प्रतिगमनविरुद्ध पत्रकारहरुको संघ-संगठन मोर्चाबन्दीमा

पत्रकार महासंघको महाधिवेशनलाई आन्दोलनकै रुपमा मनाउन आह्वान


२७ पुष २०७७, सोमबार
Nepali Journalist

काठमाडौं, २७ पुस । विभिन्न सञ्‍चार सम्बद्ध संघ–संगठनका नेताहरुले प्रतिगमन र निरङ्कुशताका विरुद्ध बृहत् मोर्चाबन्दी जरुरी भएको बताएका छन् ।

उनीहरुले प्रधानमन्त्रीको कदमले मुलुक पश्चगमनतिर धकेलेकाले सम्पूर्ण पत्रकार/संचारकर्मीले पूर्ण लोकतन्त्र र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि एकताबद्ध भएर आन्दोलनमा होमिनुपर्ने बताए ।

आसन्न पत्रकार महासंघको महाधिवेशनलाई आन्दोलनकै रुपमा मनाउन आह्वान गर्दै नेताहरुले त्यसका लागि तयारी थाल्नु पर्नेमासमेत जोड दिएका थिए ।

राजधानीको संवाद डबलीमा सोमबार भएको ‘अहिलेको राजनीतिक जटिलता र पत्रकारको भूमिका’ विषयक अन्तर्क्रियामा प्रेस संगठन नेपालका संयोजक महेश्वर दाहालले प्रधानमन्त्री केपी ओलीले मुलकलाई पछाडि धकेलेकाले उनको अलोकतान्त्रिक कदमविरुद्ध आन्दोलित हुनुपर्ने बताए ।

दाहालले भने, ‘प्रधानमन्त्रीको कदम एकात्मक सामन्ती प्रणालीतर्फ उन्मुख छ, त्यसलाई रोक्न मोर्चाबन्दी कसौं ।’ दाहालले पत्रकार महासंघको भावी नेतृत्व साझा चरित्रको हुनुपर्ने र लोकतन्त्रको रक्षा र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई मूल एजेन्डा बनाएर आन्दोलनमा होमिनुपर्ने सुझाव दिए ।

नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले लोकतन्त्रको रक्षार्थ पत्रकारहरु जहिले पनि लडिरहेको इतिहास स्मरण गर्दै अहिलेको संकटबाट मुक्ति पाउन संयुक्त आवाज लिएर आन्दोलित हुनुपर्ने धारणा राखे । उनले अबको महासंघको नेतृत्व साझा चरित्रको बनाउन जस्तोसुकै त्याग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । ‘मुख्य कुरा गुम्न लागेको लोकतन्त्रको रक्षा गर्नु हो, यो साझा मुद्धामा युनियन सबै पत्रकारहरुसँग हातेमालो गर्न तयार छ,’ शिवाकोटीले भने ।

क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले अहिलेको सरकार प्रतिगामी र फासिवादी चरित्रको भएकाले त्यसको विकल्पमा अग्रगामी एजेन्डा लिएर पत्रकारहरु आन्दोलित हुनुपर्ने विचार व्यक्त गरे । प्रेस स्वतन्त्रको रक्षा, जनजीविकाको सुनिश्चितता र जनतामा आधारित गणतन्त्र प्राप्तिका लागि सबै तप्काले संयुक्त संघर्षको उठान गर्नुपर्ने बताए ।

क्रान्तिकारी पत्रकार संगठन, नेपालका उपाध्यक्ष जन्मदेव जैसीले असफलसिद्ध संसदवादको विकल्प नखोजी पत्रकारहरुका आधारभूत समस्या समाधान नहुने र जनताका राजनीतिक तथा मौलिक अधिकारको ग्यारेन्टी नहुने भएकाले जनताले प्रत्यक्ष अनुभूति गर्ने खालको पूर्ण जनतान्त्रिक व्यवस्था स्थापनाका लागि पत्रकार, नागरिक समाज, बुद्धिजीवी आम नागरिक मिलेर संयुक्त आन्दोलनको उठान गर्नुपर्ने बताए । पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहेका जैसीले महासंघ श्रमजीवीहरुको आस्थाको केन्द्र र साझा चरित्रको बनाउन सबै पक्षले दृढता व्यक्त गर्नुपर्नेमा जोड दिए ।

प्रगतिशील पत्रकार संघका निवर्तमान अध्यक्ष नारायण शर्माले संकटको भूमरीमा फसेको मुलुकलाई जोगाउन पत्रकारहरुको भूमिका महत्त्वपूर्ण हुने बताए । पछिल्लो राजनीतिक संकट ठूलो डिजाइनबाट उत्पन्न भएको प्रष्ट्याउँदै शर्माले संयुक्त दबाब सिर्जना गरेर लोकतन्त्रको रक्षा गर्नुपर्ने धारणा राखे । उनले पत्रकार महासंघलाई साझा संस्थाको रुपमा स्थापित गर्न ठूला संगठनहरुले त्याग गर्दै सबैलाई समेटेर लैजाने दृढता देखाउन सुझाए ।

प्रेस नेपालका अध्यक्ष केशव अर्यालले लोकतान्त्रिक विधिबाट चुनिएको वर्तमान ओली नेतृत्वले त्यही आधारलाई भत्काउँदै जनताको स्वतन्त्रतामाथि धाबा बोल्नेतिर मुखरित भएकोले पत्रकार तथा सञ्‍चारजगत्‌ले त्यसविरुद्ध लड्ने बेला आएको बताए ।

मधेसी पत्रकार मञ्चका अध्यक्ष मोहन सिंहले जनयुद्ध, जन(आन्दोलन तथा मधेस आन्दोलनबाट निर्माण भएको संघीयतालगायत उपलब्धिहरुलाई उल्टाएर प्रतिगमन लाद्‌ने ओली सरकारलाई पत्रकार र आम जनसमुदाय मिलेर संयुक्त आन्दोलनको बलमा लोकतन्त्रलाई संस्थागत गर्नुपर्ने बताए । मिडिया नेपालका अध्यक्ष गोपाल पौड्यालले वर्तमान राजनीतिक संकटलाई सम्पूर्ण लोकतान्त्रिक समुदायले अहिलेको अलोकतान्त्रिक सरकारको जनवीरोधी रबैयाको भण्डाफोर गर्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७