कोरोना खोपको पहिलो खेप आज आउँदै, पहिलो चरणमा चार लाखलाई खोप


८ माघ २०७७, बिहीबार
Covishield Vaccine DnmdAtiA2X

काठमाडौं, ८ माघ । कोभिड महामारीविरुद्धको बहुप्रतीक्षित खोप अन्ततः नेपालमा आउँदैछ । छिमेकी भारतले अनुदानमा दिने १० लाख डोज खोप बिहीबार काठमाडौं आइपुग्दै छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार भारतले दिने खोप बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक रूपमा नेपाललाई हस्तान्तरण हुनेछ । अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप नेपाल आउन लागेको हो ।

सरकारले पहिलो चरणमा तीन प्रतिशत अर्थात् नौ लाख ११ हजार तीन सय ४२ जनालाई कोभिड– १९ विरुद्धको खोप लगाउने तयारी गरेको छ । तर, अहिले भने १० लाख डोज मात्रै आउन लागेकोले पहिलो चरणमा करिब चार लाखलाई मात्र खोप लगाउन सकिने स्वास्थ्य मन्त्रालयको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमको भनाइ छ । ‘यो खोप एक जनालाई दुई डोज लगाउनुपर्छ ।

त्यसैले सामान्यतया १० लाख डोजले पाँच लाख जनसंख्यालाई लगाउन पुग्ने हो । तर, १० देखि १५ प्रतिशत खोप प्रयोगमा आउँदैन,’ उनले भने, ‘एक भायलमा १० डोज खोप हुन्छ । हरेक भायल खोलेपछि तुरुन्तै सक्नुपर्छ । ६ घन्टापछि लगाउन मिल्दैन । त्यसबीचमा लगाएर सकिएन भने पनि त्यसलाई फाल्नुपर्छ । त्यसैले अहिले आउन लागेको खोप करिब चार लाख नागरिकलाई लगाउन सकिन्छ भन्ने अनुमान छ ।’

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बुधबार कोभिडविरुद्धको पहिलो खेप नेपाल आउन लागेको जानकारी दिएका हुन् । पहिलो चरणमा फ्रन्टलाइनका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्सचालक, जोखिममा रहेका सामाजिक अभियन्तालाई लगाइनेछ ।

तर, स्वास्थ्यकर्मीलाई तालिम दिने तथा खोप ढुवानी गर्नेलगायतका काम सकेर खोप सुरु गर्न करिब १० देखि १५ दिन लाग्ने गौतमको भनाइ छ । ‘हामी समय खेर फाल्ने पक्षमा छैनौँ । यसबीचमा स्वास्थ्यकर्मीलाई तालिम दिनुपर्छ, खोप ७७ जिल्ला पुर्‍याउनुुपर्छ, यसका लागि ढुवानी पनि व्यवस्थित बनाउनुपर्छ । यी काम फास्ट ट्रयाकबाट अगाडि बढाउनेछौँ । खोप लगाउने दिन अहिले नै तोकेर भन्न सक्ने अवस्था छैन । तर, खोप झरेको १० देखि १५ दिनभित्र लगाउन सुरु गर्छौँ,’ उनले भने ।

स्वास्थ्य मन्त्रालयले खोप भण्डारणदेखि वितरण र लगाउनेसम्मका सबै तयारी पूरा भएको जनाएको छ । खोप लगाउन करिब १५ हजार स्वास्थ्यकर्मी परिचालन हुनेछन् । विगतमा नियमित खोप लगाएका स्वास्थ्यकर्मीले सामान्य तालिम पाएपछि यो खोप लगाउन सक्ने मन्त्रालयको बुझाइ छ । उनीहरूलाई तालिम दिन पनि सुरु गरेको छ ।

संसारका विभिन्न देशले कोभिड– १९ विरुद्ध खोप धमाधम लगाउन थालेसँगै नेपालले पनि पहल थालेको हो । भारतले सोमबार सार्वजनिक घोषणा गर्दै छिमेकी तथा साझेदार मुलुकहरूलाई कोभिडविरुद्धको खोप अनुदानमा दिने जनाएको थियोे । भारतले नेपालसहित भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमार र सेसेल्सलाई खोप दिने घोषणा गरेको छ । सोही घोषणाअनुसार बिहीबार नै खोपको पहिलो खेप काठमाडौं आउँदै छ ।

नेपालले पहिलो चरणमा अनुदान तथा खरिदमार्फत ४७ लाखजनालाई पुग्ने गरी खोप उपलब्ध गराउन भारत सरकारलाई अनुरोध गरेको छ । तर, भारतले पहिलो चरणमा करिब पाँच लाखलाई पुग्ने खोप दिएको छ । भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप आउन लागेको हो ।

नेपालमा हाल प्रयोग भएका नियमित खोप पनि अधिकांश सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको हो । त्यसैले, ‘कोभिसिल्ड’ खोपलाई आपतकालीन प्रयोगका लागि नेपालको औषधि व्यवस्था विभागले पनि अनुमति दिएको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार २ देखि ८ डिग्री सेन्टिग्रेटमा भण्डारण गर्न सकिने भएकाले पहिलो प्रयास ‘कोभिसिल्ड’ खोप ल्याउने नेपालको प्राथमिकता हो ।

हाल नियमित खोपका लागि मौज्दात रहेको ५० लाख सिरिन्ज कोभिड– १९ को खोपका लागि प्रयोग गर्ने स्वास्थ्य मन्त्रालयको योजना छ । ‘सेरम इन्स्टिच्युट अफ इन्डियाले खोप मात्रै बनाउने काम गर्छ । उसले सिरिन्ज बनाउँदैन, हामीले त्यसका लागि बेग्लै व्यवस्थापन गर्नुपर्छ,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ’तर, हामीसँग करिब ५० लाख सिरिन्ज मौज्दात भएकाले तत्काल समस्या हुँदैन ।’

खोप राख्न ११ कोल्डस्टोर तयारी अवस्थामा

स्वास्थ्य मन्त्रालयको व्यवस्थापन महाशाखाका अनुसार खोप भण्डारण गर्न देशभर २८ कोल्डरुम रहेकोमा ११ वटालाई खाली गरेर कोभिड खोप मात्रै भण्डारण गर्ने गरी तयार पारिएको छ । उपत्यकामा दुई कोल्डरुममा कोभिड खोप भण्डारण गर्ने तयारी छ । स्वास्थ्य मन्त्रालयमा दुईवटा कोल्डरुममा ४२ लाख १४ हजार पाँच सय ६० डोज भ्याक्सिन अट्छ ।

विराटनगरमा एउटा कोल्डरुममा आठ लाख ६२ हजार, केन्द्रीय भ्याक्सिन स्टोर पथलैयाका तीनवटा कोल्डरुममा १४ लाख ३६ हजार सात सय, हेटौँडामा १४ लाख ३६ हजार सात सय डोज खोप अट्नेछ । प्रदेश २ मा पनि हेटौँडाबाट खोप पठाइनेछ । त्यसका लागि २८ लाख ७३ हजार पाँच सय सय डोज भ्याक्सिन अट्ने कोल्डस्टोर छ ।

पोखरामा आठ लाख ६२ हजार डोज, बुटवलमा तीन कोल्डरुममा १४ लाख ३६ हजार सात सय डोज, नेपालगन्ज र सुर्खेतका दुईवटा कोल्डरुममा २८ लाख ७३ हजार चार सय डोज, धनगढीमा आठ लाख ६२ हजार डोज कोभिड भ्याक्सिन अट्नेछ । केन्द्रमा छुट्टै्र रहेको पाँच हजार दुई सय ५० लिटर क्षमताको कोल्डरुममा काठमाडौं, ललितपुर, भक्तपुर, रसुवा, नुवाकोट, धादिङ, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र सिन्धुलीका लागि पनि खोप राख्ने तयारी छ ।

स्वास्थ्य मन्त्रालयले भ्याक्सिन विभिन्न स्टोरमा पुर्‍याउन तीन वटा भ्यान तयारी अवस्थामा राखेको छ । एउटा भ्यानले बुटवल, नेपालगन्ज र धनगढी छाड्नेछ भने अर्कोले हेटौँडा, पथलैया र विराटनगर लग्नेछ । त्यस्तै, तेस्रो भ्यानले भने पोखरा लैजानेछ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७