बेनी–जोमसोम–कोरला सडक आयोजना : म्याग्दी खण्डको काममा सुस्त


४ माघ २०७७, आईतवार
beni jomsom road 5yb8w4a7EG
फाइल फोटो

म्याग्दी, ४ माघ । उत्तर–दक्षिण चीन र भारत जोड्ने सबैभन्दा छोटो दूरी राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डको काममा चरम ढिलासुस्ती भएको छ ।

सामान्य मार्ग निर्माण सकिएसँगै स्तरोन्नतिका लागि २०७३ मंसिरदेखि यस करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजना सञ्चालन गरिएको थियो । निर्माण अवधि सकिएको एक वर्ष बितिसक्दा समेत अहिलेसम्म जम्मा ६५ प्रतिशत मात्रै भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।

म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको सदरमुकाम जोमसोमसम्म कालोपत्रे र जोमसोमदेखि कोरला नाकासम्म ग्राभेल गर्ने गरी सडक स्तरोन्नति गर्ने योजना अघि बढेको थियो ।
विसं २०७६ मंसिरसम्म निर्माण सम्पन्न गर्ने गरी ७६ किलोमिटरको बेनी–जोमसोममा चार र ११० किलोमिटर दूरीको जोमसोम(कोरला खण्डमा सात प्याकेजसहित निर्माण अघि बढाइए पनि अहिलेसम्म बेनी –जोमसोममा ४५ र जोमसोम–कोरला खण्डमा ८५ प्रतिशत मात्र भौतिक प्रगति भएको आयोजनाका सूचना अधिकारी अश्विनकुमार यादवले जानकारी दिए ।

उनका अनुसार मुस्ताङदेखि कोरला खण्डको काम आउँदो जेठभित्रै सम्पन्न गर्ने तयारी गरिएको तथा बेनी–जोमसोम खण्डको काम सकिन अझै एक वर्ष लाग्ने देखिएको छ । ‘आयोजना गएको वर्ष नै सकिनुपर्ने हो, एक वर्ष समय थपिएको पनि मंसिरमा सकिएको छ, फेरि एक वर्षसम्म समय थप गर्ने र निर्माण कम्पनीलाई आवश्यक स्रोत, जनशक्तिका साथ परिचालन गर्ने योजना छ’ उनले भने । बेनी–जोमसोम खण्डमा म्याग्दी क्षेत्रको प्रगति गएको वर्षको तुलनामा थप घटेको छ ।

बर्खायाममा बाढी र पहिरोले गएको वर्ष बनाइएका संरचनामा समेत ठूलो क्षति पुर्‍याएपछि ५५ प्रतिशतमा पुगेको प्रगति ४५ प्रतिशतमा झरेको आयोजनाले जनाएको छ । बेनी–जोमसोम खण्डको ३८–३८ किलोमिटरको म्याग्दी र मुस्ताङ भागमध्ये म्याग्दीतर्फको प्रगति न्यून छ । जोमसोमदेखि कोरलासम्म ५५ किमी सडक स्तरोन्नतिको काम सकेर हस्तान्तरण भइसकेको छ भने बाँकी ५५ किमीमध्ये ३१ किमीको काम अन्तिम चरणमा पुगेको छ ।

करिडोरअन्तर्गत अहिलेसम्म पनि काम सुरु हुन नसकेको पर्वतको मालढुङ्गादेखि बेनीसम्मको १३ किमी सडकको समेत ठेक्का प्रक्रियामा र छ । पर्वत र बाग्लुङ कताबाट सडकलाई अघि बढाउने भन्ने निर्क्योल नहुँदा अन्योल बनेको त्यस खण्डलाई पर्वत हुँदै बेनी आउने सडकलाई नै विस्तार गर्ने गरी आयोजनाले ठेक्का आह्वान गरिसकेको छ । आउँदो फागुनदेखि नै त्यस खण्डमा पनि निर्माण कम्पनी परिचालन भइसक्ने आयोजनाले जनाएको छ ।

चार वर्षदेखि सञ्चालनमा रहेको कुल सात अर्ब ७५ करोड लागत अनुमानको सडक आयोजनामा अहिलेसम्म ४३ प्रतिशत मात्रै वित्तीय प्रगति भएको छ । आयोजनाअन्तर्गत सडक स्तरोन्नतिसँगै विभिन्न खोलामा पक्की पुलसमेत निर्माणले तीव्रता पाएको छ ।

बेनीदेखि कोरला नाकासम्मको सडकखण्डमा विभिन्न ३४ ठाउँमा पक्की पुल निर्माण गर्नुपर्ने भए पनि २० ठाउँको पुल ठेक्का लगाइसकिएको र अहिलेसम्म तीन स्थानको पुल निर्माण सम्पन्न भइसकेको छ । बाँकी पुलको समेत ठेक्का लगाउने तयारी छ ।

कामले अझै पाएन तीव्रता

गएको चैतदेखि कोरोना रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले देशव्यापी जारी गरेको बन्दाबन्दीका कारण ठप्प आयोजनाको कामले अहिलेसम्म पनि तीव्रता पाउन सकेको छैन ।

सरकारले बन्दाबन्दी खुलाएको र बर्खायाम सकिएर हिउँद समेत बितिसक्दा निर्माण कम्पनीहरूले अझै पनि पूर्ण क्षमतामा कार्यक्षेत्रमा जनशक्ति र उपकरण परिचालन गर्न नसकेको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले बताए ।

‘म्याग्दीतर्फको काम न्यून देखिएको छ, कहीँकतै मात्रै काम भएको देखिन्छ, यसबारेमा पटक–पटक सम्बन्धित निर्माण कम्पनी र आयोजनाका प्रतिनिधिहरूलाई ध्यानाकर्षण गराउँदै आएका छौँ, हिउँद याममा समेत कार्यक्षेत्रमा उल्लेख्य जनशक्ति र मेसिन, उपकरण परिचालन नगर्नाले आयोजना थपपछि धकेलिने जोखिम बढेको छ’, उनले भने ।

जोमसोमदेखि माथिको खण्डमा चिसो बढेसँगै गएको मङ्सिर पहिलो हप्तादेखि निर्माण नै रोकिएको छ । आयोजनाका सूचना अधिकारी यादवकाअनुसार जोमसोम–कोरला खण्डको काम आउँदो जेठभित्रै सकिने र बेनी–जोमसोम खण्डमा समेत चैतदेखि कालोपत्रेको काम सुरु गर्ने गरी निर्माण कम्पनीहरूलाई ताकेता गरिएको छ ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले करिडोरअन्तर्गत ढिलासुस्ती भएका खण्डहरूको कामलाई यथाशक्य चाँडो तीव्रता दिन सम्बन्धित निर्माण कम्पनीलाई ताकेता गरिएको र आयोजनालाई समेत आग्रह गरिएको बताए ।

‘म्याग्दी खण्डको कामलाई नजिकबाट अवलोकन गरिरहेका छौँ, कहाँ कहाँ अवरोध र समस्या छन्, त्यो भन्नुहोस्, हामी सहजीकरण गर्छौँ तर मुख्य काम गर्ने यस याममा जनशक्ति र मेसिन उपकरण पूर्ण क्षमतामा परिचालन गर्नुहोस् भनेका छौँँ’, प्रजिअ अधिकारीले भने ।

कहाँ कति प्रगति ?

आयोजनाको गलेश्वरदेखि तातोपानीसम्मको ठेक्का लिएका निर्माण कम्पनीमध्ये शर्मा युनाइटेडले ४५ प्रतिशत, तातोपानीदेखि घाँसासम्म शर्मा गजुरमुखीले ४५ प्रतिशत, घाँसादेखि कोबाङसम्म शर्मा गजुरमुखीले ६५ प्रतिशत र कोबाङदेखि जोमसोमसम्म पप्पु गौरी पार्वती कोशी एण्ड न्यौपाने जेभीले ६५ प्रतिशत काम सम्पन्न गरेका छन् ।

आयोजनाअन्तर्गत जोमसोमदेखि ताङ्वेसम्म बज्रगुरु खड्का कृष्ण जेभीले र ताङ्वेदेखि चैलेसम्म दिवा डाँफे एपेक्स जेभीले गएको वर्ष नै स्तरोन्नतिको काम सकेर सडक हस्तान्तरण गरिसकेका छन् । चैलेदेखि भेनासम्म कन्टेक कान्छाराम कोशी एण्ड न्यौपानेले ८५ प्रतिशत निर्माण सक्दा भेनादेखि भेटेसम्म कञ्चनजङ्घा लामा विरुवाले सबै काम सकेको छ ।

झैटेदेखि चराङसम्म कञ्चनजङ्घा लामा मोतीदान जेभीले ८५ प्रतिशत र चराङदेखि छोसेरसम्म तामाङ गौरी पार्वती कोशी एण्ड न्यौपाने जेभीले ६५ प्रतिशत काम सकेका छन् । छोसेरदेखि कोरलासम्मको १६ किमी सडक दिवा रौतहा एपेक्स जेभीले दोस्रो वर्षमै स्तरोन्नतिको काम सम्पन्न गरिसकेको आयोजनाले जनाएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा चासो र चर्चा पाइरहेको कालीगण्डकी करिडोरसँग आसपासका क्षेत्रको भाग्य र भविष्यसमेत जोडिएको छ । राष्ट्रको समृद्धि र विकासको दीर्घकालीन लक्ष्यका लागि समेत वरदान सावित बन्ने देखिएको आयोजनाका काममा विभिन्न कारणवश भएका ढिलासुस्तीलाई हटाउँदै अघि बढाउनुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७