प्रचण्ड-नेपाल समूहद्वारा प्रदेश १ का मुख्यमन्त्री राईसहित ८ जनालाई निलम्बन


२७ पुष २०७७, सोमबार
Sherdhan Rai

काठमाडौं, २७ पुस । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूह प्रदेश १ को संसदीय दलले मुख्यमन्त्री शेरधन राईसहितका आठ जनालाई सांसद पदबाट निलम्बन गरेको घोषणा गर्दै कार्यान्वयनका लागि प्रदेशसभामा सिफारिस गरेको छ। प्रचण्ड–नेपाल पक्षले प्रदेशसभाको कुनैपनि गतिविधिमा सहभागी हुन नपाउने गरी सोमबार उनीहरुलाई निलम्बन सिफारिस गरेको हो ।

मुख्यमन्त्री राई सहित आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ्, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेश सभा सदस्यत्रय इन्द्रमणी पराजुली, अम्बिका थापा र विमल कार्कीलाई निलम्बन गरिएको हो ।

दलको कुनैपनि बैठकमा उपस्थित नभई पार्टी र सरकारको हित विपरित गतिबिधिमा संलग्न रहेकाले प्रदेशसभाको कुनैपनि गतिविधिमा संलग्न नहुने गरी नेकपाको संसदीय दलको बिधान २०७६ बमोजिम तीन महिनाका लागि निलम्बन गरेको प्रचण्ड नेपाल समूहका संसदीय दलका नेता भीमप्रसाद आचार्यद्वारा हस्ताक्षरित निलम्बन पत्रमा उल्लेख छ ।

पुस १५ गते संसदीय दलको नेताबाट मुख्यमन्त्री राईलाई हटाएर भीमप्रसाद आचार्यलाई चयन गरेपछि पुस १९ गते बसेको संसदीय दलको बैठकमा उपस्थित नभएको र पार्टी हित बिपरित काम गरेको भन्दै उनीहरुलाई स्पष्टिकरण सोधेको थियो । दाहाल–नेपाल समूहले पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको छ । उक्त प्रस्तावमा हस्ताक्षर गरेका मध्ये मुख्यमन्त्री राईले स्पष्टिकरण सोधी जवाफ नदिने १६ जनालाई तीन महिनाका लागि निलम्बन गरिसकेको छ ।

नेकपाका ६७ प्रदेशसभा सदस्यमध्ये ३७ जनाको हस्ताक्षरसहित प्रदेशसभामा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका मध्ये कला घले र वसन्तदेवी यादव मुख्यमन्त्री राई समूहमा आइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७