अखिलको प्रधानमन्त्रीलाई चुनौति : संविधान पढ्न ल क्याम्पस आउनुहोस्


२९ पुष २०७७, बुधबार
Ranjeet Tamang

काठमाडौं, २९ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पढ्न नेपाल ल क्याम्पस आउन अनुरोध गरेको छ ।

आज (बुधबार) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षीय विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध संविधान वाचन कार्यक्रम गर्दै प्रधानमन्त्री ओलीलाई संविधान पढ्न नेपाल ल क्याम्पस आउन अनुरोध गरेको हो ।

कार्यक्रममा बोल्दै अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङले प्रधानमन्त्री ओलीले व्यक्तिगत स्वार्थ र कुर्सीको लागि गैरसंवैधानिक कदम चालेको बताए । संविधानको सही व्याख्या भएन र सर्वोच्च अदालतले न्याय दिएन भने विद्यार्थीहरुले न्यायाधीशहरुलाई बाटो छेकेर संविधानको कुन धारा अनुसार प्रधानमन्त्रीको कदम संवैधानिक हो भन्ने प्रश्न गर्नुपर्ने उनको भनाई छ ।

अनेरास्ववियूका नेता सुदेश पराजुलीले संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको कुनै अधिकार नदिएको बताए । प्रधानमन्त्री ओलीलाई संविधानले धेरैदिन बालुवाटार बस्ने अधिकार नदिएको उनको भनाई छ ।

अनेरास्ववियूले प्रतिनिधि सभा विघटनको विरुद्धमा निरन्तर विरोधका कार्यक्रम गर्दै आएको छ । असंवैधानिक कदम नसच्चिएसम्म विरोधका कार्यक्रम जारी रहने अनेरास्ववियूले जनाएको छ ।
ओली र जी न्युजले माफी माग्नुपर्छ
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएर अन्तर्वार्ता दिएकै भोलिपल्ट भारतीय समाचार संस्था जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले नेपाली अस्मिता र स्वाभिमानमाथि धावा बोल्दै सगरमाथामाथि अत्यन्तै आधारहीन र कपोकल्पित ढंगले दावी पेश गरेको भन्दै नेकपाको प्रचण्ड–नेपाल पक्षको अनेरास्ववियुले आपत्ति जनाएको छ ।

नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वाभिमानका विरुद्ध लगातार रुपमा विषवमन गर्दै आएको जी न्युजलाई प्रधानमन्त्रीस्तरबाटै बालुवाटारमा स्वागत गरिएको परिघटनाले थप आशंकित र आक्रोशित तुल्याएको अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अनेरास्ववियुले चौधरी र उनको संचारसंस्थालाई भ्रामक र तथ्यहिन समाचार सम्प्रेषण नगर्न र अविलम्ब माफी माग्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले पनि माफी माग्नुपर्ने बताएका छन् । ‘संविधान लत्याएर प्रतिगमनको बाटोमा हिँडेका प्रधानमन्त्री ओलीलाई सत्ता टिकाउने नाममा राष्ट्रिय स्वाधीनता र स्वाभिमानमा गम्भीर आँच पुर्याउने ब्यक्ति र संस्थाहरुसंग रहस्यमय र अपारदर्शी भेटघाट र सांठगांठ नगर्न चेतावनी दिन चाहन्छौं ।

यसका साथै प्रधानमन्त्री ओलीलाई चौधरीसँगको भेटवारे तत्काल जनतालाई स्पष्ट पार्न, आइन्दा त्यस्ता कुटनीतिक मर्यादा विपरितका भेटघाट नगर्न र यसअघि गरेको कुटनीतिक मर्यादा विपरितका भेटघाटबारे जनता समक्ष अविलम्ब माफी माग्न जोडदार माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७