टोखामा दम्पती मृत फेला : पतिको भन्दा १० घण्टापछि पत्नीको मृत्यु


२७ पुष २०७७, सोमबार
Murder

काठमाडौं, २७ पुस । काठमाडौंको टोखा नगरपालिका–३ स्थित ग्रिनभिला हाउजिङमा मृत अवस्थामा फेला परेका एक दम्पतीको मृत्युको कारण अझै खुलेको छैन । उमेश केसी र उनी पत्नी सुदीक्षा गिरीको शव शुक्रबार राति अपार्टमेन्टमा भेटिएको थियो ।

उमेशको शव ओछ्यान र सुदीक्षाको घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । शुक्रबार राति नै दुवै शव त्रिवि शिक्षण अस्पताल पुर्‍याएर प्रहरी अनुसन्धानमा जुटेको छ ।

घटनाको मुचुल्का तयार पार्न खटिएका एक प्रहरीका अनुसार उमेशको शव अर्धनग्न र ओछ्यानमा पल्टिएको अवस्थामा भेटिएको थियो । उनको देब्रेतर्फको टाउकोमा चोटपटक लागेको थियो । नजिकै मसला पिस्ने सिलौटो रगतले लतपतिएको अवस्थामा भेटिएको छ । सुदीक्षाको शव सलले पासो लगाइएको अवस्थामा प्रहरीले फेला पारेको थियो । त्रिवि शिक्षण अस्पतालमा दुवै शवको आइतबार पोस्टमार्टम गरिएको छ । पोस्टमार्टमको विस्तृत रिपोर्ट आउन अझै एक साता लाग्ने जानकारी चिकित्सकले प्रहरीलाई दिएका छन् ।

चिकित्सकले पोस्टमार्टमको प्रारम्भिक रिपोर्टमा उमेशको मृत्यु ‘ब्लन्ट फोर्स इन्जुरी’ बाट भएको उल्लेख गरेका छन् । उमेशको मृत्यु भएको करिब १०–१२ घण्टापछि सुदीक्षाको मृत्यु भएको जानकारी चिकित्सकले प्रहरीलाई गराएका छन् । घटनास्थलबाट बरामद गरिएका उमेश र सुदीक्षाका मोबाइल फोन लक गरिएकाले प्रहरीले खोल्न सकेको थिएन । दुवै मोबाइल लक खोलेर प्रमाण जुटाउन विधि विज्ञान प्रयोगशालामा पठाइएको छ ।

महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले हत्यापछि सुदीक्षाले आत्महत्या गरेको प्रारम्भिक अनुमान भए पनि मोबाइलबाट प्राप्त हुने तथ्य र पोस्टमार्टम रिपोर्टपछि मात्रै सबै कुरा खुल्ने बताए । घटनास्थलमा मृतक सुदीक्षाकी दिदी शर्मिला भान्सातर्फको ढोकाबाट प्रवेश गरेको भनिएको विषयमा प्रहरी बढी केन्द्रित भएर अनुसन्धानमा जुटेको छ ।

शर्मिलाले आफू बिहीबार बिहान ११ बजेतिर बहिनीको कोठामा पुग्दा ढोका लगाएको र भान्सातर्फको ढोका ठेलेर भित्र पस्दा दुवैलाई मृत अवस्थामा फेला पारेको अनि आत्तिएर आफू बाहिर निस्किएको बयान दिएकी छन् । तर उनले किन त्यो घटना देखेर पनि करिब १० घण्टापछि मात्रै प्रहरीलाई खबर गरिन् भन्ने पनि शंकाको घेरामा छ । आफू आत्तिएर घटनाबारे जानकारी गराउन नसकेको जिकिर उनको छ । तर प्रहरीले यसलाई सहज रूपमा लिएको छैन । उनलाई कागज गराएर बोलाएका बेला उपस्थित हुने सर्तमा छोडिएको छ ।

नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल यस घटनाका पछाडि चारवटा कारण हुन सक्ने बताउँछन् । ‘घरायसी विवाद, कुराकानीका क्रममा निम्तिने आवेग, सुदीक्षा अमेरिका जान नपाएको र त्यसले निम्त्याउने कटुता, विवाह भएर पनि सन्तान हुन नसकेको र अन्तिममा तेस्रो पक्षको प्रवेश र यसमा उमेश–सुदीक्षालाई सिध्याएर अर्को पक्षले लिएको हुन सक्ने आर्थिक लाभ, यी कारणले घटना घटेको हुन सक्छ,’ उनले भने, ‘अनुसन्धानका सबै दायरालाई खुला राखेर तथ्य र प्रमाणमा प्रहरी केन्द्रित हुनुपर्छ ।’

अध्ययनका क्रममा २०७२ वैशाखमा अमेरिका पुगेका उमेश गएको कात्तिक ७ गते नेपाल आएका थिए । उनी माघ १ मा अमेरिका जाने तयारीमा थिए । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७