सुधीर भन्छन्, आशय बंग्याइयो

‘सगरमाथा दाबी गरेको होइन, अंग्रेजी नाममा सिकदरको श्रेय खोजेको’


१ माघ २०७७, बिहीबार
Sudheer.jpg .2021 01 13

काठमाडौं, १ माघ । भारतीय टीभी च्यानल जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले सगरमाथासम्बन्धी प्रसारित सामग्रीमा आफूले भनेको आशय नेपाली मिडियाले बंग्याएको भन्दै त्यसलाई प्रस्ट्याएका छन् ।

जी न्युजमा प्रसारित उनको रिपोर्ट नेपालमा भाइरल भएपछि बुधबार भिडियो सन्देश जारी गर्दै उनले भनेका छन्, ‘सगरमाथामाथि भारतको दाबी मैले भनेको होइन । र, कदापि त्यो भन्दिनँ । सगरमाथा नेपालको हो । नेपालकै रहनेछ । यसको भूगोल कसैले बदल्न सक्दैन ।’

चौधरीले माउन्ट एभरेस्टको नाम बदल्ने जी न्युजको अभियानलाई सगरमाथामाथि दाबी गरेको भनी गलत ढंगले विश्लेषण गरिएको बताएका छन् । ‘हामी यति मात्र मागिरहेका छौं, सगरमाथाको पहिलोपल्ट उचाइ नाप्ने भारतीय गणितज्ञ राधानाथ सिकदरलाई यसको श्रेय मिल्नुप¥यो ।

हामी नेपाल र नेपालीबाट केही खोस्न चाहन्नौं । जसरी नेपालीले सर्वोच्च शिखरलाई माउन्ट एभरेस्ट भन्दैनन् (सगरमाथा भन्छन्), यसरी नै भारतीयले पनि यसलाई माउन्ट सिकदर भन्न पाउनुपर्‍यो’, उनको भनाइ छ, ‘नेपाल र संसारका जनताले यसलाई स्वीकार गर्नुभयो भने त्यो उहाँहरूको महानता हुनेछ ।’

अंग्रेजकालमा जानीबुझी भएको गल्ती आफूहरूले सच्याउन मात्र चाहेको उनको भनाइ छ । ‘हामी नेपाली दर्शक र नेपालका दाजुभाइ, दिदीबहिनीसँग भन्न चाहन्छौं, नेपाल र भारतबीच राम–लक्ष्मणजस्तो सम्बन्ध छ । यो सदा रहन्छ’, उनले भनेका छन्, ‘माउन्ट एभरेस्ट नेपालमा छ, यसलाई कसैले इन्कार गर्न सक्दैन । म नेपालका दर्शक र नेपाली नागरिकलाई दुःखी तुल्याउन चाहन्न । मेरो इरादा पनि त्यो होइन । नेपाल र भारतका जनताबीच कहिल्यै समस्या आउनु हुँदैन । हामी कुनै समस्या र पर्खाल आउन दिने छैनौं ।’ अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७