कोभिड चिकित्सकमाथि आक्रमण


७ माघ २०७७, बुधबार
teaching hospital

काठमाडौं, ७ माघ । त्रिवि शिक्षण अस्पताल, महाराजगन्जको कोभिड आइसियूमा कार्यरत एक चिकित्सकमाथि मंगलबार बिरामीका आफन्तले आक्रमण गरेका छन् । निमोनियाको उपचारका लागि बुटवलबाट आएका ६२ वर्षीय बिरामीको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले चिकित्समाथि आक्रमण गरेका हुन् ।

आवासीय चिकित्सक डा. सविन भण्डारीमाथि आफन्तले आक्रमण गरेको अस्पतालले जनाएको छ । चिकित्सकमाथि आक्रमण र असुरक्षा बढेको भन्दै अस्पतालमा कार्यरत आवासीय चिकित्सक विरोधमा उत्रिएका छन् । दोषीलाई तत्काल पक्राउ गरेर कारबाही गर्न माग गर्दै चिकित्सक विरोधमा उत्रिएको डा. सचित शर्माले बताए ।

चिकित्सकका अनुसार मृतक बिरामीलाई उपचारका लागि काठमाडौं ल्याउँदा शरीरमा अक्सिजनको मात्रा ज्यादै न्यून भइसकेको थियो । उपचारका क्रममा कोरोना पोजेटिभ देखिएपछि सोमबार मात्रै कोभिड आइसियूमा राखिएको थियो ।

चिकित्सकको विरोधपछि कुटपिटमा संलग्न ३६ वर्षीय कृष्णप्रसाद गौतमलाई प्रहरीले पक्राउ गरेको थियो । कुटपिट गर्ने युवकले माफी मागेपछि दुवै पक्षबीच सहमति भएको काठमाडौं एसएसपी अशोक सिंहले बताए । सहमतिपछि पक्राउ परेका युवकलाई पनि रिहा गरिएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७