बुटवलको चौराहा–गोलपार्क सडकका घर–टहरामा चलाइयाे डाेजर


२६ पुष २०७७, आईतवार
1375810094265672920920034923004399465059576n 1012021040409 1000x0 3

बुटवल, २६ पुस । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्म सडक क्षेत्र मिचेर बनाइएका घर–टहरासहितका संरचना भत्काउन थालिएको छ । व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया बुटवल सडकले २४ घण्टे समयसीमा दिएर आइतबारदेखि घर–टहरा भत्काउन थालेको हो ।

बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक ६ लेनको बनाउने क्रममा केही घरधनीले अदालतमा मुद्दा हालेपछि सडक विस्तारको काम डेढ वर्षदेखि रोकिएको थियो । पछिल्लो पटक सडक विस्तार आयोजनाले २४ घण्टे अल्टिमेटम दिएको थियो । उक्त म्यादमा केही घरधनीले सडक क्षेत्र मिचेर बनेका संरचना भत्काउन शुरु गरे पनि केहीले अटेर गरेपछि आइतबार बिहानै ठूलो संख्यामा प्रहरी परिचालन गरी बुटवलको ट्र्राफिक चोकबाट सडक मिचेर बनाएका घर टहरा भत्काउन शुरु भएको हो ।

घरधनी नारायणीदेवि प्रधानलगायतका २४ जनाले अदालतमा मुद्दा हालेपछि सडक विस्तार रोकिएको थियो । तर, पछिल्लो रिट निवेदनमा गत असार ९ गते दिएको अल्पकालिन आन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश सर्वोच्च अदालतले पुस २० गते फैसला गरेपछि डिभिजन सडक कार्यालय बुटवललाई सडक विस्तार गर्ने बाटो खुलेको थियो ।

सर्वोच्च अदालतले सडक विस्तार गर्न बाटो खोलिदिएसँगै काम अघि बढाइएको हो । घरधनीहरूका तर्फबाट परेको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले पुस २० गते अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहन नपर्ने निर्णय गरेको थियो । राजमार्ग चौराहादेखि चिडियाखोला खण्डको साढे ३ किलोमिटर सडक घरधनीको अवरोधकै कारण विस्तार हुन सकेको थिएन ।

सडक अतिक्रमण गरी बनाइएका संरचना तथा घरटहरा खाली गर्न घरधनीलाई लिखित, माइकिङ तथा विद्युतीय माध्यमबाट सूचना दिइएको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले जानकारी दिएका छन् । उनका अनुसार यसरी सडक अतिक्रमण गरी बनाइएका संरचना नहटाए कार्यालय आफैले हटाएर घरधनीसँग खर्च असुल उपर गरिनेछ ।

आयोजनाले सडकको मध्य भागबाट दायाँ–बायाँ २५–२५ मिटर क्षेत्रभित्र बनेका संरचना खाली गराउन लागेको हो । उक्त सडक खण्डमा ३१० घर र बाँकी ४७ खाली जग्गा गरी ३ सय ५७ जनाले सडक सीमा मिचेकोमा २ सय जनाभन्दा बढीले यसअघि नै सडकको भाग खाली गरिसकेका छन् । बाँकी घर तथा घरधनी चाहिँ अदालत गएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७