उपत्यका केन्द्रित आन्दोलन चर्काउने प्रचण्ड–नेपाल समूहको रणनीति


५ माघ २०७७, सोमबार
nekapa prachanda madhav

काठमाडौं, ५ माघ । संसद् विघटनविरुद्ध एक महिनादेखि आन्दोलन सञ्चालन गर्दै आएको नेकपाको प्रचण्ड–नेपाल समूहले उपत्यकाकेन्द्रित आन्दोलनमा जोड दिएको छ । संसद् पुनस्र्थापनाका लागि जनदबाब सिर्जना गर्न आन्दोलन चर्काउनुपर्ने निष्कर्ष निकाल्दै प्रचण्ड–नेपाल समूहले ९ माघमा काठमाडौंमा बृहत् जनप्रदर्शन र सभा आयोजना गर्ने कार्यक्रम तय गरेको छ ।

संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै त्यसका विरुद्ध राजनीतिक, संवैधानिक र कानुनी प्रतिवादमा उत्रने घोषणा गरेको प्रचण्ड–नेपाल समूहले दबाब सिर्जनाका लागि उपत्यकाकेन्द्रित संघर्षमा जोड दिएको हो । संसद् विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतमा आइतबारदेखि नियमित सुनुवाइ सुरु भएकै वेला प्रचण्ड–नेपाल समूहले सशक्त आन्दोलनमा जोड दिएको छ । पूर्व न्यायाधीश र नागरिक समाजकै अगुवाले समेत सडकबाट ‘कोर्स करेक्सन’का लागि दबाब दिन सकिने अभिव्यक्ति दिएका छन् ।

केन्द्रीय संघर्ष समितिको पछिल्लो बैठकले ‘प्रधानमन्त्रीद्वारा चालिएको प्रतिगामी, प्रतिक्रान्तिकारी तथा असंवैधानिक कदमका विरुद्ध अग्रगमन, लोकतन्त्र तथा संविधान र जनअधिकारको रक्षाका लागि’ ९ माघमा काठमाडौंमा बृहत् विरोध प्रदर्शन गर्ने निर्णय गरेको केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले बताए । विरोध प्रदर्शनको तयारीकै सिलसिलामा ७ माघमा भृकुटीमण्डपबाट उपत्यकाव्यापी मोटरसाइकल र्‍याली आयोजना गर्ने नेपाल–प्रचण्ड समूहको तयारी छ ।

उपत्यकाका विभिन्न स्थानबाट जुलुससहित अपराह्न १२ बजे काठमाडौंको रत्नपार्कबाट एकीकृत विरोध प्रदर्शन गरिने पनि उनले जानकारी दिए । विरोध प्रदर्शनमा व्यापक जनसहभागितासहित जनअधिकार रक्षाका लागि ऐक्यबद्धता जाहेर गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, विभिन्न संघ–संगठन तथा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा संघर्ष समितिका तर्फबाट अपिल गरिएको छ ।

राजधानीमा हुने विरोध प्रदर्शनको तयारीका लागि ४, ५ र ६ मााघमा प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका, वडा र शाखा कमिटी, सम्पर्क तथा जनवर्गीय संगठनका तहगत कमिटीका बैठक आयोजना गरी तयारीमा जुट्न पार्टीपंक्तिलाई निर्देशित गरिएको जारी विज्ञप्तिमा छ । त्यस सिलसिलामा ६, ७ र ८ माघमा पर्चा वितरण, कोणसभा, माइकिङ, सांस्कृतिक प्रचार सभासहितका सिर्जनात्मक प्रचार कार्यक्रम गर्न पार्टी कमिटी र जनसंगठनहरूलाई निर्देशन गरिएको सहसंयोजक भट्टराईले जानकारी दिए ।

विद्यार्थीलाई प्रचण्डको निर्देशन : मलाई पनि लाठी खान मन छ, आन्दोलन आवेगमय हुनुपर्‍यो

पार्टीले राजधानी केन्द्रित आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलन चर्काउन युवा–विद्यार्थीलाई निर्देशन दिएका छन् । जुझारु, आवेगमय आन्दोलनको अग्रपंक्तिमा रहेर आफू पनि पुलिसको लाठी खान तयार भएको भन्दै प्रचण्डले आन्दोलनलाई आक्रामक बनाउन निर्देशन दिएका छन् ।

‘हाम्रो आन्दोलन अब अलिकति आवेगमय हुनुपर्यो, अलिकति जुझारु हुनुपर्‍यो, अलि आक्रामक हुनुप¥यो । त्यो भिजिटारिएन जस्तो हुनुभएन, अलि आक्रामक सिंह गर्जिए जस्तो हुनुपर्‍यो । त्यसबाट प्रतिक्रान्तिकारीको मुटु हल्लिनु पर्‍यो । यस्तो आन्दोलन चाहिएको छ,’ अनेरास्ववियुको उपत्यकास्तरीय भेलामा आइतबार प्रचण्डले भने, ‘मैले अहिले युवाहरूलाई पनि भनें– तपाईंहरू आक्रामक ढंगले आउन जरुरी छ । तर, त्यसो भनेर हामी बुढाहरू बुढा भएका छैनौँ, अग्रपंक्तिमा हामी नै हुन्छौँ र हिजो गिरिजाबाबु अथवा माधव, झलनाथजीले लाठी खाए जस्तो मलाई किन हो खै टाउको चिलाएको छ, लाठी खान मन छ यो पटक । लाठी हानेको हेर्न मन लागेको छ ।’

अदालत र निर्वाचन आयोगप्रति भरोसा छ, तर सेटिङ शब्द रहस्यमय

प्रचण्डले निर्वाचन आयोग र सर्वोच्च अदालतले निष्पक्ष काम गर्नेमा पूर्ण भरोसा भए पनि प्रधानमन्त्री केपी ओली र उनीनिकट व्यक्तिहरूको सेटिङ शब्दले पर्याप्त शंका जन्माएकाले विरोध गर्नुपर्ने अवस्था रहेको बताए ।

‘देशमा डरलाग्दो षड्यन्त्र भइरहेको छ, निरंकुशताको ठाउँमा पुर्याउने र देशलाई अँध्यारो सुरुङमा धकेल्ने षड्यन्त्र भइरहेको छ । सेटिङ भएको छ भनेर केपी र उनका मान्छेले भन्दै हिँडेका छन्, हुँदाहुँदा अदालतलाई पोलिटिकल डिसिजन गर्नुपर्छ भनेका छन्, निर्वाचन आयोगलाई पनि भनेका छन्, हामीले त अदालतलाई भरोसा गरेका छौँ, हामी शंका गर्न चाहँदैनौँ, तर सेटिङ शब्दभित्र के रहस्य हो भन्ने चाहिँ लागेको छ,’ प्रचण्डले भने, ‘तर, तिनको सेटिङलाई शंका गर्न त पाइयो नि ! तर, केपीका मान्छेले सेटिङ भइरहेको छ भन्नेको त शंका गर्न, विरोध गर्न त पाइयो नि !’

मलामी जाने वेला केपी ओली हाँस्दै हिँडे

संसद् विघटनका कारण देश र जनता रोइरहेका वेला प्रधानमन्त्री ओली भने कमेडियन बनेर हाँस्दै हिँडेको प्रचण्डको आरोप छ । ‘तपाईं–हामी लाखौंको संख्यामा सडकमा पोखिँदा केपी ओली गणतन्त्र आउनुहुँदैन भनेर रुँदै हुनुहुन्थ्यो । आज उहाँले हामीले यति संघर्षबाट बनाएको संविधान र गणतन्त्रमाथि निरंकुशताको बुट बजार्नुभएको छ र हाँस्दै हिँड्नु भएको छ, कमेडी देखाउँदै हिँड्नु भएको छ ।

केपी ओली मलामी जाने वेलामा हाँस्दै हिँड्नु भएको छ,’ प्रचण्डले भने, ‘यस्तो मान्छेलाई स्वाभाविक मान्छे भन्न सकिन्छ ? तपाईंले कति हसाउन सक्नुहुन्छ पीर छैन, तर देश रोएको वेला हाँसेको देख्दा आक्रोश आएको हो । देश, जनता पीडामा छन्, कोही संसद् विघटनका पक्षमा छैनन् ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७