ओलीले कि आफूलाई कामचलाउ भन्नु पर्छ, कि तत्काल कुर्सी छाड्नु पर्छ : अध्यक्ष नेपाल


६ माघ २०७७, मंगलवार
madhav nepal 1 scaled

काठमाडौं, ६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयता विरोधी भएको बताएका छन् । केपी ओली प्रतिगमनका प्रतिक भएको बताउँदै उनले भने, ‘उनको एकलवाद, अहंकार, दम्भी र संवैधानिक कदमका विरुद्ध सिंगो देश आन्दोलित छ ।’

अध्यक्ष नेपालले ‘ओरिजिनल’ एमाले केपी ओली नभई आफू नै भएको बताएका छन् । प्रेस संगठनको राष्ट्रिय भेलालालाई आज (मंगलबार) सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले अहिले आफूलाई असली एमाले भनेर भ्रम छरिरहेको बताएका छन् ।

माधव नेपाल प्रचण्डको कार्यकर्ता बन्न गए भन्ने ओलीको भनाइलाई प्रतिवाद गर्दै नेपालले ‘ओरिजिनल एमाले माधव नेपाल हो, केपी ओली होइन । तर अब कोही छैन एमाले र माओवादी । सबै एक भइसकेको छ, नेकपा भइसकेको छ’, उनले भने । अध्यक्ष नेपालले प्रचण्ड र आफूबीचको सम्बन्ध ४० बर्षदेखिको विश्वासको जगमा अडिएको पनि बताए ।

उनले संसद् विघटन भइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको हैसियत के हो ? भनेर प्रश्न पनि गरेका छन् । ‘प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि उहाँको हैसियत के ? हामीले त यो संसद् विघटन मानेकै छैनौं’, अध्यक्ष नेपालले भने । उनले ओलीलाई कि कामचलाउ प्रधानमन्त्री भन्न कि कुर्सी छोड्न चेतावनी पनि दिए ।

‘कि काम चलाउ भन्नुस् कि तत्काल कुर्सी छोड्नुस्’ नेपालले भने, ‘तर उहाँ छोड्नु हुन्न । भ¥याङ बनाउनु हुन्छ । पार्टी, म र प्रचण्डलाई पनि भर्‍याङ बनाउनु भयो । केपी ओलीमा चरम व्यक्तिवाद छ । सानो कोटरीमा रमाउनु हुन्छ । यहि गुटवादी र अलोकतान्त्रिक संस्कारकाविरुद्ध आन्दोलन गरिरहेका छौँ । ओली पद छाड्न चाहँदैनन्, भ्रमको खेती गर्न खप्पिस् छन् । एक दिनमा तीन जनालाई तीन३ पद दिने ।’

उनले संघीयता र परिवर्तन संकटमा भएका बेला सही र गलत छुट्याउन सक्नुर्नेमा पनि जोड दिए । सत्यको पक्षमा उभिने नै असली नेता हो भन्दै उनले परिवर्तनको रक्षा गर्नु साझा दायित्व बनेको बताए । सुन्दर समाजको परिकल्पना साकार पार्न आनदोलन सुरु गरिएको भन्दै यसमा पत्रकारहरुको सकारात्मक भूमिका आवश्यक रहेको पनि नेपालले बताए ।

उनले अहिले ओलीका साइवर सेना सक्रिय रहेको सुनेको भन्दै तिनीहरुले केही गर्न नसक्ने बताए । ‘अरिगांलको गोला र झुसिल किराहरुले केही गर्न सक्दैनन् । सत्य र न्याय हाम्रो पक्षमा छ’, अध्यक्ष नेपालले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७