आन्तरिक पर्यटक आकर्षित गर्दै ‘मौला कालिका’


प्रकाशित मिति : January 10, 2021

नवलपरासी, २६ पुस । कोरोना भाइरसका कारण करिब नौ महिना सुनसान बनेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट–१ मा अवस्थित मौला कालिका मन्दिरमा धार्मिक पर्यटकको चहलपहल शुरु भएको छ । गत पुस १ गतेदेखि मन्दिरमा सर्वसाधारणका लागि पूजा खुला गरिएपछि मन्दिरमा चहलपहल बढ्दै गएको हो ।

नारायणी नदी पुलबाट करिब चार किलोमिटर उत्तरमा पर्ने मौला कालिका मन्दिर ऐतिहासिक धार्मिक पर्यटकीयस्थल भएकाले समेत जिल्ला बाहिरका पर्यटकसमेत आउने गरेका धार्मिक सेवा समिति मौला कालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले बताए । १६औं शताब्दीको इतिहास बोकेको सो मन्दिर धार्मिक हिसाबले देशभर तथा छिमेकी मुलुकमा समेत प्रख्यात भएकाले धार्मिक तीर्थयात्रीका लागि महत्वपूर्ण गन्तव्य बनेको सापकोटाले बताए ।

‘कोभिड–१९ सङ्क्रमणको त्रासका कारण लामो समयसम्म मन्दिरमा सर्वसाधारणलाई पूजा गर्न रोकेका थियौं’, मन्दिरका अध्यक्ष सापकोटाले भने, ‘पुस १ गतेदेखि धार्मिकस्थल खुला गर्ने निर्णयसँगै हामीले पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै मन्दिर खुला गरेका हौँ ।’

मन्दिर खुला भएसँगै नवलपरासी, चितवनलगायत देशका विभिन्न स्थानबाट धार्मिक पर्यटक आउन शुरु भएको उनले बताए । ‘शनिबार तथा बिदाको दिनमा दैनिक तीन हजारभन्दा बढी मानिस आउन थालेका छन्’, सापकोटाले भने, ‘अन्य दिनमा समेत एक हजारभन्दा बढी मानिस पूजाआजाका लागि आउने गर्नुभएको छ ।’ लामो समय बन्द भएको धार्मिक गतिविधि पुनः सञ्चालन हुँदा सोहीअनुसार भक्तजन मन्दिरमा आउन थालेका उनले बताए ।

मन्दिरमा पूजाआजासँगै ‘मर्निङवाक’ का लागि समेत स्थानीयवासी आउने गरेको सापकोटाले बताए । करिब दुई किलोमिटरको पैदलयात्रापछि मन्दिरमा पुग्न सकिने भन्दै सापकोटाले भने, ‘मन्दिरमा पुग्नका लागि एक हजार ८८२ खुट्किला चढ्नुपर्छ ।’ मन्दिरमा खुट्किला निर्माण भएसँगै मन्दिरमा दर्शनका लागि आउने भक्तालुलाई सहजता थपिएको उनको भनाइ छ ।

मौला कालिका मन्दिरलाई पवित्र तीर्थस्थल देवघाटधामसँग जोड्नका लागि समेत पदमार्ग निर्माण गरिएको छ । करिब तीन हजार ४०० मिटर लम्बाइको पदमार्गले देवघाट र मौला कालिका मन्दिरका धार्मिक पर्यटकलाई जोड्नका लागि सहयोग गर्ने पदमार्ग निर्माण समितिका संयोजक टङ्कनाथ पौडेलले बताए । ‘देवघाट आएका धार्मिक पर्यटकलाई मौला कालिका मन्दिरसम्म पु¥याउन हामीले पदमार्ग निर्माण गरेका हौं’, पौडेलले भने, ‘पदमार्गका कारण देवघाट र मौला कालिका मन्दिरको दूरी समेत छोटिएको छ ।’

पदमार्ग निर्माण नहुँदै देवघाट आएका तीर्थयात्रीलाई मौला कालिका मन्दिर पुग्नका लागि नारायणगढ भएर जानुपर्ने बाध्यता रहेको भन्दै पौडेलले भने, ‘अब त्यो झन्झट गर्नु पर्दैन । उहाँहरु देवघाटबाट सिधै करिब साँढे तीन किलोमिटरको पैदलयात्रापछि मौला कालिका मन्दिर पुग्न सक्नुहुनेछ ।’ पदमार्ग निर्माणपछि देवघाटबाट मौला कालिका जान चाहने धार्मिक पर्यटकको समयको समेत बचत भएको र यसले दुवै ठाउँमा पर्यटक बढाउन केही भए पनि मद्दत पुगेको उनको भनाइ छ ।

मौला कालिका मन्दिर पुगेर दर्शन गरेपछि मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण यहाँ टाढा–टाढाबाट तीर्थयात्री आउने गरेका छन् । बाँकेको कोहलपुरबाट मौला कालिका मन्दिर दर्शनका लागि आएका कृष्ण न्यौपानेले मन्दिर पुगेपछि आफ्नो मन हलुका भएको बताए । ‘मन्दिरका बारेमा मैले आफन्तबाट धेरै सुनेको थिएँ, आज आफैँले अनुभूति गर्न पाएँ’, न्यौपानेले भने, ‘मन्दिरको सुन्दरता, यहाँको प्राकृतिक वातावरण तथा माताको सानिध्यतामा पुग्दा सबै दुःख पीडा बिर्सिने रहेछ ।’

सर्वसाधारणका लागि पुस १ गतेदेखि मन्दिर खुला गरिएको भए पनि आवश्यक स्वास्थ्य सतर्कता बिना मन्दिर प्रवेशमा निषेध गरिएको छ । गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले मन्दिर प्रवेश गरेर दर्शन गर्नका लागि अनिवार्यरूपमा मास्क लगाउनुपर्ने तथा भौतिक दूरी कायम गर्नुपर्ने बताए । ‘बिदा तथा महत्वपूर्ण चाडपर्वको दिनमा मन्दिरमा भीडभाड धेरै नै हुने गरेको छ’, पौडेलले भने, ‘यस्तो अवस्थामा स्वास्थ्य सावधानी पूर्णरूपमा पालना गराउन सुरक्षाकर्मी परिचालन गरेर मानिसलाई मन्दिर प्रवेश गर्ने व्यवस्था गरेका छौँ ।’

सार्वजनिक बिदाको दिन बाहेक अन्य दिन नेपाल प्रहरीले मात्रै सुरक्षा दिँदै आएको मन्दिरमा सार्वजनिक बिदा र चाडपर्वको दिनमा सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी समेत परिचालन गरिएको पौडेलले बताए । मन्दिर र पदमार्गस्थलमा फोहर हुन नदिन विभिन्न सङ्घसंस्थाको सहकार्यमा नियमित सरसफाइ गरिँदै आएको पौडेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्