साँस्कृतिक पर्वले राष्ट्रिय एकता र सहिष्णुता कायम गर्न सहयोग : मुख्यमन्त्री शाही


१ माघ २०७७, बिहीबार
Mahendra bahadur sahi scaled

सुर्खेत, १ माघ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले साँस्कृतिक पर्वहरुले राष्ट्रिय एकता, सद्भाव र सहिष्णुता कायम गर्न सहयोग पुर्‍याएको बताएका छन् ।

‘मकर सङ्क्रान्ति’, ‘माघे सङ्क्रान्ति’ ‘माघी पर्व’ तथा ‘राष्ट्रिय योग दिवस– २०७७’ का अवसरमा उहाँले कर्णालीवासी तथा सम्पूर्ण नेपालीमा सुख, शान्ति र आरोग्यताका लागि शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री शाहीले आज शुभकामना सन्देश जारी गर्दै बहुसाँस्कृतिक, बहुजातीय, बहुधार्मिक, बहुभाषिक विविधताले भरिपूर्ण नेपालमा साँस्कृतिक पर्वहरुले राष्ट्रिय एकता र आपसी सद्भाव कायम गर्नमा सहयोग पुगेको बताएका छन् ।

सन्देशमा उनले भनेका छन्, ‘नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्ष, समानुपातिक समावेशी मुलुक हो । लोकतन्त्रले सबैको साँस्कृतिक पर्वलाई सम्मान गरेको छ । साँस्कृतिक, धार्मिक, जातीय र भाषिक विविधताले विश्वसामु चिनिएको नेपालको मौलिक विशिष्टता अर्थात चाडपर्वले सामाजिक सद्भाव, अखण्डता, साझा पहिचान र राष्ट्रिय एकता सुदृढ बनाउन मद्दत पुग्ने विश्वास लिएको छु ।’

त्यसैगरी, मानव जीवनका लागि योग तथा ध्यानको महत्वलाई बुझेर नेपाल सरकारले विसं २०७२ देखि माघ १ गतेलाई ‘राष्ट्रिय योग दिवस’ घोषणा गरेको बताउँदै उहाँले ‘योग गरौं डटेर, कोभिड जान्छ हटेर’ भन्ने मूलनारासँगै आज मनाइँदै गरेको योग दिवसले सबैको रोग प्रतिरोधात्मक क्षमता बढाउने अपेक्षा गरिएको बताएका छन् ।

मुख्यमन्त्री शाहीले कोभिड–१९ पूर्ण नियन्त्रण नआइसकेको भन्दै सावधानीका साथ पर्व मनाउन समेत आग्रह गरे । प्रदेश सरकारले गत वर्षदेखि ‘माघी पर्व’ का अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७