जनयुद्धमा महिला भूमिका समेटिएको पुस्तक ‘मुक्ति अभियान’ सार्वजनिक


२९ पुष २०७७, बुधबार
janayoudha

काठमाडौं, २९ पुस । महिला मुक्ति र स्वतन्त्रताका लागि जनयुद्धमा महिलाले निभाएको भूमिका समेटिएको पुस्तक ‘मुक्ति अभियान’ सार्वजनिक भएको छ ।

जनयुद्धको कठिन परिस्थितिमा पनि साहसिक ढङ्गले अविचलितरूपमा लागेकी जुम्लाकी लक्ष्मीकन्या बुढाले लेखेको सो पुस्तकमा महिला आन्दोलनका साथै वर्गीय सङ्घर्षका विविध पक्ष समेटिएको छ । पुस्तकमा महिला नेतृत्व, कार्यभार र चुनौती, बढ्दो लैङ्गिक हिंसा, शहीदका सपना, महिला उत्पीडन मुक्त नेपालको अभियान, महिला उत्पीडनमा धार्मिक अस्त्रलगायत पक्षलाई विस्तृतमा विवेचना गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यालय पेरिसडाँडामा मङ्गलबार पुस्तकको विवेचना गर्दै नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसालले जनयुद्धमा महिलाको उत्साहजनक सहभागिताले महिला मुक्ति आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याएको बताइन् । जनयुद्धकै बलमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्वलगायत उपलब्धि हासिल भएको उल्लेख गर्दै उनले जनयुद्धको अपमान हुने गरी टिप्पणी दिने छुट कसैलाई नभएको बताइन् ।

मालेमावादमा आस्था राख्नेका लागि पुस्तक विश्वविद्यालय हुनसक्ने जनाउँदै उनले कम्युनिष्ट पार्टीको घोषणापत्रको निरन्तरताको एउटा दस्तावेजका रूपमा पुस्तकलाई लिन सकिने बताए । नयाँ पुस्ताका लागि जनयुद्ध र महिला आन्दोलनका बारेमा बुझ्न पुस्तक उपयोगी रहेको नेत्री भुसालको भनाइ छ ।

‘पुस्तक र लेखक देशभरका महिलाका लागि प्रेरणाको स्रोत हुनुहुन्छ । महिलाका समस्यामात्रै नभएर यस पुस्तकमा श्रमजीवी वर्ग र महिलाको मुक्तिका लागि वैज्ञानिक समाजवादका लागि समेत पहल गरेको छ’, उनले भनिन्, ‘कर्णालीबाट शुरु भएको भए पनि देश र समग्र विश्वलाई नै महिला मुक्तिको आन्दोलनलाई अगाडि बढाउन यस पुस्तकमा समावेश अनुभवले बाटो देखाउँछन् । पुस्तकले उठाएको विषयलाई पाठ्यक्रममा समावेश गरेर अध्ययनअध्यापन गराउनुपर्छ ।’

पूर्वमन्त्री एवं नेकपा नेतृ सत्या पहाडीले महिला मुक्ति मात्र नभई मुलुकको समग्र रुपान्तरणका लागि पुस्तक कोशेढुङ्गा सावित हुने बताइन् । लेखक लक्ष्मीकन्याको यो तेस्रो कृति हो । उनले लेखेको पुस्तक कर्णालीका महिला भाग १ र २ यसअघि नै प्रकाशित भइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७