए ।

पार्टीको बैठक र सभाको तयारीका लागि यही क्षेत्र घर भएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, वनमन्त्री प्रेम आले, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्ना तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी केही दिनअघिदेखि नै धनगढीमा थिए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७