एकपल्ट कोरोना संक्रमित व्यक्ति ५ महिनासम्म फेरि संक्रमित नहुने


२ माघ २०७७, शुक्रबार
korona

काठमाडौं, २ माघ । एकपल्ट कोरोना भाइरसबाट संक्रमित व्यक्ति कम्तीमा अर्को पाँच महिनासम्म सङ्क्रमण हुनबाट बच्ने एक अध्ययनले देखाएको छ ।

सङ्क्रमण नभएका व्यक्तिको तुलनामा एक पटक सङ्क्रमित भएका व्यक्तिलाई फेरि सङ्क्रमण हुने सम्भावना ८३ प्रतिशतले कम हुने पब्लिक हेल्थ इङ्ग्ल्यान्डको एक अध्ययनले देखाएको छ । तर विज्ञहरूका अनुसार कोरोना भाइरसको सङ्क्रमण दोहोर्‍याएर हुनसक्ने र अरूलाई सार्न सक्ने सम्भावना भने रहेको बीबीसीको खबरमा छ ।

बेलायतका झण्डै २१ हजार स्वास्थ्यकर्मीको नियमित परीक्षणको नतिजामा यो अध्ययन गरिएको थियो । तीमध्ये पहिले सङ्क्रमण नभएका व्यक्तिहरूमध्ये ३ सय १८ जनालाई सङ्क्रमण भएको र सङ्क्रमित भएर निको भएका ६ हजार ६ सय १४ जनामध्ये ४४ जनालाई मात्रै फेरि सङ्क्रमण भएको थियो । वैज्ञानिकहरूले ती स्वास्थ्यकर्मीहरूको स्वास्थ्य अवस्थाको एक वर्षसम्म अध्ययन गर्ने छन् ।

नयाँ अध्ययनको नेतृत्व गरेकी प्राध्यापक सुसन हप्किन्सले अध्ययनको नतिजाले निको भएका सङ्क्रमितहरू यसअघि सोचिएभन्दा लामो समय बच्न सक्ने बताए । तर दोहोर्‍याएर हुनै नसक्ने भन्ने नभएकोले सुरक्षाका उपायहरू अपनाउन पर्ने हप्किन्सको भनाइ छ ।

पुनः सङ्क्रमित भएका केहीमा लक्षण नदेखिए पनि भाइरसको मात्रा ज्यादै धेरै भएको र अरूलाई सार्न सक्ने देखिनु चिन्ताको विषय भएको हप्किन्सले बताए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७