थारू मोर्चा आन्दोलनको तयारीमा

‘अधिकार प्राप्तिका लागि अब निर्णायक आन्दोलन’


४ माघ २०७७, आईतवार
thumb 3

धनगढी, ४ माघ । थरुहट–थारूवान मोर्चाका केन्द्रीय अध्यक्ष लक्ष्मण थारूले राज्यको अधिकार प्राप्तिका लागि थारूहरूले अन्तिम पटक निर्णायक आन्दोलनको तयारी गरिरहेको बताएका छन् ।

धनगढी उपमहानगरपालिका–१६ फूलबारीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले धनगढीमा फागुन १५ र १६ गते ५० हजार थरुहट युवा, महिला र विद्यार्थी एउटै पोसाकमा सहभागी भएको विशेष राष्ट्रिय सम्मेलनबाट आन्दोलनको घोषणा हुने बताए ।

‘यो निर्णायक आन्दोलनले थारूहरूका अधिकारलाई स्थापित गराएरै छाड्नेछ,’ उनले भने, ‘थारूहरूको निर्णायक आन्दोलनले मान्छे मार्ने छैन, हतियार उठाउने छैन, पूर्ण रूपमा शान्तिपूर्ण हुनेछ ।’ धनगढी–१९ मा बसेको थरुहटरथारूवान मोर्चाको केन्द्रीय समिति बैठकले निर्णायक आन्दोलनको निर्णय गरेको उनले बताए ।

उक्त आन्दोलनमा मगरात, खस क्षत्री, दलित, मधेसीलगायत सबै उत्पीडनमा परेका वर्ग र समुदायको समेत सहभागिता हुने उनको भनाइ छ । थारूको मुद्दा र अधिकारको कुरा सत्ता पक्षले नसुनेको मात्रै नभएर थारूहरूलाई दासत्व स्विकार्न लगाएकाले मुक्तिको विद्रोहमा जानुको विकल्प नभएको उनले बताए ।

थारूहरूको अधिकारवादी राजनीतिक आन्दोलनलाई समेत उच्च अदालत दिपायलले आतंककारी र संविधान विरोधीको व्याख्या गरेर फैसला सुनाएको उनको आरोप छ । ‘उच्च अदालतको ११९ पेज लामो फैसलाका प्रत्येक पानामा थारूहरूको शान्तिपूर्ण आन्दोलन (कोण सभा, प्लेकार्ड बोकेको, थाली बजाएको) लाई समेत आतंककारीका रूपमा व्याख्या गरेको छ,’ उनले भने ।

नेता थारूले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनपछिको समयमा अनौपचारिक रूपमा वार्ताका लागि बोलाएको खुलासा गरेका छन् । ‘पछिल्लो समयमा प्रधानमन्त्री ओलीले हामीलाई खोजिरहेका छन्,’ उनले भने, ‘बिना तुकको वार्तामा हाम्रो सहभागिता हुँदैन ।’ एकातिर न्यायालयमा मुद्दा बिगारेर धम्काउने, अर्काेतिर भित्रभित्रै वार्ता गरेर मिलौं, समाधान खोजौं भन्ने द्वैध चरित्रसँग वार्तामा बस्न नसकिने उनले जिकिर गरे ।

एक महिनाअघि उच्च अदालत दिपायलले उनीलगायतका १९ जनाको मुद्दालाई उल्टाएर टीकापुरको हिंसात्मक घटनामा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो । उक्त फैसलापछि उनी अर्धभूमिगत छन् । उनले पत्रकार सम्मेलन धनगढी–१६ फूलबारीको जंगलमा गरेका थिए । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७