रेल सञ्चालनको भाखा सरेको सर्‍यै


६ माघ २०७७, मंगलवार
rail railway janakpur

धनुषा, ६ माघ । ३४ किलोमीटर खण्डको जनकपुर (कुर्था)–जयनगर रेलमार्गमा तयारी अवस्थामा रहेका रेल चलाउन समेत निरन्तर भाखा सारिएको छ । गत असोज २ गते यो खण्डमा भारतबाट ल्याइएका २ वटा रेल परीक्षणका रूपमा सञ्चालन भएयता ती रेल पार्किङ गरेर राखिएको छ ।

रेल सञ्चालन गर्ने जिम्मा पाएको सरकारी लगानीको नेपाल रेलवे कम्पनी लिमिटेडले सञ्चालनका लागि तीन पटक भाखा सारेको छ । रेल नेपाल ल्याउँदा कात्तिकसम्ममा सञ्चालन गर्ने भनेको कम्पनीले त्यसयता पुसमा र अहिले माघ महीनाको अन्तिमसम्ममा रेल चलाउने नयाँ समयसीमा तयार गरेको छ ।

नेपालमा रेल ल्याएको ४ महिनासम्म पनि सो खण्डमा सञ्चालन हुन नसकेको रेलको उद्घाटन भने दुवै देशका प्रधानमन्त्रीहरूको सहभागितामा हुने कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । प्रधानमन्त्रीहरूको उपस्थितिमा ती रेल सञ्चालनको प्रारम्भ गरिने तयारी भएकाले हाललाई निश्चित समय यकिन नभएको उनको भनाइ छ ।

रेल चलाउने तयारी अन्तिम चरणमा रहेको भन्दै उनले भने, ‘नेपाल र भारतका प्रधानमन्त्रीकै सहभागितामा रेल उद्घाटन हुने भएकाले अहिले मिति तय भइसकेको छैन । यद्यपि यही माघको अन्तिमसम्ममा रेल चलाउने तयारी कम्पनीले गरेको छ । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७