देउवालाई सुजाताको प्रश्न : संविधानमाथि धावा बोल्ने ओलीकै पछि किन लागिरहनु भएको ?

‘ओलीजीलाई म विश्वास गर्न सक्दिनँ, अरुले पनि गर्न छाडिसके’


१ माघ २०७७, बिहीबार
sujata koirala

काठमाडौं, १ माघ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सुजाता कोइरालाले आफ्नै पार्टी सभापति शेरबहादुर देउवाको अभिव्यक्तिप्रति कडा आलोचना गरेकी छिन् ।

उनले संविधानको रक्षार्थ सडकमा उत्रिनु पर्ने पार्टी सभापति ओलीको पछि लागेको बताइन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा बोल्दै उनले देशमा रक्तपात हुनबाट जोगाउन संसद पुनस्र्थापनाको विकल्प नभएको बताइन् । पार्टी सभापति शेरबहादुर देउवा संविधानको विपक्षमा उभिएर गम्भीर गल्ती गरिरहेको पनि कोइरालाको टिप्पणी छ ।

असंवैधानिक तरिकाले संसद बिघटन गरिएको अवस्थामा देउवाले रक्तपात हुनसक्ने चुनावको कुरा गर्नुले आशंका उत्पन्न भएको समेत उनको भनाइ छ । नेत्री कोइरालाले यसबारे केन्द्रीय कमिटी बैठकमा सवाल उठाउने समेत बताएकी थिइन् ।

‘शेरबहादुर देउवाजी किन संविधानको पक्षमा हुनुहुन्न ? ओलीको किन पछि लागिरहनु भएको छ आश्चर्य लागेको छ । उनी रक्तपात हुनसक्ने चुनावको कुरा गर्दै हुनुहुन्छ । तर, आफैंले ल्याएको संविधान र संसदको विपक्षमा किन बोलिराख्नु भएको छ, त्यो गलत हो,’ नेत्री कोइरालाले भनिन् ।

देशमा अर्को रक्तपात ल्याउने अवस्था आइरहँदा देउवाले बारम्बार चुनावको कुरा गरेकोमा उनले आपत्ति जनाएकी थिइन् । कोइरालाले भनिन्, ‘चुनावमा रक्तपात हुन्छ । देउवाजी ओलीको पक्षमा उभिएर मुलुकलाई रक्तपात र अस्थिरतामा नलानुहोस् ।’

३० वर्षदेखि देउवा बारम्बार प्रधानमन्त्री बन्दै आएको स्मरण गर्दै देउवा फेरि प्रधानमन्त्री बन्न सक्ने तर त्यसभन्दा अघि संसद पुनर्स्थापना गर्नुपर्नेमा उनले सुझाव दिइन् । नेत्री कोइरालाले कांग्रेस संसद पुनर्स्थापनाको पक्षमा आन्दोलनमा गइसकेको पनि बताइन् । संसद पुनर्स्थापना विना कांग्रेस चुनावमा नजाने पनि ठोकुवा गरिन् ।

यस्तै प्रधानमन्त्री केपी ओलीलाई पनि उनले रङ्ग बदलिरहने र बिचार बदलिरहने भएकाले उनलाई विश्वास गर्न नसकिने बताइन् । कोइरालाले भनिन्, ‘ओलीजीलाई म विश्वास गर्न सक्दिनँ । अरुले पनि विश्वास गर्न छाडिसके । ओलीमा मीठो भाषण गर्ने र गलत काम गर्ने कार्यशैली छ । हिटलर पनि मीठो भाषण गर्थे, उनको भाषण सुनेर महिलाहरु रुन्थे तर उनले रक्तपात मच्चाए ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७