ओलीको तानाशाही प्रवृत्तिबाट सिङ्गो मुलुक पिल्सिरहेको छ : अध्यक्ष नेपाल


१ माघ २०७७, बिहीबार
madhav nepal.

काठमाडौं, १ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशही प्रवृत्तिबाट सिङ्गो मुलुक पिल्सिरहेको बताएका छन् । उनले ओलीले देशमा तानाशाह लाद्न खोज्दा नेपाली नागरिकले आइया, आत्थु पनि भन्न नपाइरहेको बताए ।

नेपाल बुद्धिजीवि संगठनले काठमाडौंमा आयोजना गरेको राजनीतिक एवं संवैधानिक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष नेपालले ओलीले भनेको कुरामा नमान्नु नै आफूहरुको अपराध जस्तो भएको बताए । ‘हाम्रो अपराध भनेको छलफलको नाम लिएर हो । उहाँको कुरामा हस् हजुर नभन्नु नै हाम्रो अपराध हो । त्यही अपराधको दण्ड कम्युनिष्ट आन्दोलनले बोक्नु परेको छ, लोकतान्त्रिक आन्दोलनले बोक्नु परिरहेको छ ।’

कार्यक्रममा नेपालले संवैधानिक ‘कू’ गरेका बेला चुनावको अर्थ नभएको बताएका छन् । वैशाखमा चुनाव नहुने पनि उनले दाबी गरे । ‘जुनसुकै जिल्लामा जानुस् कहीं पनि उहाँको बहुमत छैन । जिल्ला प्रदेश कमिटीमा जुनसुकै ठाउँमा जानुस् जुनुसुकै ठाउँमा हाम्रो बहुमत छ । स्थायी कमिटीमा छ उहाँको बहुमत ? कहाँ छ ?’ नेपालले सोधे ।

केपी ओलीले पाँच वर्षसम्मको प्रधानमन्त्री आफूले नै भने पनि नकारात्मक रुपमा नसोचेको उनले बताए । ओली बदलाको भावनाबाट अघि बढ्ने र अलोकतान्त्रिक चरित्र भएको अध्यक्ष नेपालले बताए ।

उनले ओली समूहको नेकपा मदन भण्डारी फाउण्डेसनका नाममा चलाएको गुट भए बताए । ‘कुन दिन कम्युनिष्ट पार्टी घाँडो भयो भनेर घोषणा गर्न बेर छैन’, नेपालले । अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले देश विकासका नाममा बाँडेको आश्वासन कुनै पूरा नभएको पनि बताए । उनले देश विकासका लागि अब राजनीतिक प्रणाली परिवर्तन र प्राथमिकताका क्षेत्र निर्धारण गरेर अघि बढिनु पर्ने पनि बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७