परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता


२ माघ २०७७, शुक्रबार
thumb 1 3

नयाँदिल्ली, २ माघ । भारतको तीन दिने भ्रमणमा रहेका पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता शुरु भएको छ । नयाँदिल्लीस्थित हैदरावाद हाउसमा केही बेरअघि भेटवार्ता शुरु भएको हो ।

भेटमा द्विपक्षीय सम्बन्ध र कोरोना खोपका विषयमा छलफल हुने बताइएको छ । दुई देशका विदेशमन्त्रीबीचको भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, भारतीय विदेशसचिव हर्षवर्धन शृङ्गलालगायतका व्यक्ति रहेका छन् ।

बिहीबार साँझ मन्त्री ज्ञवालीले दिल्लीमा हुने राजनीतिक भेटघाट नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष, ईपीजी र कोभिड–१९ विरुद्धका खोपका विषयमा केन्द्रित हुने बताएका थिए ।
ज्ञवाली र जयशंकरबीचको भेटलगत्तै हैदरावाद हाउसमै नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं बैठक शुरु हुनेछ । बैठकका लागि दुवै पक्षले करिब तीन दर्जनभन्दा बढी एजेण्डा तय गरेका छन् । एजेण्डा तय गर्नका लागि परराष्ट्र मन्त्रालयको एउटा टोली दुई दिनअघि नै नयाँदिल्ली आएको थियो ।

बैठकमा नेपाली पक्षले सीमा, व्यापार, ऊर्जा, कनेक्टिभिटिलगायतका विषयमा छलफलमा हुने बताइएको छ । त्यसैगरी बैठकमा दुई देशबीचका दुई दर्जनभन्दा बढी संयन्त्रहरुमा हालसम्म भएका सहमति र नसुल्झेका विषयमा समेत समीक्षा हुने स्रोतले बताएको छ ।

नेपाली पक्षले बैठकमा सीमा विवादलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । यद्यपि भारतीय पक्ष भने सीमा विवादलाई सचिवस्तरीय संयन्त्र र बाउन्ड्री वर्किङ ग्रुपले आफ्नो काम पूरा गरेपछि मात्र मन्त्रीस्तरीय आयोगको बैठकमा विस्तृत रुपमा छलफल गर्ने पक्षमा छ । बिहीबार साँझ भारतको विदेशमन्त्रालयले पनि त्यही धारणा सार्वजनिक गरेको थियो ।

मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले आयोग र सीमा विवाद फरक विषय भएको बताएका थिए । तर, भारतको उक्त धारणा बाहिर आएलगत्तै कुराकानीमा मन्त्री ज्ञवालीले आयोगको म्यान्डेट सीमालगायत द्विपक्षीय विषयहरुमा छलफल गर्ने भएको प्रस्ट पारेका थिए ।

आयोगको बैठकलगत्तै मन्त्री ज्ञवाली भारतीय विदेशमन्त्री जयंशकरले आयोजना गर्ने दिवाभोजमा सरिक हुनेछन् । त्यसपछि दिउँसो ३ः३० मा नयाँदिल्लीस्थित भारत सरकारको थिंक ट्याकं परराष्ट्र मामिलासम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आईसीडब्लू) मा आयोजना गर्ने नेपाल–भारतसम्बन्धी विषयक कार्यक्रमलाई मन्त्री ज्ञवालीले सम्बोधन गर्ने कार्यक्रम छ ।

मन्त्री ज्ञवाली दिल्लीमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिहं लगायतका उच्च राजनीतिज्ञहरुसँग भेट्ने तय भएको छ । यद्यपि ती भेटका बारेमा दुवै पक्षले हालसम्म केही खुलाएका छैनन् । मन्त्री ज्ञवाली शनिबार अपरान्ह स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७