ओलीको ‘अक्षम्य’ अपराध र अजय जनता


२७ पुष २०७७, सोमबार
Shambhu Shrestha 2

भनिन्छ, मानिसलाई एकपटक मुर्ख बनाउन सकिन्छ, पटक–पटक सकिन्न । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलदेखि पार्टी एकता गर्दासम्म कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपटक ‘मुर्ख’ बनाएका रहेछन् भन्ने कुरा विस्तारै खुल्दै जान थालेको छ । संसद् विघटनपछि सञ्चार माध्यममा आएको प्रचण्डको अभिव्यक्ति सुन्दा व्यर्थै पार्टी एकता गरिएछ भन्ने ठाउँमा प्रचण्ड पुगेका छन् । तत्कालीन एमालेसँग चुनावी गठबन्धन नगरेको भए उनले यो पीडा र अपमान सहनुपर्ने थिएन । एमालेसँग माओवादीको चुनावी एकतापछि पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पटक–पटक प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री बन्न आग्रह नगरेका होइनन् । तर, प्रचण्डले आफू जीवनभर कम्युनिष्ट आन्दोलनमा लागेको हुँदा कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्नु भन्दा पार्टी एकता गरेर पुष्पलालको सपना साकार पार्न हिँडे । उनको यो सोच नेपालको कम्युनिष्ट आन्दोलनमा दूरगामी प्रभाव पार्ने सोच हो । हुन पनि गणतन्त्र स्थापना भइसकेपछि आफू दुई पटक, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईलाई एक-एक पटक र केपी शर्मा ओलीलाई दुई-दुई पटक प्रधानमन्त्री बनाउने प्रचण्ड नै हुन् । यदि उनमा प्रधानमन्त्री पदको लोभ भइदिएको भए, पार्टी एकता गर्दा ओलीसँग गरेको आलोपालो सहमति पनि त्याग्ने थिएनन् । यो उनको महानतालाई ओलीले बुझ्न सकेनन् । ओलीले उनको त्यही कमजोरी समाएर उनको राजनीतिक भविष्य समाप्त पार्न हिँडे । त्यसको परिणाम संसद् विघटन हो ।

ओलीले कम्युनिष्ट आन्दोलन नै क्षतविक्षत पार्छ भनेरै उनीमाथि अंकुश लगाउन प्रचण्डले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एउटा पद छाड्न ओलीलाई दबाब दिन बाध्य भए । त्यसको जवाफमा ओलीले अध्यक्ष छाड्नुपरे महाधिवेशनपछि छाड्छु, प्रधानमन्त्री छाड्नु परे आगामी निर्वाचनपछि छाड्छु भन्नेजस्ता धम्कीपूर्ण भाषा बोले । ओलीको यो धम्कीपछि प्रचण्ड थप तनावमा परे । किनभने, पार्टी एकता गर्दा एकता महाधिवेशनबाट प्रचण्डलाई सर्वसम्मत अध्यक्ष बनाउने सहमति ओलीले गरेका थिए । तर, जब प्रचण्डले २०७६ मंसिर ४ गते आधा आधा कार्यकाल प्रधानमन्त्री चलाउने सहमति सच्याए, त्यसपछि प्रचण्डलाई अध्यक्ष नबनाउन ओलीले ‘जबज’ मान्नेहरु एक ठाउँ उभिनुपर्ने बखेडा झिके । त्यसपछि प्रचण्ड र ओलीको बीच सम्बन्ध चिसिन थाल्यो । किनभने, पार्टी एकता गर्दा ‘जबज’ र एक्काइसौं शताब्दीको जनवादको छिनोफानो एकता महाधिवेशनमा गर्ने सहमति भएको थियो । त्यसबीच पनि एकता जोगाउन महासचिव विष्णु पौडेलको संयोजकत्वमा एउटा कमिटी गठन भयो । त्यो कमिटीले एक साताभित्रै दुवै अध्यक्षलाई कामको जिम्मेवारी बाँडफाँड ग-यो । जुन कुरा ओली र प्रचण्डले स्वीकारे । लगत्तै भएको मन्त्रिपरिषद्को हेरफेर र राजदूत नियुक्तिमा फेरि पनि ओलीले एकलौटी गरे ।

महासचिव कार्यदलले स्पष्टरुपमा सरकार सञ्चालनको सम्पूर्ण जिम्मा प्रधानमन्त्रीलाई र पार्टी सञ्चालनको सम्पूर्ण जिम्मा कार्यकारी अध्यक्षलाई दिने भनिएको थियो । त्यसमा सरकार र पार्टीबीचको समन्वय मिलाउन सरकारले गर्ने काममा पार्टीले सहयोग पु-याउन पार्टीको सुझाव सल्लाहमा सरकारले काम गर्ने भनिएको थियो । पार्टीलाई विधि, पद्धतिसम्मत ढंगले सञ्चालन गर्न यो प्रक्रिया अपनाइएको थियो । तर, ओलीमा ‘मै पार्टी, मै सरकार’ भन्ने दम्भ पलायो । पार्टीको लगाम उनलाई मन परेन र असनको ‘साँढे’जस्तै उन्मत्त भएर उनले संसद् भंग गर्ने अपराध गरे । उनको यो अपराध नेपाल कम्युनिष्ट पार्टीको इतिहासमा ‘अक्षम्य’ अपराधका रुपमा लेखिनेछ ।

यसबीच पनि ओली र प्रचण्ड एक अर्कालाई सिध्याउने खेलमा लागे । किन यस्तो अवस्था आयो भन्ने कुराको विश्लेषण गर्नेतिर ओली लागेनन् । यदि ओलीले आफूलाई सच्याएको भए उनले हाँगामा बसेर रुख काट्नुपर्ने अवस्था आउने थिएन । आफूमाथि नेकपाकै सांसदहरुले संसद्मा अविश्वास प्रस्ताव ल्याउँछन् र आफूले पद त्याग गर्नुपर्छ भनेरै उनले सार्वभौम संसद् भंग गरे । भन्न त धेरैले यो घटनालाई प्रचण्ड–माधवसँग रिस फेर्न ओलीले यसो गरेको भनेका छन् । तर, विघटन पूर्वको विदेशीहरुसँगको रहस्यमय भेटघाटहरुलाई हेर्दा विघटनको यो श्रृंखला वैशाख १७ र २७ गते गर्ने भनिएको चुनावसँग मात्रै जोडिएको छैन ।

वैशाखमा निर्वाचन नगराएर अहिलेको संविधान उल्टयाएर पुनःउत्थानवादी, प्रतिगामी शक्तिलाई सत्ता सुम्पने षड्यन्त्र यो विघटनभित्र लुकेको छ । त्यसैले ७० वर्षदेखि जनताको बलिदानीबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन नेपाली जनताले फेरि एकपटक बलिदानी दिनुपर्ने बेला आएको छ । ‘एक जुगमा एक दिन एक पटक आउँछ, उथलपुथल हेरफेर ल्याउँछ’ भन्ने कुरा ओली गुटले बिर्सनु हुँदैन । इतिहासमा अहिलेसम्म जनता हारेको इतिहास छैन । जनता नै इतिहासको अजय शक्ति हो । जनताले नै इतिहास बनाउने हो । अहिलेसम्म इतिहासमा जति पनि शासकहरु ढलेका छन्, ती शासकहरु यस्तै निरंकुश, तानाशाही भएर ढलेका छन् । ओलीलाई इतिहासले सच्चिने समय अझै दिएको छ । त्यस समयसम्म पनि ओलीले आफ्नो अपराध सच्याएनन् भने उनलाई इतिहासले पनि माफी दिने छैन । सबैलाई चेतना भया !

-दृष्टि साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७