अफगानिस्तानमा दुई महिला न्यायाधीशको गोली हानी हत्या


४ माघ २०७७, आईतवार
890d77a815b08e54de2a035a63c0d94c w1000 h500 cp

काठमाडौं, ४ माघ । अफगान सर्वोच्च अदालतका दुई महिला न्यायाधीशमाथि आइतबार बिहानै राजधानी काबुलमा गोली हानी हत्या गरिएको छ ।

अफगानमा जारी हिंसा अन्त्य गर्न सरकार र मुख्य विद्रोही तालिबान समूहबीच शान्ति वार्ता भइरहे पनि व्यक्ति हत्याको क्रम भनेको रोकिएको छैन । पछिल्ला केही महिनादेखि खासगरी राजधानी काबुलमा उच्च तहका व्यक्ति लक्षित आक्रमणहरु भइरहेका छन् । यी हत्याहरुले राजधानी काबुल सहित देशका प्रमुख शहर बजारमा त्रास फैलाएको छ ।

अमेरिकी रक्षा मन्त्रालयले अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गरी दुई हजार ५०० मा सीमित गर्ने घोषणा गरेको दुई दिन नबित्दै पछिल्लो आक्रमण भएको छ । दुई न्यायाधीश सरकारी सवारी साधनमा चढेर अदालत गइरहेको अवस्थामा आक्रमण भएको सर्वोच्च अदालतका प्रवक्ता अहमद फाहिम क्वाइमले जानकारी दिए ।

उनले भने, ‘दुर्भाग्यवस, आजको आक्रमणमा हामीले दुई महिला न्यायाधीशलाई गुमाएका छौं । उनीहरुका सवारी चालक घाइते भएपनि सकुशल छन् ।’ प्रवक्ता क्वाइमका अनुसार अफगानिस्तानका उच्च अदालतमा २०० भन्दा बढी महिला न्यायाधीशहरु कार्यरत छन् । काबुल प्रहरीले पनि आक्रमणको पुष्टि गरेको छ ।

अफगानिस्तानको सर्वोच्च अदालतमा यसअघि सन् २०१७ को फेब्रुअरीमा पनि आक्रमण गरिएको थियो । उक्त आक्रमणबाट कम्तीमा २० जना मारिनुका साथै ४१ जना घाइते भएका थिए । हालैका महिनामा राजनीतिकर्मीहरु, पत्रकारहरु, अधिकारवादीहरु, चिकित्सक र कानुन व्यवसायी समेतका माथिल्लो पंक्तिका धेरै अफगानीहरुलाई लक्षित गरी काबुल र अन्य शहरमा दिनदहाडै सिलसिलाबद्ध आक्रमण भइरहेका छन् ।

अफगान अधिकारीहरुले ती आक्रमणहरु तालिबान समूहले गराएको आरोप लगाउँदै आएका छन् तर तालिबान समूहले जिम्मेवारी लिन अस्वीकार गर्दै आएको छ । कतिपय हत्याको जिम्मेवारी भने जिहादी इस्लामिक स्टेट समूहले लिने गरेको छ ।

यसै महिनाको शुरुमा अमेरिकी सैन्य कमान्डले अफगानिस्तानमा भइरहेका आक्रमणहरु तालिबानबाट भएको दाबी गरेको थियो । अफगानिस्तानमा तैनाथ अमेरिकी फौजका प्रवक्ता कर्णेल सोन्नी लिगेटले ट्वीट गर्दै अफगानिस्तानमा भइरहेका आक्रमणमा तालिबानको संलग्नता रहेको पाइएको र त्यसले शान्ति कायम गर्ने अफगान जनताको चाहनामाथि कुठाराघात गर्ने बताए ।

तालिबान र अफगान सरकारबीच कतारको राजधानी दोहामा शान्ति वार्ता जारी रहेकै अवस्थामा अफगानिस्तानमा हिंसात्मक घटना बढेको भन्दै सर्वत्र चिन्ता पनि व्यक्त गरिएको छ । अफगानिस्तानका गुप्तचर निकायका प्रमुख अहमद जिया सिराजले सन् २०२० मा तालिबान समूहले देशभर १८ हजारभन्दा बढी आक्रमण गरेको संसदलाई जानकारी दिएका छन् । एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७