गैरसांसदको रूपमा मन्त्री भएका नेताहरू शाही मन्त्रीकै शैलीमा गाउँगाउँमा स्वागत ग्रहण गर्दै


२६ पुष २०७७, आईतवार
125 kg mala.jpg .2021 01 10

काठमाडौं, २६ पुस । राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि गठन गरेको सरकारका ‘शाही मन्त्री’हरू स्वागत थाप्न र राजाको कमदको पक्षमा जनमत बनाउन देश दौडाहामा निस्केका थिए । उस्तै, झल्को दिनेगरी अहिले काम चलाउ सरकारका मन्त्रीहरू पनि देश दौडाहामा निस्केका छन् ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गराएपछि मन्त्रिपरिषद् हेरफेर गरेका छन् । केही मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ भने केही नयाँ मन्त्रीहरू नियुक्त भएका छन् । कतिपय विघटित संसद्का सदस्य पनि छैनन् । उनीहरू अहिले देश दौडाहामा निस्केर शाहीमन्त्रीहरू जस्तै जिल्ला–जिल्लामा स्वागत थापिरहेका छन् । सँग–सँगै प्रधानमन्त्री ओलीको संसद् विघटन गर्ने कदमको बचाउ गर्दै भाषणा दिइरहेका छन् ।

खेलकुदमन्त्री तामाङलाई गृहजिल्लामा फूलमालासँगै कालो झन्डा

सिन्धुपाल्चोक २ ‘ख’ बाट प्रदेश सभाको चुनाव हारेका दावा तामाङ काम चलाउ सरकारका युवा तथा खेलकुदमन्त्री बनेका छन् । उनले पनि शनिबार गृहजिल्ला सिन्धुपाल्चोकमा फूलमाला र खादाले स्वागत पाएका छन् ।

पहिलो संविधानसभा निर्वाचनमा राप्रपा अध्यक्ष पशुपतिशमशेर राणालाई पराजित गरेर चर्चामा आएका तामाङ प्रदेशमा चुनाव हार्दा पनि संघीय सरकारको मन्त्री बन्न सफल भएपछि फेरि चर्चामा आएका छन् । तर, त्यतिवेला भने स्थानीय बासिन्दा नै उनको विरोधमा थिए । नेकपाका धेरैजसो नेता कार्यकर्ता प्रचण्ड–नेपाल समूहमा भएकाले उनको विरोध भइरहेको छ ।

केही नेता र कार्यकर्ताको स्वागत थापे पनि उपप्रधानमन्त्री ईश्वर पोखरेललाई लिएर गृहजिल्ला पुगेका तामाङलाई युवा संघ र अनेरास्ववियुले कालो झन्डा देखाएर विरोध जनायो । बलेफी गाउँपालिकाको कोठेमा जम्मा भएका अनेरास्ववियुका कार्यकर्ता र अँधेरी सडकमा युवा संघका नेता कार्यकर्ताले कालो झन्डा देखाएर विरोध जनाए । कोठेदेखि खाडीचौरसम्म मन्त्रीद्वयविरुद्ध नाराबाजी भएपछि बाटोमा कर्ही ओर्लेनन् ।

खाडीचौरको अक्करमा आयोजित अगुवा कार्यकर्ता भेलामा मन्त्रीद्वयलाई कार्यकर्ताले फूलमाला र खादा लगाएर स्वागत गरे । भेलालाई सम्बोधन गर्दै मन्त्री तामाङले प्रधानमन्त्री ओलीको कदमको प्रशंसा गरे । उनले प्रधानमन्त्री ओलीकै शैलीमा कथा हालेर सभामुख अग्निप्रसाद सापकोटा र नेकपा अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’को आलोचना गरे । ‘अब जनवादको घाम ताप्न खुमलटारमा होइन, ओली नेकपातिर लाग्नुपर्छ,’ उनले भने ।

महतोलाई श्रीमान् र कार्यकर्ताले लगाए १०१ किलोको माला

महिला, बालबालिका तथा ज्येष्ट नागरिकमन्त्री जुलीकुमारी महतो केही दिनदेखि गृहजिल्ला धनुषामा छिन् । २१ पुसमा जनकपुर आएकी मन्त्री महतोको स्वागतमा उनका श्रीमान् रघुवीर महासेठसहित कार्यकर्ताहरू जनकपुर विमानस्थल पुगेका थिए ।

विमानस्थलमै एक सय एक किलोको फूलको मालाको स्वागत पाएर महतो दंग थिइन् । त्यसपछि उनी ओली समूहले जनकपुरस्थित प्रादेशिक कार्यालयमा आयोजना गरेको बृहत् जिल्ला कार्यकर्ता भेलामा सहभागी भइन् । त्यहाँ पनि उनलाई फूलमालाले स्वागत गरियो ।

त्यसयता उनी आफ्नो मन्त्रालयसँग सम्बन्धित नरहेको पुलको शिलान्यास, उद्घाटन तथा पार्टी प्रवेशका कार्यक्रममा सहभागी भइरहेकी छिन् । पाँच दिनमा मन्त्री महतोले धनुषा र महोत्तरीका ६ वटा पुलको शिलान्यास र चारवटा पुलको उद्घाटन गरेकी छिन् ।

शनिबार पनि महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित बिग्ही पुलको शिलान्यास गरिन् । यसअघि शुक्रबार धनुषाको देपुरा नोचास्थित जल्लाद नदीको पुल र नेपाल–भारत जोड्ने भडरियास्थित बेलौती नदीमा निर्माण गरिएको पुलको उद्घाटन र नेपालको बिर्ता र भारतको हैरने जोड्ने जमुनी नदीको पुल शिलान्यास गरेकी थिइन् ।

त्यस्तै, बिहीबार मिथिला विहारी नगरपालिकाको ठेरास्थित जलाद नदीको पुल, बटेश्वर गाउँपालिका र मिथिला नगरपालिका जोड्ने सुखजोरको पुलको शिलान्यास तथा वटेश्वर गाउँपालिकाअन्तर्गत बटेश्वर र नक्टाझिज जोडने सुखजोरको पुलको उद्घाटन गरेकी छिन् । त्यसअघि धनौजिक गाउँपालिका भररियाँस्थित भलौची पुलको उद्घाटन गरेकी थिइन् ।

जिल्लाका विभिन्न कार्यक्रममा स्वागत थापिरहेकी मन्त्री महतोले प्रधानमन्त्री ओलीको कदमको बचाउ पनि गर्दै आएकी छिन् । सरकारलाई काम गर्न नदिएकाले प्रधानमन्त्री ओलीले बाध्य भएर संसद् विघटन गरेको उनको भनाइ छ । ‘संसद् विघटन गरेर प्रधानमन्त्री ओलीले कुनै असंवैधानिक कार्य गरेका छैनन् । नयाँ निर्वाचनको मितिसमेत घोषणा गरेका छन्, लोकतन्त्रमा जनता सर्वोपरि हुन्छन् र ताजा जनादेशका लागि जनताका बीच गएका छौँ,’ मन्त्री महतोले भनिन् ।

सहरी विकासमन्त्री साहलाई गृहजिल्ला रौतहटमा स्वागत
सहरी विकासमन्त्री भएपछि गृहजिल्ला पुगेका प्रभु साहलाई फूलमालाले स्वागत गरिएको छ । केही दिनयता जिल्लाका विभिन्न कार्यक्रममा सह भागी भइरहेका उनी स्वागत थाप्नमै व्यस्त छन् ।

जिल्लामा आयोजित कार्यक्रममा स्वागत थाप्दै प्रधानमन्त्री ओलीको प्रशंसा गरिरहेका मन्त्री साह प्रचण्ड र नेपालको भने चर्को आलोचना गर्दै आइरहेका छन् । रौतहटको गरुडामा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री साहले निर्वाचनमा जाँदा पराजित हुने डरले प्रचण्ड–नेपाल समूहले आन्दोलन गरिरहेको दाबी गरे ।

‘अगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनलाई कसैले चाहेर पनि रोक्न सक्दैन,’ मन्त्री साहले भने । असारमा अर्कै प्रयोजनका लागि गरिएको हस्ताक्षरको दुरूपयोग गरी प्रचण्ड–नेपाल समूहले अविश्वासको प्रस्ताव ल्याउन खोजेपछि संसद् विघटन गर्नु परेको उनको भनाइ थियो ।

ऊर्जामन्त्री रायमाझीलाई गाउँ–गाउँमा स्वागत

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री नियुक्त भएपछि गृहजिल्ला अर्घाखाँची पुगेका टोपबहादुर रायमाझीलाई नेता तथा कार्यकर्ताले स्वागत गरेका छन् । उनले अन्य मन्त्रीले जस्तो विरोधको सामना गर्नु परेको छैन ।

नेकपा ओली समूहको राम्रो प्रभाव रहेको अर्घाखाँचीमा मन्त्री रायमाझीको स्वागत गर्न मोटरसाइकल ¥याली निकालिएको थियो । उनी जिल्लाका ६ वटै स्थानीय तहमा पुगेका छन् । स्थानीय तहमा आयोजित अगुवा कार्यकर्ता भेलामा उनको भव्य स्वागत गरिएको छ ।

अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दा भने उनले प्रधानमन्त्री ओलीको कदमको बचाउ गरेका छन् । त्यस्तै, प्रचण्ड र नेपालको भने चर्को आलोचना गर्दै आएका छन् । शनिबार प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि उनले प्रचण्डको आलोचना गरे ।

प्रचण्डले नेतृत्व गरेको पार्टीमा पुस्ता हस्तान्तरण गर्ने नदेखेपछि केपी ओलीसँग सहकार्य गर्ने निर्णय गरेको उनको भनाइ थियो । ‘केपी ओलीले म महाधिवेशनमा अध्यक्ष उठ्दिनँ, दोस्रो पुस्तालाई हस्तान्तरण गर्छु भनेर भन्न त भने, तर प्रचण्डले त्यो भन्ने आँट समेत गरेनन्,’ मन्त्री रायमाझीले भने । उनले प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर अग्रगामी कदम चालेको दाबी गरे ।

वनमन्त्री आलेलाई विमानस्थलबाटै फूलमाला

prembahadur aale.jpg .2021 01 10

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले मन्त्री नियुक्त भएपछि पहिलोपटक गत १७ पुसमा गृहजिल्ला डोटी पुगे । धनगढी विमानमा उत्रेर सँगै आफ्ना समर्थकबाट फूलमालाले स्वागत पाएका मन्त्री आले गृहजिल्ला प्रस्थान गर्दा कैलालीबाटै केही समर्थक र कार्यकर्ता पनि लिएर गए । जिल्ला सदरमुकाम सिलगढीमा नेकपा ओली समूहले आयोजना गरेको सभामा सहभागी भएका भएका उनीसँगै धनगढी र गृहनगर बुडरबाट पनि समर्थक र कार्यकर्ता गएका थिए ।

सिलगढी पुग्दा मन्त्री आलेको गाडीको पछाडि दर्जनभन्दा बढी गाडीको लस्कर थियो । तीमध्ये आधा दर्जनभन्दा बढी गाडी दिपायल–सिलगढीभन्दा बाहिरबाट उनका समर्थक र कार्यकर्ता लिएर आएका थिए । सिलगढीमा तामझामका साथ गरिएको सभामा मन्त्री आलेले डोटीमा सडक, खानेपानीलगायत विकासका विभिन्न योजना अगाडि बढाउने आश्वासन दिए ।

‘प्रधानमन्त्रीले एउटा मगरको छोरालाई विश्वास गरेर जिम्मेवारी दिनुभएको छ । म यो मन्त्रालयलाई अहिलेसम्मकै उत्कृष्ट मन्त्रालय बनाएर देखाउनेछु । तपाईं जनताको शिर निहुरिन नदिने गरी काम गर्नेछु,’ सभामा मन्त्री आलेले भनेका थिए, ‘यो जिल्लामा हुने विकास–निर्माणका काममा म जहिले पनि तत्पर रहनेछु ।’

नेकपा विभाजनसँगै आफ्नो समूहको प्रदेशस्तरीय भेला र छलफलका लागि केही दिनदेखि धनगढीमा रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट गत बिहीबार विद्यालय भवन शिलान्यासका लागि कञ्चनपुरको वेदकोट पुगे । आफ्नो समूहनिकट केही विघटित प्रतिनिधिसभा सदस्य र सुदूरपश्चिम प्रदेश सभा सदस्य लिएर तामझामका साथ पुगेका मन्त्री भट्टले वेदकोट नगरपालिका–८, स्थित बैजनाथ माविको भवन शिलान्यास गरे ।

उनीसँगै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्ना र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी केही दिन धनगढीमै छन् । यहाँ रहँदा ठगुन्ना मन्त्रालयमातहतको एक कार्यालय उद्घाटन र चौधरी निर्वाचन क्षेत्रअन्तर्गत भजनी नगरपालिकामा कार्यक्रममा सहभागी भए । मन्त्री सहभागी भएका पार्टी र अन्य कार्यक्रममा निकै तामझाम देखिन्थ्यो । मन्त्रीको स्वागतमा विमानस्थलमा पनि उस्तै तामझाम देखिएको थियो ।

श्रममन्त्री चौधरीलाई आफ्नै निर्वाचन क्षेत्रमा फूलमालासँगै कालो झन्डा

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी पनि यतिवेला गृह जिल्लामा छन् । उनी जिल्लाका विभिन्न कार्यक्रममा स्वागत थापिरहेका छन् ।

mani thapa kalo jhandaa.jpg .2021 01 10

बुधबारबार भने उनकै निर्वाचन क्षेत्रमा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले कालोझन्डा देखाएका छन् । भजनी नगरपालिका जाने क्रममा पूर्व–पश्चिम राजमार्गको घोडाघोडी नगरपालिकास्थित सुक्खड बजारमा कालोझन्डा देखाइएको हो । गृहक्षेत्रमा रहेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्ना पनि स्वागत थापिरहेका छन् ।

उनले धनगढीमा स्थापना भएको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयको बिहीबार उद्घाटन गरेका छन् । उनले पनि प्रधानमन्त्री ओलीको कदमको बचाउ गर्दै मुलुकमा राजनीतिक परिवर्तन भई संघीयता समेत आइसकेकाले अब सम्पूर्ण राजनीतिक दलसहित सबैको साझा अभियान मुलुकको विकास हुनुपर्ने बताए ।

खानेपानीमन्त्री थापालाई फूलमालासँगै कालो झन्डा

खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापा पनि जाजरकोट पुगेका छन् । उनलाई पनि कार्यकर्ताले फूलमाला लगाएर स्वागत गरेका छन् भने विपक्षीहरूले कालो झन्डा देखाएका छन् ।

जाजरकोट सदरमुकाम खलंगामा आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले प्रधानमन्त्री ओलीको कदमको बचाउ मात्रै गरेनन्, प्रचण्ड र नेपालको चर्को आलोचना पनि गरे । १० वर्षे जनयुद्धको नेतृत्व गरेका प्रचण्डले देश, जनता र पार्टीका लागि केही नगरेको आरोप लगाए ।

प्रचण्डसँगै मोहन वैद्य ‘किरण’, डा. बाबुराम भट्टराई र नेत्रविक्रम चन्द ‘विप्लव’को समेत आलोचना गरेका मन्त्री थापाले प्रधानमन्त्री ओलीको भने प्रशंसा गरे । उनले समकालीन कम्युनिस्ट पार्टीका नेतामा देशको जनमत ओलीको पक्षमा भएको जिकिर गर्दै राष्ट्रवादी भएको दाबी गरे । ‘अक्टुबर क्रान्तिविरुद्ध भएको प्रतिक्रान्तिलाई रोक्न बोल्सेभिकहरू जनतामा पुग्नु परेको थियो । त्यस्तै, नेपालका सन्दर्भमा पनि यतिवेला केपी ओलीविरुद्ध भएको प्रतिक्रान्तिलाई रोक्न पार्टी जनताको बीचमा जानुपर्ने अवस्था आएको छ,’ मन्त्री थापाले भने ।

पार्टीको आगामी महाधिवेशनले उठाउन खोजेको पार्टी विचारलाई कार्यकर्तासम्म पुर्‍याउन र आगामी वैशाखको निर्वाचनमा आफ्नो पक्षमा जनमत सिर्जना गर्न पार्टीको नीति तथा कार्यक्रम लिएर गाउँ, टोल र घर–घरसम्म पुग्ने मन्त्री थापाको भनाइ थियो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७