भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री ज्ञवाली आज संयुक्त आयोगको बैठकमा सहभागी हुँदै, सीमाबारे छलफल हुने


२ माघ २०७७, शुक्रबार
Pradip Gyawali and S Jaysankhar

काठमाडौं, २ माघ । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज (शुक्रबार) परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैठौं बैठकमा सहभागी हुँदैछन् ।

भारतीय समकक्षी डा. एस जयशंकरको निमन्त्रणामा बिहीबार नयाँ दिल्ली पुगेका मन्त्री ज्ञवाली आज हैदराबाद हाउसमा बस्ने संयुक्त आयोगको बैठकमा सहभागी हुने भएका हुन् । भारतको विदेश मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार परराष्ट्रमन्त्री ज्ञवाली र उनका भारतीय समकक्षी जयशंकरबीच आज बिहान ११ बजे भेटवार्ता हुनेछ । उनीहरूबीच आधा घण्टा औपचारिक वार्तापछि संयुक्त आयोगको बैठक बस्ने जनाइएको छ ।

बैठकमा सीमा विवाद समाधान, ईपीजी प्रतिवेदन ग्रहण, कोरोनाविरुद्धको खोप, ऊर्जा, कनेक्टिभिटीलगायत ४० भन्दा बढी विषयमा छलफल हुने परराष्ट्र स्रोतले जानकारी दिएको छ । भारतले नेपाललाई दिने कोरोनाविरुद्धको खोप अनुदान पनि आजै घोषणा गर्ने कार्यक्रम छ ।

तर मन्त्री ज्ञवाली दिल्ली पुगेकै दिन भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सीमा विवादबारे भने अहिले छलफल नहुने संकेत गरेका छन् । उनले भनेका छन्, ‘सीमा मुद्दाबारे हाम्रो स्थिति सबैलाई थाहै छ । तर संयुक्त आयोगको बैठक र सीमा सवाल छुट्टाछुट्टै संयन्त्र हुन् ।’

यस्तै उनले नेपाल–भारत द्विपक्षीय साझेदारीबारे उच्च राजनीतिक तहमा समीक्षा हुने बताएका छन् । दुई देशबीचको विशेष र विशिष्ट सम्बन्ध अझ सुदृढ गर्न बैठकले राजनीतिक मार्गदर्शन दिने उनको भनाइ छ । संसद् विघटनपछि भारत भ्रमणमा गएका ज्ञवाली सबैभन्दा उच्च पदस्थ अधिकारी हुन् ।

कूटनीतिक स्रोतका अनुसार परराष्ट्रमन्त्री ज्ञवालीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री ओलीको सन्देश सुनाउने कार्यक्रम पनि छ । तर मोदीसँग भेटवार्ताका लागि बिहीबार राति अबेरसम्म समय तय हुन सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७