यहि पाराले चीनसँग कुनै पनि व्यापार गर्न सकिंदैन : उद्योगमन्त्री भट्ट


६ माघ २०७७, मंगलवार
Tatopani Customs 21012017082827

काठमाडौं, ६ माघ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चीनले नाकामा सामान रोकेको भन्दै चीनसँगको व्यापारमा समस्या सिर्जना भएको बताएका छन् ।

उनले छिमेकी भएर पनि नेपालसँगको व्यापारमा चीनले गैरजिम्मेवारपूर्ण व्यवहार देखाएको गुनासो गरे । नेपाल इन्टरमोडेल यातायात विकास समितिको २४औं वार्षिकोत्सवमा मन्त्री भट्टले कोभिडको समयमा चीनतर्फको नेपाली नाकामा नेपाली सामान लामो समयदेखिए रोकिएको उनले बताएका छन् । यसले चीनसँगको व्यापारमा समस्या भएको भन्दै आफूले यस विषयमा प्रधानमन्त्रीसँग समेत छलफल गरेका बताए ।

IMG 20201004 205958

‘मैले चीनसँगको व्यापार समस्याका विषयमा प्रधानमन्त्रीलाई पनि भनेको छु’ उनले थपे, ‘यस्तो पाराले चीनसँग व्यापार गर्न सकिँदैन ।’ उनले अनेक बहानामा एक वर्षदेखि सामान आयात रोक्दा जनताको जनजीवन प्रभावित भएको बताए । यसले चीनसँगको व्यापारमा पुनर्विचार गर्नुपर्ने अवस्था आएको मन्त्री भट्टको भनाइ छ । कोभिडयता नेपालको रसुवागढी तथा तातोपानी नाका अघोषित रुपमा बन्द छन् । जसले गर्दा नेपाली सयौं कन्टेनर भन्सारमा रोकिएर बसेका छन् ।

lekhraj bhatta

महाभूकम्प गएपछि करिब चार वर्ष बन्द भएर गत १५ जेठ ०७६ बाट खुलेको तातोपानी नाका अझै राम्ररी सञ्चालनमा आउन सकेको छैन । सो नाकाबाट एक पटकमा बढीमा ६ वटा मात्रै कन्टेनर आउने गरेको व्यवसायीहरूले बताएका छन् । व्यवसायीका अनुसार सो परिमाणको कन्टेनर पनि दिनहुँ आउँदैन ।

कोरोना महामारीको बहानामा चिनियाँ अधिकारीले निर्यात र मानिस आउजाउलाई पूर्ण प्रतिबन्ध लगाएका छन् । चिनियाँ नाकाबाट कन्टेनर आउने नेपाली भन्सार कार्यालयले अन्तिम समयमा मात्रै जानकारी पाउँछ ।

त्यसपछि भन्सारले नेपाली ट्रान्सपोर्ट व्यवसायीलाई जानकारी गराउँछ । हाल नाकामा सक्रिय सिल्क ट्रान्सपोर्टले चिनियाँ टेलरलाई नेपाली क्षेत्रको सुक्खा बन्दरगाहसम्म ल्याउने गरेको छ । विनासिल ४० फुट लामो चिनियाँ टेलरलाई सुक्खा बन्दरगाह लार्चासम्म ल्याउने गरिएको हो ।

सुक्खा बन्दरगाहबाट नेपाल–चीन सीमा मितेरीपुल तीन किलोमिटर टाढा छ । नाकाबाट सुक्खा बन्दरगाहसम्म चिनियाँ टेलर खुला रूपमा ल्याइन्छ । नाका पास हुँदा के–के सामग्री आयात भएको समेत कसैलाई थाहा हुँदैन । भन्सारका कर्मचारी र सिल्क ट्रान्सपोर्टका चालकबाहेक नाकामा कोही बस्दैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७