ओलीले संसद् मात्र होइन, संविधान र गणतन्त्रकै हत्या गरे : अध्यक्ष प्रचण्ड

माघ १६ पछि आमहड्ताल गर्ने चेतावनी


५ माघ २०७७, सोमबार
prachanda

काठमाडौं, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन मात्र नभई संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रकै हत्या गरेको बताएका छन् ।

आफू निकट अखिल नेपाल महिला संघको भेलालाई आाज (सोमबार) सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नभएको बताए । उनले भने, ‘यो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको हो । त्यसकारण आन्दोलनको विकल्प छैन । ढिलो गर्न पनि हुँदैन । जनताको अदालत सबैभन्दा माथि हुन्छ’ उनले भने ।

अध्यक्ष प्रचण्डले माघ १६ गतेपछि आफूहरु आमहड्तालमा जाने चेतावनी समेत दिएका छन् । अबका कार्यक्रम दैनिक सशक्त बन्दै जाने भन्दै उनले आगामी माघ १६ पछि प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध आमहड्तालमा जाने चेतावनी दिए । त्यसका लागि तयारीमा लाग्न पनि प्रचण्डले नेता–कार्यकर्तालाई निर्देशन दिए ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई हुर्किदै गरेको बच्चाको संज्ञा दिँदै त्यसलाई बचाउन जनअदालतको फैसला सुनाउन आवश्यक रहेको पनि बताए । उनले प्रधानमन्त्री ओलीको सोच पहिलेदेखि नै प्रतिगमनकारी रहेको उल्लेख गर्दै अहिले आएर त्यो पुष्टि पनि भएको बताए ।

प्रचण्डले ओलीले पार्टी एकताका बेला संविधान, पार्टी विधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति गरेको हस्ताक्षर पनि कीर्ते रहेको दावी गरे । ‘उहाँको सम्पूर्ण सोच प्रतिगमनकारी रहेको कुरा अहिले प्रमाणित भएको छ । पार्टीका विधिविधान नमान्ने, समावेशी समानुपातिक नचाहने ओलीले अन्ततः संविधान नै भत्काए’, प्रचण्डको आरोप थियो । प्रचण्डले जनताको बहुदलीय जनवाद छोड्ने पहिलो व्यक्ति पनि ओली नै भएको जिकिर गरे ।

ओलीले पार्टी एकता बेला सवैले हस्ताक्षर गरेको विचार र विधि विधानभन्दा बाहिर गएर नेकपा फुटाएको पनि प्रचण्डले दावी गरे । ‘ओलीले पार्टी एकताका बेलाको विचार छोडेकाले उहाँ फुटबादी हो । केन्द्रीय समितिबाट पारित राजनीतिक प्रतिवेदन नै पार्टी एकताको आधार थियो । तर उहाँले त्यो छोड्नुभयो । अव तपाईंहरु नै छुट्याउनुस् को हो फुटवादी ?’, प्रचण्डले भने ।
उनले ओलीले एकताका बेलाको विचार स्वीकार गरेको भए मात्रै पनि समस्या नआउने अवस्था रहेको सो क्रममा बताए ।

प्रचण्डले ओलीसँग सहकार्य गर्ने क्रममा आफूबाट पनि केही कमजोरी भएको स्वीकार्दै त्यसप्रति अहिले गल्ती महसुस भएको बताए । ‘उहाँको भुलभुलैया, जिद्दीलाई मान्नु मेरो पनि केही गल्ती हो’, प्रचण्डको भनाइ छ । उनले भ्रममा परेर केपी पक्षमा गएकाहरु पनि अन्ततः आफ्नै पक्षमा आउने विश्वास व्यक्त गरे । अध्यक्ष प्रचण्डले अदालत र निर्वाचन आयोगप्रति आफ्नो पूर्ण विश्वास रहेको उल्लेख गर्दै सूर्य चिन्ह र नेकपाको आधिकारिकता आफूहरुले नै पाउने ठोकुवा गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७