बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको भाउ


प्रकाशित मिति : January 19, 2021

काठमाडौं, ६ माघ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई–दुई रुपैयाँ बढाएको छ । सोमबार रातिबाट लागू हुने गरी मूल्य वृद्धि गरेपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय १० रुपैयाँ र डिजेल तथा मट्टीतेल समान ९३ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले पछिल्लो डेढ महिनामा इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट मूल्य अचाक्ली बढेर आएकाले यसपटक थेग्नै नसकेर मूल्य बढाउनु परेको बताए । ‘पछिल्लो डेढ महिनामा हामीले नेपाली बजारमा इन्धन मूल्य समायोजन गरेका छैनौँ ।

यो अवधिमा प्रतिलिटर पेट्रोलमा ७.६१ रुपैयाँ, डिजेलमा ६.३९ रुपैयाँ, मट्टीतेलमा ६.०४ रुपैयाँ, हवाई इन्धनमा ६.९० रुपैयाँ बढेर आइसकेको छ । खाना पकाउने एलपी ग्यासमा १९.०६ रुपैयाँ प्रतिसिलिन्डर बढेर आएको छ,’ प्रवक्ता उपाध्यायले भने, ‘यति ठूलो मूल्यवृद्धिलाई हामीले थेगेर उपभोक्तालाई मार पर्नबाट बचायौँ । यसप टक भने बाध्य भएर बढाएका छौँ ।’ मूल्य वृद्धिपछि भने इन्धन कारोबारमा आगामी १५ दिनमा ४९.८८ करोड रुपैयाँ घाटा हुने निगमले प्रक्षेपण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्