कांग्रेस चुनावबाट भाग्दैन : सभापति देउवा


२६ पुष २०७७, आईतवार
deuwa scaled

काठमाडौं, २६ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस चुनावबाट नभाग्ने स्पष्ट गरेका छन् ।

आइतबार काठमाडौंमा, प्रजातान्त्रिक विचार समाजले प्रकाशन गरेको नेपाली कांग्रेसका संस्थापक नेता सूर्यप्रसाद उपाध्याय विशेषांक विमोचन गर्दै सभापति देउवाले कांग्रेस अदालती निर्णयको प्रतीक्षामा रहेको बताए ।

प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटन असंवैधानिक हो भनेरै पार्टी आन्दोलनमा गएको भन्दै उनले अदालतबाट संसद पुनस्र्थापना नभई चुनावमा जाने निर्णय सदर भए कांग्रेस मैदानबाट नभाग्ने पनि प्रष्ट गरेका हुन् ।

ROS KTM 64873272

उनले भने, ‘सबैभन्दा ठूलो त जनताको अदालत हो । हामी किन भाग्ने ? फेरि कांग्रेस त कानुन र अदालतको सम्मान गर्ने पार्टी हो । अदालतमा विचाराधीन रहेको विषयलाई प्रभावित पार्ने काम हामी गर्दैनौं । यो कांग्रेसको परम्परा हो ।’

कार्यक्रममा सभापति देउवाले सूर्यप्रसाद उपाध्यायको पार्टीमा ठूलो योगदान भए पनि सम्मान हुन नसकेको स्वीकार्दै आगामी दिनमा उनको सम्मानमा कमी हुन नदिने बचनवद्धता जनाए ।
पञ्चायतको समयमा सूर्यबाबुकै सहयोगमा देशभित्र कांग्रेस बचाउने काम भएको भन्दै उनले उपाध्यायको सहयोगबाटै तत्कालीन समयमा प्रजातन्त्रवादीहरुले संरक्षण पाएको पनि बताए ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, गगन थापा, विश्वप्रकाश शर्मालगायतका अधिकांश नेता प्रधानमन्त्रीको संसद विघटनको कदम अलोकतान्त्रि र असंवैधानिक भन्दै सडक सरकारविरुद्ध सडक आन्दोलन चर्काउनु पर्ने बताइरहेका बेला देउवा भने अझै दोधारमै रहेका छन् ।

उनले बाहिर सरकारको विरोध गरे जस्तो गरे पनि सरकारको असंवैधानिक कदमको खुलेर विरोध गर्न नसकेको आरोप स्वयम कांग्रेसका नेताहरुले नै लगाउँदै आएका छन् । अहिले कांग्रेस सशक्त प्रतिपक्षको भूमिका निभाउन नागरिकले जिम्मेवारी दिए पनि सभापति देउवा राजनैतिक लाभको मौका हेरेर बसेको चर्चा राजनीतिक वृत्तमा हुने गरेको छ ।

कार्यक्रममा कांग्रेस महामन्त्री डा. सशांक कोइरालाले प्रजातन्त्र र कांग्रेस पार्टीमा सूर्यबाबुको योगदान अतुल्य रहेको भन्दै बीपी कोइरालालाई छुटाउनका लागि उनले गरेको समन्वयकारी भूमिका उल्लेख्य रहेको स्मरण गरे ।

समाजका सभापति डा. केदारनरसिंह केसीले प्रजातान्त्रिक आन्दोलनमा सूर्यप्रसाद उपाध्यायले पु¥याएको देनको अवमूल्यन भएको देखेर संस्थाले विशेषांक प्रकाशन गरेको भन्दै कांग्रेसले आफ्ना संस्थापक नेतालाई सम्मान गर्न सक्नुपर्ने बताए । कार्यक्रममा सांसद दिव्यमणि राजभण्डारी, लोकेश ढकाललगायत वक्ताले सूर्यप्रसाद उपाध्यायको योगदानबारे आ–आफ्ना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७