परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जाँदै, बैठकमा सीमा विवादको मुद्दा उठाउने

दीर्घकालीन सहमति–सम्झौता नगर्न नागरिक अगुवाको सुझाव


१ माघ २०७७, बिहीबार
Pradeep Gyawali

काठमाडौं, १ माघ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज भारत भ्रमणमा जाँदैछन् । नेपाल–भारत छैठौं संयुक्त आयोग बैठकमा भाग लिन परराष्ट्रमन्त्री ज्ञवाली तीन दिने भारत भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा नेपालले सीमा विवाद र कोरोनाविरुद्धको खोपलाई प्राथमिकता साथ उठाउने भएको छ । यस्तै नेपाल–भारत द्विपक्षीय सम्बन्ध, व्यापार, पारवहन, पर्यटन, कृषि, वैदेशिक लगानी, पूर्वाधार विकास, ऊर्जालगायतका विषयमा पनि छलफल गर्ने तयारी छ ।

बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीसहित परराष्ट्र र स्वास्थ्य मन्त्रालयका सचिवसहित अन्य मन्त्रालयका उच्च अधिकारी सहभागी हुने मन्त्रालयले जनाएको छ । भारतकातर्फबाट विदेशमन्त्री एस जयशङ्करले बैठकको नेतृत्व गर्नेछन् ।

नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि दुई देशबीच सम्बन्ध चिसिएको छ । लामो समयदेखि दुई देशबीच उच्चस्तरीय भेटवार्ता र भ्रमण हुन नसकेको बेला परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।

दीर्घकालीन सहमति–सम्झौता नगर्न नागरिक अगुवाको सुझाव
नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली दिल्ली उड्नुअघि १५ जना नागरिक अगुवाले दीर्घकालीन सहमति सम्झौता नगर्न सुझाव दिएका छन् ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार र भारतबीच सम्बन्ध सुधार भइरहेका बेला परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणको क्रममा सीमा समस्या र कोभिड–१९ खोप नेपालमा आयात गर्ने विषयमा गम्भीर छलफल हुने बुझिएको छ ।

सूर्यनाथ उपाध्याय ,लिलामणी पौडेल, निनु चापागाई, हिरण्यलाल श्रेष्ठ, सूर्यराज आचार्य लगायत १५ जना नागरिक अगुवाले भने ‘भ्रमण पूरै नकार्न नसकिने’ भन्दै प्रतिनिधि सभा विघटनपछि यो सरकार कामचलाउ भएकाले दीर्घकालीन खालका सहमति सम्झौता नगर्न सुझाव दिएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७