गाडीले ठक्कर दिएर मान्छे मार्ने ‘भीआइपी’ छुटाउन जग्गा दलालदेखि बिचौलियासम्म सक्रिय


प्रकाशित मिति : January 11, 2021

रुपन्देही, २७ पुस । मदिरा सेवन गरी सवारी चलाउन कानुनतः बन्देज छ । मदिरा सेवन गर्नेले गाडी चलाउँदा दुर्घटना भई कसैको मृत्यु भएमा चालकलाई कर्तब्य ज्यानमा मुद्दा चल्छ ।

तर मदिरा सेवन गरेका ब्यक्तिले चलाएको गाडीले ठक्कर दिई गम्भीर घाइते बनाएका ब्यक्तिको अस्पतालमा लाने क्रममा मृत्यु भए पनि प्रहरीले मुद्दा कमजोर बनाई चालकलाई उन्मुक्ति दिन चलखेल गरिरहेको छ ।

घटना रुपन्देहीको हो । रुपन्देहीको तिलोत्तमामा एक ब्यक्तिको ज्यान गयो । मदिरा सेवन गरेर सवारी हाँकेका प्रवीण शाक्यले चलाएको गाडीले रुपन्देहीको तिलोत्तमास्थित जानकीनगरमा पैदल हिंडिरहेका २४ बर्षीय महेन्द्र मरासिनीलाई ठक्कर दिएको थियो ।

शाक्यले मदिरा सेवन गरी चलाएको बा १९ च २०६८ नम्बरको गाडीको ठक्करबाट गम्भीर घाइते भएका मरासिनीको क्रिमसन अस्पतालमा पुर्‍याउँदा मृत्यु भइसकेको थियो । रुपन्देहीको शुद्धोधन गाउँपालिका–२ का मरासिनीलाई २०७७ पुस १७ गते नयाँ बर्षका दिन बुटवलबाट भैरहवातर्फ तीव्र गतिमा हाँकिएको निशान कारले ठक्कर दिएको थियो ।

मदिरा सेवन गरी गाडी हाँक्ने चालक प्रवीण शाक्य लिटिल बुद्ध होटलका सञ्चालक हुन् । भैरहवा र बुटवलमा जग्गा कारोबारी समेत रहेका उनलाई प्रहरीले दुर्घटनापछि पक्राउ गरे पनि हिरासतमा नराखी अस्पतालमा राखेको छ । ज्वाईको सम्मान दिएर उनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । शाक्यले अस्पतालमै बसेर प्रहरी, सरकारी वकिल र अदालत सेटिङ गरी १३ दिनमै छुट्ने तानाबाना बुनेका छन् । अस्पतालबाटै उनले निर्वाधरुपमा मोवाइल चलाउने सुविधा पाएका छन् ।

भैरहवाका नामूद जग्गा कारोबारीदेखि बिचौलियाहरुले उनलाई छुटाउन जिल्ला प्रहरी कार्यालयका एसपी प्रवीण पोखरेलसँग डिल गरिसकेका छन् । एसपी पोखरेलले इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी प्रतितसिंह राठौरलाई कमजोर बनाएर सरकारी वकिलमा मुद्दा पेश गर्न दबाब दिएका छन् ।

शाक्य आफू प्रधानमन्त्री केपी ओलीको निकट हुँ भन्दै जिल्ला न्यायाधीशलाई समेत मिलाइसकेको भन्दै १३ दिनमा छुट्ने चलखेलमा छन् । शाक्यले मदिरा सेवन गरी गाडी चलाएको प्रहरी अनुसन्धानका क्रममा खुलिसकेको छ ।

भीआइपी चालक शाक्यको सवारी अनुमतिपत्र (लाइसेन्स) समेत नवीकरण नभएको प्रमाण नयाँपेजलाई प्राप्त भएको छ । प्रहरीले दुर्घटनापछि शाक्यलाई अस्पतालमा मापसे परीक्षण गराएको थियो । परीक्षण गराउँदा उनले मापसे सेवन गरेको पुष्टि भएको डीएसपी प्रतितसिंह राठौरले बताएका छन् ।

लाइसेन्स समेत नवीकरण नभएका र मापसे गरी सवारी चलाएर मान्छे मारेका भीआइपी चालक शाक्यलाई कर्तब्य ज्यानमा मुद्दा चलाउनुपर्ने माग पीडित मरासिनीका परिवारले गरेका छन् । तर प्रहरीले सरकारी वकिलसँग सेटिङ मिलाई मुद्दा कमजोर बनाउने चलखेल भइरहेको छ । पीडितलाई न्याय दिनुपर्ने ठाउँमा उल्टै आर्थिक चलखेल गरी मिलापत्र गराउने काममा प्रहरी नै लागेको गुनासो पीडितका आफन्तको छ । यो घटनाको बारेमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयदेखि प्रहरी प्रधान कार्यालयसम्म चर्चा भइसकेको छ ।

लुम्बिनी प्रदेश प्रहरीका प्रमुख डीआइजी रविन्द्रबहादुर धानुकलाई यस्तो लापरबाहीपूर्ण ढंगले घटना घटाएको काण्डको रिपोर्टिङसम्म नगरेको पाइएको छ । डीआइजी धानुकले आफूलाई यसको जानकारी नभएको बताए । उनले भने, १७ गतेकै घटना रहेछ, यत्रो दिनसम्म मलाई जानकारी दिएनन् । अहिले थाहा पाएँ, मैले कानुन अनुसार कारबाही गर्न निर्देशन दिइसकेको छु ।

प्रतिक्रिया दिनुहोस्