‘देउवाको ढुलमुले चरित्रले ओलीको प्रतिगमनविरुद्ध कांग्रेस सशक्त हुन सकेन’


३ माघ २०७७, शनिबार
shekhar

विराटनगर, ३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवाको ढुलमुले चरित्रका कारण कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्रतिगमन’ विरुद्ध सशक्त भूमिका निर्वाह गर्न नसकेको बताएका छन् ।

उनले केपी शर्मा ओलीको संसद विघटनको कदम असंवैधानिक भएकाले त्यसविरुद्ध नेपाली कांग्रेस एक ढिक्का भएर सशक्त रुपमा आन्दोलनमा उत्रिनु पर्ने बताए । आज (शनिबार) विराटनगरमा आयोजित मानवअधिकार तथा शान्ति समाज मोरङको साधारण सभामा बोल्दै नेता कोइरालाले भने, ‘सभापति शेरबहादुरकै कारण कांग्रेसले प्रतिगमन हुन नदिन र भइसकेपछि विरोधमा सशक्त भूमिका खेल्न सकेको छैन ।’

मुख्य प्रतिपक्षी दल भएर कांग्रेसले पनि खेल्नुपर्ने जति भूमिका सशक्त ढंगले निभाउन नसक्दा संघीयता र गणतन्त्र खतरामा पर्ने सम्भावना बढेको कोइरालाले बताएका छन् । प्रचण्ड र माधवसँग बदला लिन र वैशाखमा चुनाव गराउन यो प्रतिगमन नभएको भन्दै नेता कोइरालाले संसद विघटन गर्नुको पछाडि गहिरो षड्यन्त्र रहेको दावी गरे ।

डा. कोइरालाले अब कांग्रेसले अदालतको फैसलालाई नपर्खी प्रष्ट भएर आन्दोलनमा जानुपर्ने बताए । कांग्रेस सभापति देउवाले अदालतको बहाना बनाउँदै प्रतिगमनविरुद्ध नोबोल्न पार्टीमा रुलिङ गरेको समेत आरोप लगाए ।

उनले प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेर प्रतिनिधिसभा विघटन गराउने कार्यमा नेकपाका प्रचण्ड–माधव समूहसँगै नेपाली कांग्रेसको नेतृत्व पनि दोषी रहेको टिप्पणी गरे ।
उनले सभापति शेरबहादुरलाई लक्षित गर्दै भने, ‘शेरबहादुरजी पनि ओलीजी जस्तै व्यक्तिगत स्वार्थमा लोभिनु भयो, यसैले शुरुदेखि नै खेल्नुपर्ने जति भूमिका कांग्रेसले खेल्न सकेन, हुनुपर्ने जति आन्दोलन पनि भएन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७