यसरी गरिँदैछ प्रचण्ड–माधव एकता


२८ पुष २०७७, मंगलवार
prachanda madhav balkhu 1 O1pvcvGABz

काठमाडौं, २८ पुस । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक रूपमा विभाजित भएपछि दाहाल–नेपाल समूहले पार्टी एकीकरण प्रक्रिया पूरा गर्दा साबिक एमालेले नेतृत्व गरेको र साबिक माओवादी केन्द्रले नेतृत्व गरेको पंक्तिलाई यथावत् राख्ने गरी मापदण्ड तय गरेको छ ।

पुस १९ गते बसेको स्थायी कमिटीको बैठकबाट सो समूहका अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा पार्टी एकताको बाँकी काम पूरा गर्न बनेको कार्यदलले त्यस किसिमले मापदण्ड तयार पारेको हो । ‘हामीले एउटा विधि र मापदण्ड तय गरेका छौं,’ कार्यदलका एक सदस्यले भने, ‘त्यसैअनुसार पदपूर्ति हुनेछन् ।’

प्रदेश, जिल्ला कमिटी र जनसंगठनहरूमा नेतृत्व खाली भएपछि सो समूहले एकता प्रक्रियालाई पूरा गर्ने प्रक्रिया अघि बढाएको हो । ओली समूहले दाहाल–नेपाल समूहलाई हटाउने प्रक्रिया अघि बढाइसकेको छ । साथै दाहाल–नेपाल समूह छाडेर ओली समूहमा गएका जिल्ला कमिटीका अध्यक्ष तथा प्रदेश कमिटी र जनसंगठनका अध्यक्ष तथा सचिवहरूको पदपूर्ति गरिने भएको छ ।

उनीहरूले सबै तहमा नेतृत्व परिवर्तन गर्ने र परिवर्तित नेतृत्वमा ओली पक्षमा गएका पूर्व एमालेहरूको स्थानमा पूर्व एमालेलाई नै दिनेगरी मापदण्ड तय भएको कार्यदलका एक सदस्यले जानकारी दिए । दाहाल–नेपाल समूहले विभिन्न तहमा पदाधिकारी चयन गर्न १२ सदस्यीय कार्यदल गठन गरेको थियो । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७