भोला थापा काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्त


७ माघ २०७७, बुधबार
bhola thapa

काठमाडौं, ७ माघ । प्रा.डा भोला थापा काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्त भएका छन् । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले थापालाई उपकुलपतिमा नियुक्त गरेको विश्वविद्यालय स्रोतले जनाएको छ । थापा विश्वविद्यालयका पूर्व रजिस्टार हुन् ।

‘थापा सरलाई नियुक्तिका लागि पत्र तयार भइरहेको छ । त्यसका लागि उहाँ काठमाडौँ जानु भएको छ’ विश्वविद्यालय स्रोतले भन्यो । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा बनेको सिफारिस समितिले थापासहित तीन जनाको नाम सिफारित गरेको थियो । जसमा हालका उपकुलपति रामकण्ठ माकजु र बालचन्द्र लुँइटेलको नाम सिफारिस गरेका थिए ।

थापा काठमाडौँ विश्वविद्यालको तेस्रो उपकुलपति हुन् । संस्थापक उपकुलपतिमा सुरेशराज शर्मा रहेका थिए । तीन सदस्यीय सिफारिस समितिमा संस्थापक उपकुलपति शर्माको अतिरिक्त पूर्व सभामुख तथा विश्वविद्यालयका बोर्ड सदस्य दमनाथ ढुंगाना पनि थिए । माकजु दुई कार्यकाल उपकुलपति भइसकेको भन्दै प्राध्यापक तथा कर्मचारीहरुले उनलाई नदोहो¥याउन सरकारसँग माग गरेका थिए ।

नव नियुक्त उपकुलपति थापा काठमाडौं विश्वविद्यालका मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुन् । यसअघि उनी विभागका प्रमुख, डिन, रजिस्टार र कार्यवहाक उपकुलपतिको जिम्मेवारी सम्हालेका थिए ।

उनले सन् २००४ मा नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीबाट मेकानिकल इन्जिनियरिङमा विद्यावारिधि गरेका थिए । यसअघि भारतको पिलानीस्थित बिरला इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीबाट मास्टर्स र पञ्जाव इन्जिनियरिङ कलेजबाट बीई गरेका थिए । सन् १९९४ बाट उनले काठमाडौ विश्वविद्यालयमा सेवा सुरु गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७