प्रतिनिधिसभा विघटन मुद्दा : बहसका लागि तोकियो आधा घण्टाको समय


७ माघ २०७७, बुधबार
ejalash

काठमाडौं, ७ माघ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस लम्बिने देखिएपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले अधिवक्ताहरुका लागि आधा घण्टा समय निर्धारण गरेको छ ।

सुनुवाइको चौथो दिन आज (बुधबार) देखि इजलासले समय निर्धारण गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सुनुवाइमा सहभागी हुने कानुन व्यवसायीहरूका लागि समय निर्धारण गरिएको जानकारी दिएका छन् । ‘आजदेखि समय निर्धारण गरेका छौं,’ बहसमा शुरु गर्न आएका वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले बोल्नुअघि जबराले भने ।

वरिष्ठ अधिवक्ता ज्ञवालीलाई आफ्नो बहस ३० मिनेटमा सक्न प्रधानन्यायाधीशले भनेका छन् । ज्ञवालीले भने आफूलाई एक घण्टा लाग्ने भएकाले समय दिन आग्रह गरेका थिए । न्यायाधीश अनिलकुमार सिन्हाले बहस लामो हुँदा फैसलामा ढिलाइ हुने भएकाले छोटो गर्न आग्रह गरेका थिए । यसअघि पनि इजलासले समयमा ख्याल गर्न कानुन व्यवसायीलाई आग्रह गरेको थियो । बहस गर्दागर्दै समय लामो लागेर संसद विघटन गलत भए पनि निर्वाचनमा मुलुक गइसकेकाले रोक्न परेन भन्ने अवस्था नआओस् भनेर इजलासले सचेत गराएको थियो ।

बहसहरू लामो हुन थालेपछि समय निर्धारण गर्नुपरेको हो । तीन दिनको सुनुवाइमा जम्मा १० कानुन व्यवसायीले मात्रै बहस गरेका थिए । सबै पक्षका कानुन व्यवसायी गरेर ३६३ जना रहेको इजलासले यसअघि नै जानकारी दिएको थियो ।

आइतबारदेखि प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको निरन्तर सुनुवाइ भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटनको सिफारिस गरेका थिए भने सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले विघटनको घोषणा गरेकी थिइन् । त्यसको विरुद्धमा सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७