निर्वाचनको तयारीमा जुट्न मन्त्री नेम्वाङको आह्वान


३ माघ २०७७, शनिबार
basanta nebang 1536x1022 1

पाँचथर, ३ माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई आह्वान गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा शुक्रबार फिदिममा आयोजित बृहत् कार्यकर्ता भेलामा उनले ताजा जनादेशबाट मुलुकलाई निकास दिनुको विकल्प नरहेको वताए । ‘नेकपाकै बहुमत रहे पनि सरकारले काम गर्न नसक्ने स्थिति निर्माण गरिएपछि दुई वर्ष किन खेर फाल्ने भनेर सरकारले ताजा जनादेशमा जाने निर्णय लिएको हो’, उनले भने, ‘सर्वोच्च अदालतले स्टेअर्डर जारी नगरेपछि निर्वाचन हुने निश्चित भयो, अब तयारीमा लागौँ ।’

मन्त्री नेम्वाङले वर्तमान सरकारकै कारण सधैँ खर र फुसको छानोमा बस्न विपन्न नागरिकले जस्तापाता पाएको, सबै नागरिकलाई स्वास्थ्य, विद्युत्, खानेपानी, सडकसहितका पूर्वाधारको पहुँचमा पुर्‍याउने प्रयास भएको र राष्ट्रियतालाई बलियो बनाउने कार्यमा सफल भएकाले यिनै उपलब्धि लिएर जनतामा जान पार्टी कार्यकर्तालाई आग्रह गरे । ‘वर्षौँवर्ष हुन नसकेका काम यो सरकारले गरेको छ’, उनले भने, ‘यिनै कुरा लिएर जनतामा जानुपर्छ ।’

नेकपा प्रदेश कमिटी सदस्य देवराज घिमिरेले हत्याहिंसाका काममा संलग्नदेखि जातिवादी र राजावादीसँग साँठगाँठ गर्ने कोही पनि कम्युनिष्ट हुन नसक्ने भन्दै सरकारले गरेका कामहरु नै जनतामा पुर्‍याउन सके पर्याप्त हुने बताए ।

नेकपाका केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्वाङले ताजा जनादेश लिन जनतामा जाने कुरालाई अस्वीकार गर्नु लोकतान्त्रिक चरित्र नभएको बताए । उनले मुलुकको विकास र समृद्धि, नागरिकको सुखसुविधा तथा राष्ट्रियताको संवद्र्धनका लागि जनतालाई बुझाउनुपर्ने समय आएको बताए । नेकपाका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष राजकुमार भण्डारीले नयाँ जोशसहित पार्टी निर्माण गर्नुपर्नेमा जोड दिँदै विगतमा समेत विभाजनका दुःखद् घटनापछि विजय प्राप्त गरेको स्मरण गरे ।

‘समृद्धिको अभियानमा सञ्चार जगतको साथ अत्यावाश्यक’

यसैगरी मन्त्री नेम्वाङले सरकारले चालेको समृद्धिको अभियानमा सञ्चार जगत्को साथ अत्यावाश्यक रहेको बताए । नेपाल पत्रकार महासङ्घ पाँचथर शाखाको वार्षिक साधारणसभाको शुक्रबार फिदिममा उद्घाटन गर्दै उनले सरकारले लिएको समृद्धिको यात्रालाई गन्तव्यमा पुर्‍याउने महत्वपूर्ण सारथी सञ्चार जगत् पनि भएको बताए ।

‘आम सञ्चार क्षेत्रले सिर्जनात्मक, रचनात्मक र तथ्यपरक ढङ्गले दिने सल्लाह र सुझाव सरकारलाई सधैँ आवश्यक हुन्छ’, मन्त्री नेम्वाङले भने, ‘आम जनतालाई विकासको मूलप्रवाहमा पुर्‍याउने सरकारी जिम्मेवारीको हिस्सा सञ्चार जगतको पनि रहन्छ ।’

मन्त्री नेम्वाङले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गर्ने सङ्घर्षमा सञ्चार जगत्ले विशिष्ट भूमिका खेलेको उल्लेख गर्दै अब उपलब्धिको जगमा अघि बढ्ने क्रममा सञ्चार जगतले समेत फाइदा लिने स्थिति निर्माण भएको बताए । ‘पत्रकारिता क्षेत्रलाई सवलीकरण गर्ने उद्देश्यसहित वर्तमान सरकारले महत्वपूर्ण निर्णय लिँदै आएको छ’, उनले भने, ‘आम सञ्चारलाई थप सुदृढ र व्यवस्थित बनाउन विभिन्न ऐन, कानूनमा ल्याइएका छन् ।’

फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङले पत्रकारिता जगत्ले विकास र समृद्धिको अभियानलाई सधँै साथ दिँदै आएको बताउँदै स्थानीय सरकारले पनि पत्रकारसँग हातेमालो गरेर अघि बढ्ने बताए ।

प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले नकारात्मक चिन्तन र प्रचारलाई कम गर्दै सकारात्मक सुझाव र कमजोरी औँल्याउने कार्यमा पत्रकारिता जगत् झनै सुदृढ र परिस्कृत हुनुपर्नेमा जोड दिए । सो अवसरमा खेलकूद तथा वातावरण पत्रकारिता पुरस्कारबाट शान्तिदेवी राई, जङ्गबहादुर तामाङ, दीपक बोहोरा र उपेन्द्र एक्तेन पुरस्कृत भएकोे शाखाका अध्यक्ष लवदेव ढुङ्गानाले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७