शपथ लिंदै बाइडेनले भने, ‘यो अमेरिकाको दिन हो, लोकतन्त्रको दिन हो’


८ माघ २०७७, बिहीबार
biden2021 01 21 02 57 16

काठमाडौं, ८ माघ । डेमोक्रेट नेता जो बाइडेनले अमेरिकाको ४६ औं राष्ट्रपतिको शपथ लिएका छन् । राजधानी वासिंगट डिसीमा भएको विशेष समारोहमा बाइडेनले राष्ट्रपतिको शपथ लिएका हुन् ।

१२७ वर्ष पुरानो आफ्नो पारिवारिक बाइबलमा हात राखेर शपथ लिएका ७८ वर्षीय बाइडेन अमेरिकी इतिहासमै सबैभन्दा पाको उमेरमा राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने नेता बन्नेका छन् । कडा सुरक्षाबीच सम्पन्न शपथ समारोह, बाइडनसँग पराजित निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले भने बहिष्कार गरे ।

biden and hariss 768x511 1

ट्रम्प कार्यक्रममा सहभागी नभए पनि उपराष्ट्रपति माइक पेन्स भने सहभागी भए । ट्रम्पलाई भने शपथ समारोह हुनु केही घण्टा पहिले बिदाई गरिएको थियो । यसैगरी, कमला ह्यारिसले उपराष्ट्रपति पदको शपथ लिइन् । ह्यारिसले उपराष्ट्रपति बन्ने पहिलो महिला एवं पहिलो अश्वेत महिला बनेर इतिहास रचेकी छिन् ।

गत नोभेम्बर ३ मा सम्पन्न निकै विवादित निर्वाचनमा ऐतिहासिक मतका साथ बाइडेनले बहालवाला राष्ट्रपति ट्रम्पलाई ३०६–२३२ इलेक्टोरल कलेज मतले पराजित गरेका हुन् । इलेक्टोरल र लोकप्रिय दुबै मतबाट पराजीत ट्रम्पले भने हार अस्वीकार गर्दै आफ्ना अन्ध समर्थकहरुलाई संसद भवनमा हिंसात्मक आक्रमण गर्न उक्साएपछि ह्वाइटहाउसबाट बाहिरिँदै गर्दा निकै आलोचित बनेका छन् ।

Biden Oth

दुई हप्ताअघिको उक्त घटनामा ट्रम्पका उत्तेजित भीडले गरेको आक्रमणमा परी एक प्रहरी अधिकारीसहित पाँच जना मारिएका थिए । संसद भवनमा आक्रमण गराएपछि ट्रम्पमाथि अमेरिकी इतिहासमै दोस्रो पटक महाअभियोग लागेको छ ।

३६ वर्षसम्म डेलावरबाट सिनेटर रहेका बाइडनले बाराक ओबामा प्रशासनमा ८ वर्ष उपराष्ट्रपति बनेका थिए । सबै अमेरिकीको राष्ट्रपति बन्ने र सबैका लागि काम गर्ने तथा विभाजित देशलाई एकतावद्ध गर्ने बताउँदै आएका बाइडन तेस्रो प्रयासमा राष्ट्रपति बन्न सफल भएका हुन् ।
बाइडेन सामु कोरोना भाइरसको महामारी नियन्त्रण गर्ने, शिथिल बनेको अर्थतन्त्र उकास्ने, विश्वबाट अलग थलग भएको अमेरिकालाई फेरि विश्वको नेतृत्वमा स्थापित गर्ने जस्ता चुनौती रहेका छन् ।

आफ्नो जितलाई राष्ट्रपति जो बाइडेनले लोकतन्त्रको जितका रूपमा अथ्र्याएका छन् । ‘यो अमेरिकाको दिन हो, लोकतन्त्रको दिन हो, इतिहास र आशाको दिन हो । अमेरिकाको कैयौंपटक परीक्षा भएको छ र उसले सधैं चुनौतीको सामना गरेको छ । आज हामी एउटा उम्मेदवारको जितको खुसी मनाएका छैनौँ, बरु लोकतन्त्रका लागि खुसी मनाइरहेका छौँ,’ बाइडेनले भने ।

बाइडेनले अमेरिकाको नयाँ इतिहास लेख्ने पनि बताए । ‘हामीले धेरै गर्नुपर्नेछ । हामी सबै मिलेर अमेरिकाको इतिहासको महान् अध्याय लेख्नेछौँ । हामीले यसो गर्‍यौँ भने आउने पिँढीका राम्रो गरेको मानिनेछ । संविधानको रक्षा गर्नेछु, लोकतन्त्रको रक्षा गर्नेछु, अमेरिकाको हित गर्नेछु,’ उनले भने, ‘हामीले अमेरिकाको नयाँ इतिहास लेख्ने हो, जुन डरको होइन आशाले भरिएको हुनेछ ।’ उनले अमेरिकामा शान्तिपूर्ण सत्ता हस्तान्तरणको इतिहास रहेको भन्दै ६ जनवरीमा क्यापिटल हिलमा भएको हिंसात्मक घटनाको निन्दा गरे ।

kamala harris 768x432 1

उनले अहिले जस्तो अवस्था अमेरिकाले विश्वयुद्धकालमा समेत नदेखेको बताए । ‘हामी राम्रो मानिस हौँ । हामीले लामो यात्रा तय गर्नु छ । हामीले धेरै गर्नु छ । धेरै बनाउनु छ, धेरै हासिल गर्नु छ । अहिले जस्तो कठिन अवस्था अमेरिकाले यसअघि कहिल्यै देखेको थिएन । दोस्रो विश्वयुद्धमा पनि देखेन,’ उनले भने, ‘लाखौं नोकरी गए, कारोबार बन्द भए । चरमपन्थ, ह्वाइट सुप्रिमेसी, आतंकवाद जस्ता कुरालाई हामीले परास्त गर्नेछौँँ । अमेरिकाको भविष्य तय गर्नका लागि शब्दभन्दा अगाडि बढेर धेरै गर्नुपर्ने अवस्था छ । एकजुट रहने र एकता बनाउन जरुरी छ ।’

उनले आफूले शक्तिका बलमा होइन, उदाहरणीय रूपमा सत्ता चलाउने बताए । राष्ट्रपति बाइडेनले शपथपछिको भाषणमा घुमारो रूपमा डोनाल्ड ट्रम्पका समर्थकलाई चिच्याउन बन्द गर्न आग्रह गरे । ‘तपाईंहरू चिच्याउन बन्द गर्नुस् र तापक्रम पनि कम गर्नुस्,’ उनले भने ।

obamas 768x512 1

बाइडेनले अमेरिकाको विकासका लागि सबैको साथ र एकता चाहिने बताए । ‘एकता विना शान्ति र विकास सम्भव छैन,’ उनले भने, ‘अमेरिकाको महानताका लागि एकता आवश्यक छ,’ उनले थपे, ‘अवसर, सुरक्षा, गरिमा र सत्यको सम्मान हुनुपर्छ । सत्ता र मुनाफाका लागि झुट बोलिन्छ । नेता त्यसैले संविधानको शपथ लिन्छन्, ता कि सत्यलाई साथ दिन र झुटलाई परास्त गर्न ।’
बाइडेनले अमेरिकी इतिहासमा पहिलो उपराष्ट्रपतिसँगै शपथ लिँदा गौरवान्वित भएको बताए । ‘आज हामी अमेरिकी इतिहासमै पहिलो महिला उपराष्ट्रपतिसँगै शपथ ग्रहण गर्दछौँ,’ बाइडेनले भने । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७