ओलीसँग एकताका सबै सम्भावना सकिए : अध्यक्ष प्रचण्ड


७ माघ २०७७, बुधबार
Prachanda

काठमाडौं, ७ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब प्रधानमन्त्री केपी शर्मा ओलीसँग एकताको कुनै सम्भावना नरहेको बताएका छन्।

आज (बुधबार) बिहान काठमाडौंमा सम्पादकहरुसँगको अन्तरक्रियामा ओली यतिबेला आफ्नो गल्ती स्वीकार्ने पक्षमा नरहेकाले तत्काललाई उनीसँग एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका हुन् ।

‘राजनीतिक जीवन हो, ५–७ वर्षपछि के होला भन्न सकिन्न,’ अध्यक्ष प्रचण्डले थपे, ‘तर तत्काललाई उहाँसँग एकताको कुनै सम्भावना छैन ।’ अध्यक्ष प्रचण्डले आफूहरु प्रधानमन्त्रीका लागि मरिहत्ते गर्ने खालका मान्छे नभएको बताएका छन् । ‘हामी प्रधानमन्त्रीका लागि मरिहत्ते गर्ने मान्छे होइनौं,’ उनले भने,‘ यो भन्दा बढी व्याख्या म गर्न चाहन्नँ । तपाईंहरुले देखिराख्नु भएकै छ ।’

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई दुर्घटनातिर लैजान खोजेकाले आफूमा केही आवेग आएको पनि बताए । ‘संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान, शान्ति सम्झौता वा १२ बुँदे समझदारीदेखिको डेमोक्रेटिक प्रोसेसमा मुख्य भूमिका खेल्ने नेता हुनुको नाताले अहिले दुर्घटनातिर देश लैजान खोज्दा अहिले अलिकति आवेग चाहिँ आएकै छ,’ उनले भने, ‘त्यसैले आवेगमा आउँदा कहिलेकाहीं शब्द चयनमा केही त्रुटि हुने गरेको छ । ’

उनले आफूले भनेको ‘शाकाहारी’ शब्दको गलत व्याख्या पनि गरिएको बताए । ‘शाकाहारी भनेर मैले फेरि हिंसात्मक भनेको होइन’, तर, अलिकति आवेगमय त हुनै पर्‍यो भन्न खोजेको हो । मैले त्यसो भन्दै गर्दा शान्तिपूर्ण प्रतिस्पर्धात्मक प्रणालीको प्रतिबद्धता पनि सँगसँगै जोडेको थिएँ । त्यसले केही कन्फ्यूजन ल्याएको भन्ने महसुस मलाई भएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७