ओलीलाई यस कारण सहज छैन मन्त्री मण्डल विस्तार


४ फाल्गुन २०७४, शुक्रबार
sapath of kp oli 13 OZmlM9Ecfs

काठमाण्डौं, ४ फागुन : आफूले नियुक्ति र शपथ लिएकै दिन विगतमा नागरिकको मन जितेका लालबाबु पण्डितसहित तीन सदस्यीय तीन सदस्यीय मन्त्रीमण्डल गठन गरेका प्रधानमन्त्री केपी ओलीले अब मन्त्री मण्डल कहिले विस्तार गर्लान् भन्ने कुरा अहिले सबैको खुलदुलीको विषय बनेको छ ।sapath of kp oli 13 OZmlM9Ecfs

ओली सरकारले चाँडै पूर्णता पाउला र देशले विकास निर्माणको काममा गति लिएर अघि बढ्ला भन्ने नागरिकको अपेक्षा भए पनि एक–दुई साता ती कुराको संकेत नदेखिने पक्का जस्तो छ । किनकी छरितो मन्त्री मण्डल बनाउने सोंचमा प्रधानमन्त्री ओली भए पनि तत्काल मन्त्रीमण्डल विस्तार नगर्ने सुरमा उनी छन् । बिहीबारै माओवादीलाई समेत समेटेर सानो आकारको मन्त्रीमण्डल गठन गर्ने योजना भए पनि अन्तिममा आएर उक्त तयारी रद्द भएको भयो ।

माओवादीसँगको पार्टी एकताको टुङ्गो नलाग्नु र एमालेभित्रकै समूहको चित्त बुझाउनुपर्ने वाध्यताका कारण पनि ओलीलाई तत्काल मन्त्रिपरिषद विस्तार गर्न त्यति सहज नभएको जानकारको अनुमान छ । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार तत्काल मन्त्रीमण्डल विस्तारको कुनै तयारी छैन । ‘प्रधानमन्त्रीको शुक्रबार दिनभर बाहिर जाने कार्यक्रम पनि छैन, पार्टीसँगको छलफल पनि तय भएको छैन, आज बधाई र शुभकामनाको मात्रै कार्यक्रम छ’ ओलीका प्रेश संयोजक चेतन अधिकारीले भने ।

आफ्नैलाई मिलाउन पनि समस्या

एमालेभित्र पनि मन्त्रीका आकांक्षी धेरै छन् । बिहीबार नै एमालेका महासचिव ईश्वर पोखरेल र प्रदीप ज्ञवालीलाई मन्त्रीमण्डलमा समावेश गर्न लागेका ओलीले अन्तिम समयमा आएर पोखरेल र ज्ञवालीको नाम हटाएर लालबाबु पण्डित र थममाया थापाको नाम राखेका थिए । बिहीबार दिनभर ओलीसँगै पोखरेल र ज्ञवाली सरकारमा जाने चर्चा भएको थियो । ओली निकटका दुवै नेता पोखरेल र ज्ञवाली सरकारमा जाने चर्चा चलेपछि पार्टीभित्रै खै भएको नेताहरु बताउँछन् । पार्टीभित्रै मन्त्रीको सूचीमा विभिन्न मत आएपछि ओलीले लालबाबु पण्डित र थममाया थापालाई शपथ खुवाएका थिए ।

माओवादी अडानको अप्ठ्यारो

नेकपा एमाले र नेकपा माओवादीबीच पार्टी एकीकरणको कुरा सुल्झी सकेको छैन । पार्टी एकीकरणका लागि दुबै दलका शीर्ष नेताहरुले ९५ प्रतिशत कुरा मिलिसकेको दावी गरे पनि एकीकृत पार्टीको सिद्धान्त र पदीय भागबण्डामा कुरा मिल्न सकेको छैन । यी विषयमा कुरा नमिलेसम्म सरकारमा सहभागी नहुने माओवादीले अडान लिएको छ ।

अब मन्त्रिपरिषद विस्तार गर्दा माअ‍ेवादीलाई नसमेट्ने हो भने अर्थ अर्कै लाग्ने भएकाले पनि ओलीले माओवादीलाई सहमतिमा ल्याएर मात्रै मन्त्रिपरिषद विस्तार गर्नुपर्ने हुन्छ । सरकारलाई सहज रुपमा अगाडि बढाउन एमाले एक्कलैसँग स्पष्ट वहुमत छैन । जसका कारण नेकपा माओवादी केन्द्रसँग मिलेर अगाडि बढ्नुको पनि कुनै विकल्प छैन । यस्तै विगतका तीन वटै चुनावमा नागरिकले एमाले–माओवादीलाई मिलेर अगाडि बढ्न र पार्टी एकीकरणको अवस्थामा पुग्न भन्दै मत दिएका कारण पनि माओवादी केन्द्रलाई छोडेर जान नमिल्ने अवस्थामा ओली नेतृत्वको सरकार छ ।

मन्त्रालयको भागबण्डा मिलाउनै बाँकी

एमाले र माओवादीबीच एकता भएको खण्डमा कसले कति मन्त्रालय लिने भन्ने पनि निर्णय भइसकेको छैन । प्रारम्भमा ६०–४० भनिए पनि त्यसमा ठोस सहमति भई नसकेकाले एमालेले कति मन्त्रालय र कुन राख्ने र माओवादीलाई कुन कुन भन्ने निर्णय गर्नुपर्ने हुन्छ ।
त्यसपछि सम्बन्धित पार्टीले मन्त्री बन्नेको नाम टुङ्गो लगाउने छन् । मन्त्रालय भागबण्डामा माओवादीले पूर्व सहमतिअनुसार ६०–४० का आधारमा मन्त्रालय बाँड्नुपर्ने भन्दै आएको छ भने एमाले ७०–३० को अडानमा छ । यस्तै पार्टी र सरकार आधा–आधा कार्यकाल गर्नुपर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयम्ले बताएका छन् । यस्तै पार्टी एकीकरण पहिला हुनुपर्ने अर्को अडानका कारण पनि एमालेलाई तत्काल मन्त्री मण्डल विस्तार गर्न सहज छैन ।

जबजको अड्कोे

जनताको बहुदलीय जनवाद (जबज) र माओवादका विषयमा आगामी महाधिवेशनसम्म छलफल गर्ने र त्यहींबाट टुङ्गो लगाउने पूर्व सहमतिबाट अन्तिममा एमालेपछि हटेपछि माओवादी यी विषय नटुङ्गिदासम्म सरकारमा जाने सम्भावना नरहेको माओवादीका शीर्ष नेताहरूले नै बताइरहेका छन् ।

एमालेको यही अडानका कारण बुधबार रातिसम्म पार्टी एकताको खाका सार्वजनिक गर्ने भनेर दिनभर एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच ‘वान टु वान’ वार्ता भए पनि अन्तिममा वार्ता निष्कर्णविहीन बन्यो । जसका कारण माओवादी सरकारमा अहिलेसम्म नजाने अवस्था सिर्जना भयो । शुक्रबार पनि नेताहरूबीच यस विषयमा छलफल गर्ने तयारी नभएको र अर्को समय समेत तय नभएकाले दुई दलका शीर्ष नेताबीचको वार्ता नै कहिले हुने भन्ने अनिश्चत छ । जसका कारण मन्त्रीमण्डल विस्तारमा थप ढिलाइ हुने निश्चित छ ।

माओवादी समेतको समर्थनमा प्रधानमन्त्री भएका ओलीलाई एक्लै निर्णय गर्न प्राविधिक अप्ठ्यारो छ । पार्टी नै एकीकरण गर्ने भनेर गृहकार्य भइरहेका बेला एकलौटी अघि बढे गठबन्धनमा थप गडबडी हुने भएकाले पनि अघि बढ्न नसक्ने ओली निकट स्रोतले बताएको छ । यद्यपि नेताहरूले अब छिटै बस्ने शीर्ष नेताको बैठकले पार्टी एकतालाई ठोस निष्कर्षमा पु¥याउने दाबी गरेका छन् । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले अबको बैठक निर्णायक बनाउने तयारी भइरहेको जानकारी दिँदै शीर्ष तहमा त्यसबारे अनौपचारिक कुराकानी भइरहेका बताइन् । एमाले नेता सुवास नेम्वाङले शुक्रबार या शनिबारसम्म बैठक बसेर निर्णयमा पुगिने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७